पूर्णबहादुर गाउँलेका पक्षमा सतिसालझैं उभिँदा कुलमानलाई हटाउने प्रयास विफल, खस्किदै खड्का

<p>काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काको कुलमान घिसिङलाई हटाउने रणनीति यस पटक पनि विफल भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पटक-पटक हटाउने तयारी गरेका मन्त्री खड्काको यस पटकको प्रयास पनि विफल भएको हो । उर्जामन्त्री खड्काले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणबाट हटाउनका लागि प्रस्ताव लगेका थिए । तर, [&hellip;]</p>

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काको कुलमान घिसिङलाई हटाउने रणनीति यस पटक पनि विफल भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पटक-पटक हटाउने तयारी गरेका मन्त्री खड्काको यस पटकको प्रयास पनि विफल भएको हो ।

उर्जामन्त्री खड्काले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणबाट हटाउनका लागि प्रस्ताव लगेका थिए । तर, अन्ततः त्यो निर्णयले राजनीतिक वृत्तमै ठूलो प्रभाव पर्न सक्ने आँकलन गर्दै मन्त्रिपरिषदले त्यो विषयमा प्रवेश नै नगरेको बुझिएको छ ।

उर्जामन्त्रीले जसरी पनि कुलमानलाई हटाउने रणनीति बुनेपनि सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ भने उनको योजनालाई विफल बनाउने प्रयत्नमा लागिरहेका छन् । सोमबार पनि उनको त्यो प्रयत्न कायम नै रह्यो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमानलाई हटाउनु हुँदैन भन्ने विषयमा निरन्तर आवाज उठाउँदै आएका छन् । राम्रो काम गरिरहेको व्यक्तिलाई सरकारले हटाउन लागेको भन्दै उनले असन्तुष्टि पोखिरहेका छन् ।

सोमबार मन्त्री खड्काले मन्त्रिपरिषदमा कुलमानलाई हटाउने प्रस्ताव लिएपछि राज्यमन्त्री खड्काले त्यसको विरोध गरे । उनले सोमबार विकासन्युजसँग कुरा गर्दै भनेका थिए, ‘काम गर्ने मान्छेलाई हटाउनु हुँदैन, मन्त्रीज्यू (दिपक खड्का)ले हटाउन खोज्ने प्रयासको म विरोध गर्छु, त्यसको प्रतिवादमा उत्रिन्छु, यो गलत निर्णय हुन्छ ।’

कुलमान घिसिङ र राज्यमन्त्री तामाङ गाउँले पनि हुन् । उनीहरु दुवै रामेछापका हुन् । यसअघि तामाङ मुक्तिमोर्चाले कुलमानलाई हटाए देशभर आन्दोलन चर्काउने चेतावनी दिएको थियो । त्यसपछि सरकार केही नरम बनेको थियो । राज्यमन्त्री तामाङ पनि सोही समुदायबाट प्रतिनिधित्व गर्छन् ।

राज्यमन्त्री तामाङले यो प्रशंगलाई कोट्याउँदै भने, ‘कुलमान मेरो गाउँले पनि हुन्, एउटा जनजातिको छोरा, राम्रो काम गरिरहेको छ । तर, उसैलाई हटाउन खोजिँदैछ, यो कुरा मलाई सह्य हुँदैन, काम गर्नेलाई काम गर्न दिनुपर्छ, उनले प्रश्न गर्दै भने, काम गरेन भनेर के कुलमानले मन्त्रीको घरमा भाडा माझ्नु पर्थ्याे ?’

कुलमानलाई हटाएमा आफ्नो राजनीतिक भविश्य नै ठूलो धरापमा पर्नेभन्दै खड्कालाई त्यो प्रस्तावबाट ब्याक गराउन उनले उनले नेपाली काँग्रेसका शीर्ष नेताहरुसँगआग्रह गरेकाे पनि बुझिएको छ । राज्यमन्त्री तामाङ पनि नेपाली काँग्रेसकै सांसद हुन् । मन्त्री खड्का पनि सोही पार्टीबाट प्रतिनिधित्व गर्छन् ।

सोमबार मन्त्री खड्काले सभापति शेरबहादुर देउवा र अन्य नेताहरुबाट ग्रिन सिंग्नल पाएपछि कुलमानलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेका थिए । तर, त्यसपछि विकसित घटनाक्रम र राज्यमन्त्री तामाङको सक्रियताले मन्त्री खड्काको प्रस्तावको विषयमा बैठकमा छलफल नभएको एक मन्त्रीले जानकारी दिए ।

उसो त प्रधानमन्त्री केपी शर्मा ओली पनि विगतदेखि नै कुलमानलाई हटाउन चाहन्छन् । तर, कुलमानलाई हटाएको कारण उनी आफूभन्दा पनि दिपक खड्कालाई देखाउन चाहन्छन् । स्रोतका अनुसार कुलमानलाई हटाएपछि राजनीतिक वृत्त र सर्वसाधारणले पनि ओली र नेकपा एमालेको विरोध गर्ने देखेपछि त्यसको कारण उनी दिपक खड्का र नेपाली काँग्रेस पार्टीलाई देखाउन चाहन्छन् ।

मन्त्री खड्काले पनि नेपाली काँग्रेसका नेताहरुलाई मनाएर कुलमानलाई हटाउन खाजेका थिए । सभापति देउवाले सहमति देखाए पनि महामन्त्री गगन थापाले विरोध गरेपछि यो प्रस्ताव हिजोका लागि टरेको बुझिएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले समेत यो निर्णयको ठूलो विरोध हुन सक्ने भन्दै प्रस्ताव अगाडि नबढाउन अनुरोध गरेपछि कुलमानलाई हटाउने निर्णयबाट सरकार पछि हटेको बुझिएको हो ।

सरकारलाई अहसयोग गरेको भन्दै ऊर्जा मन्त्रीले कुलमानलाई हटाउन प्रस्ताव लगेका हुन् । विशेषगरि लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइनको बक्यौताको विषयमा सरकार र प्राधिकरणबीच कुरा मिल्न सकेको छैन । सरकारले उद्योगीको पक्षमा निर्णय गरिरहेको छ भने कुलमान जसरी पनि बक्यौता उठाउने पक्षमा छन् ।

यसअघि ऊर्जामन्त्री दीपक खड्काले घिसिङसँग पटक–पटक स्पष्टिकरण साेधिसकेका छन् । उनीमाथि सरकारलाई असयोग गरेको, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फछ्र्यौट हुन बाँकी बेरुजुको अध्यावधिक विवरणलगायतका विवरण माग गर्दै स्पष्टिकरण सोधिएको थियो ।

उर्जा मन्त्री खड्काले कुलमानलाई हटाउनका लागि पटक-पटक प्रयास गर्दा पनि उनी त्यसमा सफल भने बन्न सकेका छैनन् । बरु उनले सर्वसाधारण तथा राजनीतिक रुपमै पनि विवादित बनिरहेका छन् ।

विवादित व्यवसायीको ट्याग लागेर मन्त्रीकाे यात्रा सुरु गरेका खड्काले गरेका हरेक निर्णयहरुमाथि आलोचना भइरहेको छ । यसले उनको राजनीतिक करिअरमा पनि धुमिल पार्ने काम गरिरहेको छ ।

मन्त्री खड्काले भने कुलमानले आफूमाथि राजनीति गरेको आरोप लगाउँदै आएका छन् । फागुन ६ गतेको संसदमा बोल्दै उनले कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने बताएका थिए ।

सरकारले कुलमानलाई हटाउने तयारी गरेपछि राज्यमन्त्रीले भने : मन्त्रीको घरमा भाडा माझ्नु पर्थ्याे ? प्रतिवाद गर्छु

Share News