काठमाडौं । सबैभन्दा बढी कमाउने कम्पनी कुन हो भनेर जिज्ञासा राख्दा अधिकांशको दिमागमा बैंकको नाम आउँछ । किनकि नेपालमा बैंकले अर्बौं कमाएका समाचार र सूचनाहरू हाम्रो दिमागमा ताजै छन् । सबैभन्दा बढी कमाउने वाणिज्य बैंकले एक आर्थिक वर्षमा ६/७ अर्ब रुपैयाँ खुद नाफा गर्छ । तर, सबैभन्दा बढी नाफा गर्ने बैंकको भन्दा दोब्बर कमाउने कम्पनी पनि नेपालमै छन् ।
बढी आम्दानी गर्नेमध्येको त्यो उद्योग हो- हुलास स्टिल उद्योग । यसले सन् २०२५ मा १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२४ को तुलनामा केही बढी हो । यस उद्योगले सन् २०२४ मा १२ अर्ब ७१ करोड २० लाख, सन् २०२३ मा १२ अर्ब ७ करोड ४० लाख, सन् २०२२ मा १५ अर्ब २५ करोड २० लाख, सन् २०२१ मा ११ अर्ब ३८ करोड ५० लाख र सन् २०२० मा ६ अर्ब ८ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो ।
सन् २०२० को तुलनामा यस उद्योगले २०२५ मा १०९ प्रतिशतले आम्दानी बढाएको तथ्यांकबाट देखिन्छ । विगतका वर्षहरूका तुलनामा उद्योगको नाफा मार्जिन घटे पनि वित्तीय अवस्था भने सुदृढ बन्दै गएको रेटिङ एजेन्सी इक्रा नेपालले जानकारी दिएको छ ।
आर्थिक सुस्ततासँगै राजस्व वृद्धिदर स्थिर भए पनि कम्पनीले आफ्नो वित्तीय सन्तुलन कायम राख्न सफल भएको इक्रा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हुलास स्टिलले ऋण घटाएर ब्याज भार कम गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।
उद्योगको नगद तथा तरल सम्पत्ति करिब १ अर्ब १० करोड रुपैयाँ बराबर रहेको छ, जसले आकस्मिक वित्तीय दबाबहरू सामना गर्न सहज बनाउँछ । हुलासले पछिल्ला वर्षहरूमा उत्पादन र बजार दुवै क्षेत्रमा विविधिकरण गर्दै आएको उल्लेख छ । उद्योगले इस्पातका पाना, पाइप र एल्युमिनियम वस्तुहरू उत्पादन गर्दै वार्षिक करिब ४ लाख ८१ हजार मेट्रिक टनको क्षमता सञ्चालनमा ल्याएको छ ।
कुल आयमा करिब ५४ प्रतिशत हिस्सा पानाबाट, १९ प्रतिशत पाइपबाट र ९ प्रतिशत एल्युमिनियम वस्तुहरूबाट आएको छ । उद्योगले करिब ६ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको बताएको छ ।
उद्योगसँग नेपाल विद्युत् प्राधिकरणसँगको विवादित विद्युत् शुल्क घटेर अघिल्लो वर्षको ४ अर्ब १ करोड रुपैयाँबाट हाल १४ करोड रुपैयाँमा सीमित भएको छ । यसले कम्पनीको जोखिम घटाएको छ भने घट्दो ब्याजदरका कारण ब्याज कभरेज अनुपात पनि सुधारिएको उल्लेख छ ।
इक्राले यस उद्योगलाई दीर्घकालीन ऋणका लागि एल त्रिबल बी प्लस र अल्पकालीन ऋणका लागि एटु प्लसको रेटिङ दिएको छ भने उद्योगले कुल ८ अर्ब ४६ करोड रुपैयाँको ऋण लिएको विज्ञप्तिमा उल्लेख छ ।
हुलास स्टिल्स इन्डस्ट्रिज लिमिटेडमा देशकै पुराना औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेशनको लगानी छ । उद्योगमा हाल चार्ली डेभलपमेन्ट कम्पनी लिमिटेडले करिब ५० प्रतिशत सेयर स्वामित्व राखेको छ । बाँकी हिस्सा गोल्छा परिवारका सदस्य र सम्बन्धित संस्थाहरूको स्वामित्वमा छ ।
उनीहरूमध्ये जयश्री गोल्छाको करिब २१ प्रतिशत, हिमांशु गोल्छा र हितेश गोल्छा दुवैको ६/६ प्रतिशत, र हुलास मेटल क्राफ्टको करिब ६ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी हिस्सा अन्य पारिवारिक र सम्बन्धित संस्थागत लगानीकर्ताहरूको छ ।
दिवाकर गोल्छा अर्गनाइजेशन नेपालकै एक प्रतिष्ठित व्यवसायीक समूह हो, जसको लगानी इस्पात, सिमेन्ट, अटोमोबाइल, र अन्य उत्पादन क्षेत्रमा फैलिएको छ । यस समूहकै अनुभव र वित्तीय हैसियतका कारण हुलास स्टिल्सले लामो समयदेखि बजारमा आफ्नो विश्वसनीयता कायम राख्न सफल भएको मानिन्छ ।