काठमाडौं । सात पटक अर्थमन्त्री बनिसकेका काँग्रेस नेता डा. रामशरण महतको रेकर्ड तोड्न संघर्ष गरिरहेका विष्णु पौडेल चौथो पटक अर्थमन्त्री बनेका छन् । आज उनले अर्थमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएसँगै अर्थमन्त्रालयमा अर्थमन्त्रीको रुपमा उनको यो प्रवेश चौथो पटक हो । सम्भवतः एमालेबाट चार पटक अर्थमन्त्री बन्ने पहिलो नेता उनै पौडेल बनेका छन् ।
नेपाली काँग्रेस र नकेपा एमाले लगायत केही साना दलहरूबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मन्त्रीहरुले शपथ लिएर कार्यभार पनि सम्हालिसकेका छन् । अर्थमन्त्री पौडेल पनि राष्ट्रपति भवन शितल निवासबाट सिधैं हुइँकिएर सिंहदरबारभित्र रहेको अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका छन् ।
पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताए । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् । उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे प्रतिबद्दता छ ।
विष्णुलाई उद्योगी व्यवसायी अर्थात् निजी क्षेत्रले केही मिजासिलो पात्रको रुपमा चिन्छ । शालिन रूपमा रणनीतिक ढंगबाट नीतिगत व्यवस्था गरेर सबैलाई रिझाउन खप्पिस विष्णु पौडेलसँग सेयर लगानीकर्ता पनि सकारात्मक नै देखिन्छन् । त्यो पुष्टि उनी अर्थमन्त्री हुने खबरपछि बढेको सेयर बजारले पनि गरिसकेको छ ।
पौडेल अर्थमन्त्री हुने खबरपछि हरेक पटक सेयर बजार बढ्ने गरेकाे छ। यो संयोग हो वा उनीप्रति लगानीकर्ताको विश्वास । यो विषय कि त उनै पौडेललाई थाहा छ कि लगानीकर्तालाई नै । सेयर बजारका लागि कुनै सकारात्मक नीतिगत व्यवस्था नगरेर पनि उनको नाम सुन्ने वित्तिकै बजारले उकालोको यात्रा तय गर्छ । उद्योगी व्यवसायी पनि उत्साहित नै हुन्छन् ।
तर, यस पटक भने अर्थमन्त्री पौडेललाई सहज छैन । देशको अर्थतन्त्र एउटा दुष्चक्रमा फसेको छ । अर्थतन्त्रका सूचकहरू सकारात्मक नै देखिए पनि रियालिटीमा अर्थतन्त्र सही ट्र्याकमा छैन । महँगी बढेको बढ्यै छ । उद्योगी व्यवसायीको मनोबल कमजोर छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी हुन नसक्दा ७ सय अर्ब लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ । घरजग्गा क्षेत्रमा मन्दी छ । निर्माण क्षेत्र सुस्ताएको छ । युवा जनशक्ति धमाधम विदेश पलायन भइरहेको छ ।
यो बिग्रदो वातावरणका बीच अर्थमन्त्री पौडेललाई काम गर्न त्यति सहज छैन । तात्कालिक निर्णय र कार्यक्रममा रमाउने बानी परेका पौडेलले दीर्घकालीन नीतिगत व्यवस्था र वर्तमान सकस सहज हुने कार्यक्रम नल्याउँदासम्म वर्तमान बिग्रदो वातावरण सुधार हुन्छ भन्नु दिवास्पन हुन्छ ।
यसअघिको कमजोर गठबन्धनको सरकारको कारण मनोबल कमजाेर बनाएका उद्योगी व्यवसायीहरू दुई ठूला दल मिलेकाे खबरले पक्कै पनि उत्साहित छन् । तर, त्यो उत्साहले सार्थकता पाउन त्यति सहज छैन । उसो त प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाससिला पात्र भएकाले पनि पौडेलले ओलीबाट जुनसुकै निर्णय गराउन पनि पछि पर्दैनन् ।
तर, त्यो आँट अर्थमन्त्री पौडेलले गर्नु पर्नेछ । विगतमा कुनै प्रभावकारी काम तथा नीतिगत व्यवस्था नगरेरै भएपनि एक किसिमको सन्तुलित अर्थमन्त्रीको छवि बनाएका विष्णुको विवेकको परीक्षण भने यस पटकको कार्यकालमा हुनेछ ।
पौडेल यसअघि २०७२ साल असोजमा ओली नेतृत्वको सरकारमा पहिलो पटक अर्थमन्त्री बनेका थिए । यस्तै २०७७ मा डा. युवराज खतिवडाको अर्थमन्त्रीको रुपमा दुई वर्षको कार्यकाल सकिएपछि २०७७ असोजमा पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका थिए ।
त्यस्तै, २०७९ पुसमा प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री बनेका थिए । प्रचण्डसँग उनको त्यो दोस्रो सहयात्रा थियो । त्यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा पौडेल ऊर्जामन्त्री बनेका थिए ।
पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए । हाल पौडेल नेकपा एमालेका उपाध्यक्षको जिम्मेवारीमा छन् ।
बाटो बिराएको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनु पर्ने चुनौती अहिले उनीसामू छ । लघुवित्त र सहकारीको समस्या त्यस्तै छ । यी विभिन्न समस्याको समाधान गर्दै अगाडि बढ्नु पर्ने दबाब र चुनौती उनीमाथि छ । अर्को महत्वपूर्ण विषय भनेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र पौडेलको ट्युनिङ मिल्ने जानकारहरु बताउँछन् । त्यसले पनि अर्थतन्त्रमा एक किसिमको टेवा पुग्नेछ ।
धेरैले अर्थमन्त्रालय नेतृत्व र गभर्नर अधिकारीको ट्युनिङ नमिल्दा पनि अर्थतन्त्रमा समस्या सिर्जना हुने गरेको टिप्पणी गर्ने गरेका छन् । त्यो समस्याको समाधान पौडेल आएपछि हुने देखिन्छ । गभर्नर अधिकारीको पनि अब कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा उनी पनि केही खुकुलो नीति बनाएर बाहिरिने मुडमा देखिन्छन् । उनको त्यो मुडले पौडेललाई थोरै भएपनि सहज हुनेछ ।
पौडेलको त्यो दुई महिना
पौडेल यसअघि दुई महिना मात्रै अर्थमन्त्री बनेका थिए । २०७९ पुस ११ गते अर्थमन्त्रीका रुपमा जिम्मेवारी पाएका उनले त्यसको दुई महिनापछि अर्थात् फागुन १५ गते पदबाट राजीनामा दिएका थिए । त्यतिबेला पनि देशको अर्थतन्त्र सही दिशामा थिएन ।
यसअघि अर्थमन्त्रीका रुपमा नियुक्त हुँदा पनि सुरुमा सेयर बजार बढेको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । त्यतिबेला पनि अर्थमन्त्रालयमा उनको आगमनले अर्थतन्त्र सुधार हुने अपेक्षा थियो । तर, त्यो अपेक्षाले सार्थकता पाएन । दुई महिनाको अवधिमा उनले उद्योगी व्यवसायीका सुझाव तथा राय लिने र औपचारिक कार्यक्रममा उपस्थित हुने बाहेकको काम गर्न सकेनन् ।
उनी दुई महिनाको कार्यकाल सकेर बाहिरिँदा अर्थतन्त्र सुधार भएको दाबी गरेर बाहिरिएका थिए । आफू अर्थमन्त्री बनेपछि राजस्व वृद्धिमा विशेष पहल भएको, सेयर बजारमा सकारात्मक प्रभाव देखिएको, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय भएको, पूँजीगत खर्चमा वृद्धिका लागि विशेष पहल, वैदेशिक सहयोगका लागि थप पहल र वैदेशिक मुद्रा सञ्चितीमा विशेष ध्यान दिएको बताएका थिए । उनले आफ्नो कार्यकालमा राष्ट्र बैंक नेतृत्वसँग भने समधुर सम्बन्ध नै राखे । त्यसअघिका अर्थमन्त्री जनार्दन शर्माले बिगारेको माहोल उनको आगमनले सुधार हुन पुगेको थियो ।
यस्तै, अधिकांश व्यवसायीहरुले पौडेलले अर्थमन्त्रालय सम्हालेपछि अर्थतन्त्र सुधारको दिशामा गएको र आफुहरुको मनोबल बढेको धारणा विभिन्न सार्वजनिक कार्यक्रममा राख्दै आएका थिए । उनले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर नआत्तिन सुझाव दिइरहेका थिए । त्यसले एक किसिमको सकारात्मक सन्देश उद्योगी व्यवसायीमा प्रवाह भएको थियो । उनी अर्थमन्त्रीमा नियुक्त हुँदै गर्दा उद्योगी उद्योगी व्यवसायी ब्याजदर वृद्धिको विरुद्दमा आन्दोलनमा थिए । उनैको नेतृत्वमा त्यो आन्दोलन रोकियो ।
उनले दुई महिनाको अवधिमा खर्च कटौतीको निर्णय पनि गरे । उनले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि गरेको महत्वपूर्ण निर्णय नै चाल खर्च कटौती गर्ने थियो । उनले चालु खर्च घटाउनेसम्बन्धी मापदण्ड–२०७९ जारी गर्दै १५ प्रतिशतले खर्च घटाउने निर्णय गरेका थिए ।
उनले बोतलको पानी प्रयोग नगर्ने, अतिरिक्त भत्ता नदिने, सरकारी खर्चमा हुने वैदेशिक भ्रमण कटौती गर्ने लगायतको प्रयास पनि गरेका थिए ।