काठमाडौं । एनसेलको सेयर खरिदकर्ता सतिशलाल आचार्यको राजनीतिक दलका शिर्षस्थ नेताहरूसँग सम्बन्ध रहेको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग आचार्यको राम्रै सम्बन्ध रहेको खुलेको हो ।
यो विषयको प्रष्टता प्रधानमन्त्री प्रचण्डले नै गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आचार्यसँग आफ्नो र अन्य नेताहरूको पनि चिनजान रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद गरेका आचार्यसँग राम्रै चिनजान रहेको बताएका हुन् । तर, आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको बताए ।
उनले आफूमात्र नभई कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उहाँकाे घरमा बस्ने गरेको बताए ।
‘मेरो श्रीमति बिमारी भएको बेलामा आचार्यकै घरमा बसेको छु, शेरबहादुरजी र ओलीजी पनि उहाँको घरमा बस्नुभएको छ, हामी बीचमा कुरा पनि हुन्छ, चिनजान भएकै आधारमा कसैलाई छोडिँदैन,’ बैठकमा उनले भने ।
आचार्य नेपाली मुलका विदेशी हुन् । उनी सिंगापुरमा बस्छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले आचार्यको राम्रै राजनीतिक पहुँछ छ भन्ने पनि बुझिन्छ । यद्यपि, यस विषयमा सरकार प्रष्ट भएको र गलत गर्नेलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्री प्रचण्डको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जन्ताका विरुद्ध हुने चलखेलकाविरुद्ध अन्तिम लडाइँ लड्न तयार भएको पनि बताएका छन् ।
अहिले एनसेलको खरिदबिक्रीको विषयले सडकदेखि सदनसम्म प्राथमिकता पाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बिनाअनुमति आचार्यको कम्पनीलाई साढे ६ अर्बमा बिक्री गरेपछि यो विषयले चर्चा पाएको हो ।