
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको भन्दै अझै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३९औं सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सो बताएका हुन् ।
यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखिएको उनले बताए । कोरोना भाइरस महामारी देखि नै विश्वव्यापी रुपमा समस्या देखिएको भन्दै उनले बैंकिङ व्यवसायले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताए । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको उनको भनाइ छ ।
उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको भन्दै गभर्नर अधिकारीले एशियन बैंकहरुले सो विषयमा सोच्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको गभर्नर अधिकारीले बताए । रसिया युक्रेन युद्धको कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको उनले बताए । सबैले सहकार्य गरेर समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ ।