महाधिवेशन तयारीः कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको नयाँ क्रियाशील सदस्यता वितरण अभियानका लागि देशभरका ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ । 

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिहरू असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा खटिनेछन् ।

कांग्रेसले विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सदस्यता वितरण अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लामा पुगेर सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण तथा अनुगमन गर्ने जिम्मेवारी पाएका छन् ।

विज्ञप्तिअनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौंमा कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणा, चितवनमा डा. केदारनरसिंह केसी तथा ललितपुरमा मनोजमणि आचार्यलाई प्रतिनिधि तोकिएको छ । 

यस्तै, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पनि केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न तहका नेताहरूलाई जिम्मेवारी दिइएको छ ।

कांग्रेसले आगामी महाधिवेशनको तयारीस्वरूप संगठन विस्तार, नयाँ सदस्य आकर्षण र युवाको प्रतिनिधित्व बढाउने लक्ष्यसहित सदस्यता वितरण अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ । 

पार्टीले तोकिएका प्रतिनिधिलाई सम्बन्धित जिल्लामा सक्रिय रूपमा परिचालन भई अभियान सफल बनाउन निर्देशनसमेत दिएको छ ।

Share News