काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीका सञ्चालकलाई जेलमा थुनेर सहकारीको समस्या समाधान नहुने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले समस्यामा परेका सहकारीका सञ्चालकहरूलाई जेलमा थुनेर र सहकारीबाट ऋण लिनेलाई खुलारूपमा छोड्दा थप समस्या सिर्जना भएकाे बताएका हुन् ।
उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरेका छन् । उनले सहकारीबाट ऋण लिएर ठूल्ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य कहाँ थियो भनेर प्रश्न गरे ।
‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’
यस्तै, उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे ।
‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो अभ्यासले हामीले ठूलो समस्या भोग्नुपर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने ।