विमानस्थल पार्किङ शुल्क महँगो भएको गुनासोपछि अध्ययन समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको व्यापक जनगुनासो आएपछि सरकारले यसको समाधानका लागि पहल चालेको छ ।

विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले पार्किङ शुल्क अव्यवहारिक र महँगो भएको भन्दै विरोध गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा एक उच्चस्तरीय समिति गठन गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । 

उक्त समितिलाई विमानस्थलहरूको पार्किङ शुल्कको विद्यमान अवस्था विश्लेषण गरी संशोधनका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

पार्किङ शुल्कको विषयमा तत्काल सुधारको आवश्यकता महसुस गर्दै समितिलाई कार्य सुरु गरेको ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । सो प्रतिवेदन प्राप्त भएलगत्तै प्राधिकरणले नयाँ र परिमार्जित शुल्क दर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

पछिल्लो समय विमानस्थलमा छोटो समयका लागि सवारी साधन लैजाँदा पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट सर्वसाधारणले गुनासो गर्दै आएका थिए । 

Share News