काठमाडौं । गत साउनसम्म वाणिज्य बैंकहरूको मुद्दती खातामा ३२ खर्ब २५ अर्ब ८९ करोड २५ लाख रुपैयाँ निक्षेप रहेको छ । जुन गत वर्षको तुलनामा ९.११ प्रतिशत अर्थात् २ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप बढी हो । गत वर्षको साउनमा बैंकहरूको मुद्दती निक्षेपमा २९ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थियो ।
जसरी बैंकहरूको मुद्दतीमा निक्षेप थुप्रिएको छ । सोही अनुरुप बैंकको खर्च पनि उच्च रूपमा बढेको देखिन्छ । विगतमा बैंकहरूले बजारको माग भन्दै ब्याजदर बढाएर उच्च पुर्याए । १३ प्रतिशतसम्म बैंकको ब्याजदर पुगेपछि मुद्दती खातामा निक्षेप राख्ने बढेको देखिन्छ । बैंकहरूलाई पनि निक्षेप आवश्यकता रहेको र अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएपछि मुद्दतीमा लगानी गर्ने बढेको बैंकरहरू बताउँछन् ।
कुन बैंकको मुद्दतीमा कति निक्षेप ?
राष्ट्र बैंककाअनुसार गत साउनसम्म सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको मुद्दतीमा धेरै निक्षेप रहेको छ । ग्लोबल आइएमई बैंकको मुद्दतीमा २ खर्ब ७५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेको छ । यस्तै नबिल बैंकको मुद्दतीमा २ खर्ब ५४ अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को मु्द्दतीमा २ खर्ब ३४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
यस्तै एनआईसी एशिया बैंकको मुद्दतीमा २ खर्ब २९ अर्ब ३५ करोड रुपैयाँ, कुमारी बैंकको मुद्दतीमा २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको मुद्दतीमा १ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ, हिमालयन बैंकको मुद्दतीमा १ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको मुद्दतीमा १ खर्ब ७५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप छ ।
यस्तै प्रभु बैंकको मुद्दतीमा १ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ, कृषि विकास बैंकको मु्द्दतीमा १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको मुद्दतीमा १ खर्ब ४८ अर्ब २२ करोड रुपैयाँ, एभरेष्ट बैंकको मुद्दतीमा १ खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकको मुद्दतीमा १ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकको मुद्दतीमा १ खर्ब ३० अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
यस्तै एनएमबि बैंकको मुद्दतीमा १ खर्ब २० अर्ब ६० करोड रुपैयाँ, सानिमा बैंकको मुद्दतीमा १ खर्ब १७ अर्ब ७७ करोड रुपैयाँ, सिटिजन्स बैंकको मुद्दतीमा १ खर्ब १५ अर्ब ४३ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको मुद्दतीमा १ खर्ब २ अर्ब ६ अर्ब रुपैयाँ, माछापुच्छ«े बैंकको मुद्दतीमा ८६ अर्ब २८ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुद्दतीमा ३३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।
मुद्दतीमा कति ब्याज खर्च ?
बैंकहरूले ३ महिनादेखि एक वर्ष अवधिसम्मका लागि मुद्दतीमा निक्षेप राख्ने गरेका छन् । तर, अधिकांश बैंकको मुद्दतीमा एक वर्षभन्दा बढी अवधिमा धेरै निक्षेप रहेको देखिन्छ । किनभने एक वर्ष बढी अवधिको मुद्दतीमा ब्याज खर्च सबैभन्दा धेरै रहेको छ ।
राष्ट्र बैंककाअनुसार गत साउनमा बैंकहरूले २२ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेका छन् । जसमध्ये तीन महिना अवधिको मुद्दतीमा ९६ करोड १९ लाख रुपैयाँ, ६ महिनासम्मको मुद्दतीमा १ अर्ब ७८ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ७ अर्ब २९ करोड रुपैयाँ र एक वर्षभन्दा माथि अवधिको मुद्दतीमा १२ अर्ब २३ करोड रुपैयाँ ब्याज खर्च गरेका छन् ।
सबैभन्दा बढी निक्षेप रहेको ग्लोबल आइएमई बैंकको ब्याज खर्च पनि उच्च रहेको छ । यस बैंकले मुद्दती निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । जसमध्ये ६ महिना अवधिको मुद्दतीमा १८ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४५ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा १ अर्ब ३० करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।
यस्तै नबिल बैंकले मुद्दती ब्याजमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये एक वर्ष अवधिको मुद्दतीमा ५४ करोड रुपैयाँ, ६ महिना अवधिको मुद्दतीमा २७ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४८ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा ५० करोड रुपैयाँ ब्याज खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै एनआईसी एशिया बैंकले मुद्दतीमा १ अर्ब ६६ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । अधिकांश ब्याज खर्च एक वर्षभन्दा माथिको मुद्दतीमा रहेको तथ्याङ्क छ । यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ महिना अवधिको मुद्दतीमा १ करोड ५० लाख रुपैयाँ र एक वर्ष माथिको अवधिको मुद्दतीमा १ अर्ब ५८ करोड रुपैयाँ गरी कुल १ अर्ब ६० करोड रुपैयाँ ब्याज खर्च गरेको हो ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र प्रभु बैंकको एक वर्षभन्दा बढी अवधिमा मात्रै निक्षेप रहेको छ । कुमारी बैंकले १ अर्ब ५६ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब १८ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेका छन् ।
यस्तै हिमालयन बैंक र सानिमा बैंकको एक वर्ष अवधिको मुद्दतीमा मात्रै निक्षेप रहेको छ । किनभने हिमालयन बैंकले एक वर्ष अवधिको मुद्दतीमा १ अर्ब ३४ करोड रुपैयाँ र सानिमा बैंकले ८२ करोड ७४ लाख रुपैयाँ ब्याज खर्च गरेका छन् ।
यस्तै लक्ष्मी सनराइज बैंकले एक वर्ष अवधिको मुद्दतीमा ९२ करोड रुपैयाँ र एक वर्ष माथिको मुद्दतीमा ४१ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै प्राइम बैंकले ६ महिना अवधिको मुद्दतीमा ५३ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४१ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा १३ करोड रुपैयाँ गरी कुल १ अर्ब ९ करोड रुपैयाँ ब्याज खर्च गरेको हो ।
कृषि विकास बैंकले ९७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ९१ करोड रुपैयाँ, एनएमबि बैंकले ८९ करोड रुपैयाँ, एभरेष्ट बैंकले ८८ करोड रुपैयाँ, नेपाल बैंकले ८७ करोड रुपैयाँ, सिटिजन्स बैंकले ८३ करोड रुपैयाँ मुद्दती निक्षेपमा खर्च गरेका छन् । नेपाल एसबीआई बैंकले ७२ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले ५८ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।