काठमाडौं । डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको दुई दिने कन्कलेभको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा दिप प्रज्वलन गरी कन्क्लेभ शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शर्माले प्रविधिको विकास गरेर मात्र कर्णालीलाई माथि उठाउन सकिने बताए ।
‘कर्णालीको भूवनोट, विकासको ढाँचालाई मध्येनजर गरेर प्रवीधिको विकास आवश्यक छ, प्रवीधिको भरपुर उपयोग गर्नु पर्छ,’ उनले भने, ‘कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलोपटक कन्क्लेभ आयोजना गरेको छ । अब प्रविधिको प्रयोग नगरेर कर्णालीलाई माथि उठाउन सक्दैनौं, डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति पनि बिचलित छैन् । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउँछु ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले २ दिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताए । कर्णाली प्रदेश सरकारले दोश्रो पञ्चवर्षिय योजना निर्माण गर्ने संघारमा डिजिटल कन्कलेभ आयोजना गर्दा नीति निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।