काठमाडौं । लामो समयदेखि सहकारी क्षेत्र ठूलो समस्यामा परेको भन्दै बहस, विमर्श तथा तथा छलफल भइरहेको बेला सहकारीकर्मी भने विभाजित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को नेतृत्वका लागि सहकारीकर्मीहरू विभाजित भएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी थालेका हुन् । बचतकर्ताको बचत फिर्ता गर्न नसकेर ठूलो समस्यामा परेका सहकारीहरूको समस्या समाधानतर्फ सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने अवस्थामा सहकारीकर्मीहरू भने नेफ्स्कूनको नेतृत्वको लागि आमुनेसामुनेरूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
आइतबार हुने नेफ्स्कूनको निर्वाचनबाट नेतृत्व हत्याउन हालसम्म दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन् । नेफ्स्कूनका वर्तमान अध्यक्ष परितोष पौड्याल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालबीच भिडन्त हुने लगभग पक्का भएको छ । दुवै जनाले औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिले उनीहरू आ-आफ्नो चुनावी सचिवालय बनाएर प्रचारप्रसारमा लागेका हुन् ।
एउटा रोचक विषयत के भने दुवै जनाले राजनीतिक दलका नेताहरूलाई कार्यक्रममा उपस्थित गराएर उम्मेदवारी घोषणा गरेका छन् । पौड्यालले नेकपा एमालेका नेताहरूलाई उपस्थित गराएर उम्मेदवारी घोषणा गरेका छन् भने ढकालले नेपाली काँग्रेसका नेताहरू बोलाएर अध्यक्षमा उम्मेदवारी घोषणा गरे ।
उसो त पौड्याल र ढकाल पनि राजनीतिक दलसँग आवद्ध छन् । पौड्याल नेकपा एमाले निकट सहकारीकर्मी हुन् भने ढकाल नेपाली काँग्रेस निकट मानिन्छन् । पौड्याल नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सदस्य पनि हुन् । उनले सोही विभागका प्रमुख तथा अन्य सदस्यहरूलाई कार्यक्रममा बोलाएर उम्मेदवारी घोषणा गरेका हुन् ।
पौड्यालले बिहीबार उम्मेदवारी घोषणा गर्दै आफ्नो कार्यकालमा धेरै काम भएको र अधुरा केही काम पूरा गर्नका लागि पुन: नेतृत्व लिन तयार भएको बताएका छन् । उनले नेकपा एमालेका नेताहरूलाई कार्यक्रममा बोलाएर उम्मेदवारी घोषणा गर्ने विषयलाई आफ्नो सफलताकारूपमा लिएका छन् ।
‘सबै सहकारी अभियानकर्मीले मलाई साथ दिएका छन्, यसले पनि मेरो अझै आवश्यकता छ भन्ने बुझ्नु पर्छ,’ उनले कार्यक्रममा भने ।
अर्का उम्मेदवार ढकाललाई नेपाली काँग्रेससहित अन्य राजनीति दलले पनि साथ दिएका छन् । उनलाई नेपाली कांग्रेससँगै नेकपा माओबादी केन्द्र र समाजबादीका सहकारी विभाग प्रमुखहरूले समर्थन गर्दै उम्मेदवार बनाएका हुन् ।
तीनै दलका सहकारी विभाग प्रमुख क्रमशः देवेन्द्रराज कँडेल, लिलामणि पोख्रेल र नवराज अर्यालले संयुक्तरूपमा गठबन्धनको म्मेदवार घोषणा गरेका हुन् ।
अध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै आफूले हाल भएको कानूनी तथा नीतिगत गाँठाहरू फुकाउने, नेफ्स्कूनलाई बलियो र समावेशी बनाउने बताएका छन् । उनले प्रदेश र जिल्लासंघहरुलाई साथमा साथ लिएर हिड्ने बताउँदै नेफ्स्कूनप्रति गुमेको विश्वास आफूले फर्काउने धारणा राखे ।
विनियम अनुसार नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति रहने व्यवस्था छ ।
कसको सम्भावना बलियो ?
यस पटक हुने नेफ्स्कूनको निर्वाचनलाई ठूलो महत्वका साथ हेरिएको छ । वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ । नेफ्स्कूनको नेतृत्व कसले गर्ला भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ । दुइटै उम्मेदवार उतिकै बलियो छन् ।
हाल अध्यक्षकोरूपमा नेतृत्व गरिरहेका पौड्यालाई नदोहोर्याउनका लागि अभियान भित्रैबाट दबाब आएपनि अन्ततः उनी नै उम्मेदवार बनेको बुझिएको छ । उनको नेतृत्वमा नेफ्स्कूनमा प्रभावकारी काम नभएको भनेर आलोचना गर्नेहरू पनि धेरै छन् ।
‘हुन त पौड्याललाई सहकारीका धेरै नेताहरूलाई साथ दिएका छन्, त्यसले पनि बाहिरीरूपमा उनको सम्भावना धेरै देखिन्छ । तर, उनको यो दोस्रो इनिङ्स भएकोले पनि उनलाई चुनौती देखिन्छ, उनको पहिलो कार्यकाल सुखद नभएकोले पनि विकल्प खोज्ने पक्षमा धेरै छन्,’ एक सहकारी अभियानकर्मीले विकासन्युजसँग भने ।
अर्का उम्मेदवार ढकाललाई पनि बलियो उम्मेदवारकारूपमा हेरिएको छ । विगत तीन महिनादेखि चुनावी प्रचारप्रसारमा रहेका ढकालले आफू अध्यक्ष बन्नका लागि राम्रो वातावरण निर्माण गरेको बुझाइ अधिकांशको छ ।
उनले वरिष्ठ उपाध्यक्ष हुँदा पनि प्रभावकारी भूमिका खेलेको हुनाले उनलाई अबको अध्यक्षकोरूपमा लिने अभियानकर्मी धेरै छन् । तर, दुवै जनाबीच प्रतिस्पर्धा भने हेर्न लायक हुनेछ ।
को-कोे बने उम्मेदवार ?
आइतबार हुने नेफ्स्कूनको निर्वाचनका लागि नेकपा एमालेले पदाधिकारीका लागि उम्मेदवार छनोट गरिसकेको छ । तर, औपचारिकरूपमा सार्वजनिक भने गरेकाे छैन । एमालेको तर्फबाट पौड्याल अध्यक्षका उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, उपाध्यक्षमा शान्ति अधिकारी, कोषाध्यक्षमा जिवसराज खड्काको नाम टुङ्गो लागेको छ ।
यस्तै, महासचिवमा केशव प्रसाद पोख्रेल, उद्धव सापकोटा र घनश्याम अधिकारी मध्ये एक जना उम्मेदवार बन्ने विषय बाहिरिएको छ ।
यस्तै, ढकालको टीमबाट भने उम्मेदवार फाइनल भइसकेको छैन । तर, राजनीतिक दलबीच भागवण्डा भने भइसकेको बुझिएको छ । औपचारिकरूपमा जानकारी भने शनिबार बिहान दिइने बताइएको छ ।
गठबन्धनबीच नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र लेखा समिति संयोजक पाउने सहमति भएको छ भने माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा समिति सदस्य पाउने विषयमा सहमति भएको छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कोषाध्यक्ष, लेखा समिति सदस्य र तीन जना सञ्चालक पाउने विषयमा टुङ्गो लागेको छ । को उम्मेदवार बन्ने विषय भने शनिबार नै सार्वजनिक हुनेछ ।