काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने बताएका हुन् ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको उनले बताए । साथै, कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए ।
‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, दीर्घकालसम्म बलियो हुने गरी विकास हुनु पर्छ,’ उनले भने ।
जोखिम निर्वाह वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । साथै, वित्तीय क्षेत्रले एउटै क्षेत्रमा लगानी नगरिकन विविधकरण गर्नु पर्ने उनले बताए ।
‘विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिन्छ, सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको छ,’ उनले भने, ‘डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्त्वपूर्ण विषय हो, विदेशी लगानीकर्ताका लागि जलविद्युत महत्त्वपूर्ण क्षेत्र हो ।’