
काठमाडौं । नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिद प्रकृया अगाडि बढाएको छ । निगमले कात्तिक ५ गते विश्वव्यापी ठेक्का सूचना जारी गर्दै सर्ट टेक अफ ल्यान्डिङ गर्ने ३ वटा जहाज खरिदको लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । निगमको सो ग्लोबल टेन्डर मिलेमतोमा भएको आशंका गरिएको छ ।
निगमले जहाज खरिद प्रकृयामा ग्लोबल टेन्डरको आह्वान गरेपनि निश्चित उत्पादक कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्नेगरी प्राविधिक स्पेसिफिकेसन तयार पारेको देखिएको हो । निश्चित उत्पादक कम्पनीले मात्रै ठेक्का हाल्न मिल्ने अवस्थामा मूल्य अधिक हुने हुँदा कमिसनको मिलेमतोमा काम भएको हुनसक्ने सिधा अनुमान गर्न सकिन्छ ।

प्रतिस्पर्धा भनिएपनि ट्वीन अटर खरिद गरिने
जहाज खरिद प्रकृयाको निम्ति अगाडि बढाएको सूचनासँग आवश्यक विस्तृत विवरण निगमको वेबसाइटमा हेर्न सकिन्छ । वेबसाइटमा राखिएको उक्त विवरणको सेक्सन बी को ५.८ को १ मा एयरक्राफ्टको स्पेयर पाटर्स तोकेर नै डि हेभिल्यान्ड कम्पनीको ट्वीन अटरको तोकिएको छ ।
एयरक्राफ्टमा नेपाल बायुसेवा निगमको एसटिओल (डीएचसी-६/३००) सँग समानता भएको हुनुपर्ने भनिएको छ । तोकिएको स्पेशिफेकसनअनुसार विश्वव्यापी प्रतिस्पर्धा भनिएपनि क्यानडाको डी ह्याभील्यान्ड बाहेक अन्य कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने देखिँदैन । निगमले जहाज खरिदको निम्ति सर्तको रुपमा तयार गरेको स्पेशिफिकेसनअनुसार क्यानडाको कम्पनी डी ह्याभील्यान्डबाट निर्मित ट्वीन अटर खरिद गर्ने देखिन्छ ।
डी ह्याभील्यान्डले उत्पादन गर्ने ट्वीन अटर जहाजलाई अन्तर्राष्ट्रिय बजारमा ६० लाख डलर अर्थात नेपाली मूल्य ७८ करोड सम्म पर्ने देखिन्छ । ३ वटा जहाज खरिद गर्दा २ अर्ब ३४ करोड मूल्य पर्न जान्छ । बिना प्रतिस्पर्धा जहाज खरिद गर्दा खरिदकर्ता वा खरिदकर्ताको मध्यस्थताको रुपमा रहेको पक्षलाई ठूलो कमिसन आउने अनुमान गरिएको छ ।

जहाज खरिद प्रकृयामा सहसचिव शर्माको नोट अफ डिसेन्ट
नेपाल वायु सेवा निगमले जहाज खरिद प्रकृयाको विषयमा निर्णय गर्न बसेको सञ्चालक समितिको बैठकमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सहसचिव तथा प्रवक्ता धनीराम शर्माले असहमति राखेका छन् । शर्माले वायुसेवा निगमको व्यवस्थापन पक्षमा सुधार नगरिकन जहाज खरिद गर्ने काम सही नहुने र त्यो उपलब्धिमुलक नहुने भन्दै असहमति जनाएको विकासन्युजलाई बताए ।
‘नेपाल वायुसेवा निगमको व्यवस्थापनमा पुर्नसंरचना नगरीकन जहाज किन्ने कुरा खासै फिजिबल पनि हुन्न र भाइबल पनि हुन्न’, उनले भने, ‘त्यसैले पुर्नसंरचना नगरीकन जहाज नकिनौ भन्ने हो ।’
निगमका जहाज थप्न सकारात्मक भूमिका खेलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संस्कृति तथा पर्यटन क्षेत्रको नेतृत्व गर्नसकेपनि उड्डयन क्षेत्र हाँक्ने क्षमता प्रदर्शन गर्न नसकेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । निगमको असक्षम नेतृत्वसँग मिलेर दुर्गम क्षेत्रको लागि उडान गर्न जहाज किन्न गरिएको निर्णयले निगमलाई थप आर्थिक भारमा पुर्याउने मन्त्रालयका एकजना कर्मचारीले बताएका छन् ।
निगमको दुर्गम क्षेत्रमा भइरहेको उडानले मुनाफा नदिएको भन्दै उनले निगमले जहाज खरिद गरेर सेवा गर्न खोजेको की व्यवसाय भन्दै प्रश्न गरेका छन् ?