चार सय बढीले छाडे बैंकको जागिर, किन बाहिरिँदैछन् धमाधम ?

<p>काठमाडौं । अधिकांशको रोजाइमा पर्ने पेसा हो बैंकिङ । बैंकमा जागिर गर्नको लागि धेरैले रातदिन तयारी गर्छन् । तर, वर्षौंदेखि त्यही बैंकिङ जब गरिरहेकाहरु भने धमाधम जागिरबाट बाहिरिँदैछन् । पछिल्लो एक/दुई वर्षको अवधिमा चार सय बढी कर्मचारीले काम छाडेका छन् । गत वर्ष मर्जरमा सामेल भएका बैंकबाट ४ सय जना कर्मचारीले बैंकको जागिर छाडेका हुन् [&hellip;]</p>

काठमाडौं । अधिकांशको रोजाइमा पर्ने पेसा हो बैंकिङ । बैंकमा जागिर गर्नको लागि धेरैले रातदिन तयारी गर्छन् । तर, वर्षौंदेखि त्यही बैंकिङ जब गरिरहेकाहरु भने धमाधम जागिरबाट बाहिरिँदैछन् । पछिल्लो एक/दुई वर्षको अवधिमा चार सय बढी कर्मचारीले काम छाडेका छन् ।

गत वर्ष मर्जरमा सामेल भएका बैंकबाट ४ सय जना कर्मचारीले बैंकको जागिर छाडेका हुन् । मर्जर प्रक्रियामा सामेल भएपछि बैंकबाट सो संख्यामा कर्मचारीले जागिर छाडेका हुन् । गत वर्ष १४ वाणिज्य बैंक मर्जरमा सामेल भएका थिए । नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंक, हिमालयन बैंकले सिभिल बैंक र प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेको थियो ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) र कुमारी बैंक, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक र सनराइज र लक्ष्मी बैंकबीच मर्जर सम्पन्न भयो । यी बैंक मर्जर तथा एक्विजिशन भएपछि झण्डै ४ सयभन्दा बढी कर्मचारीले बैंकको जागिर छाडेका छन् । कतिपय कर्मचारीहरु स्वेच्छिक अवकास सुविधा लिएर बाहिरिएका छन् भने कतिपय बैंकको दवाबका कारण पनि काम छोड्न बाध्य भएका हुन् ।

मर्जर तथा एक्विजिशन प्रक्रियामा सहभागी भएका बैंकहरुमध्ये सबैभन्दा धेरै प्रभु बैंकबाट स्वेच्छिक अवकास सुविधा (भीआरएस)लिएर बिदा भएका छन् । सेञ्चुरी बैंक गाभेको ६ महिनापछि प्रभु बैंकले ल्याएको भिआरएस सुविधामा १४८ जना कर्मचारीले जागिर छाडेका हुन् ।

प्रभु बैंककी नायव महाप्रबन्धक (डीजीएम) अनुपमा श्रेष्ठ मानन्धर र सहायक महाप्रबन्धक (एजीएम) भोला प्रसाद पाठकसहित १४८ जनाले भीआरएस सुविधा लिएको बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानले जानकारी दिए ।

डीजीएम श्रेष्ठ चौथो स्थान र एजिएम पाठक पाँचौं स्थानमा थिए । श्रेष्ठ साविक सेञ्चुरी बैंक र पाठक साविक प्रभु बैंकमा थिए । बैंकमा कर्मचारीको संख्या उच्च भएपछि भीआरएस सुविधा ल्याउनु परेको डीसीईओ न्यौपाने बताउँछन् । बैंकको भीआरएस सुविधा लिनेमा उच्च तहका १४ जना कर्मचारी रहेका छन् । न्यौपानेका अनुसार ५ वर्षभन्दा कम अवधि भएका कर्मचारीलाई २० महिनाको तलब र ५ वर्षभन्दा बढी समय भएका कर्मचारीलाई २४ महिनाको तलब सुविधा सहित बिदा गरिएको हो ।

नबिल बैंकले हालसम्म तीन पटक भिआरएस ल्याइसकेको छ । हालसम्म ल्याएको भीआरएस सुविधामा बैंकबाट १२२ जना कर्मचारी बिदा भएका छन् । साविक नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभेको एक वर्षपछि ल्याएको भीआरएस सुविधामा ५२ जना बाहिरिएका थिए । जबकी त्यसअघि बैंकले २ पटक भीआरएस सुविधा ल्याइसकेको थियो । अघिल्ला दुई पटक ल्याएको भीआरएस सुविधामा ७० जना कर्मचारी बाहिरिएका थिए । नबिल बैंकले तीन पटक ल्याएको भीआरएस सुविधमा १२२ जना कर्मचारी बाहिरिएको बैंक स्रोतले बताएको छ ।

हालै मर्जर सम्पन्न भएको लक्ष्मी सनराइज बैंकबाट झण्डै ६२ जना कर्मचारी बाहिरिएका छन् । साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ६२ जनाले स्वेच्छिक अवकास सुविधा लिएर बैंकबाट बाहिरिएका हुन् । बैंकको भीआरएसमा बाहिरिनेमा अधिकांश कर्मचारी साविक सनराइज बैंकका रहेको स्रोतले बताएको छ । बैंक स्रोतका अनुसार व्यवस्थापन तह (म्यानेजर)मा कार्यरत १४ जना, अफिसर तहमा कार्यरत ४ जना र बाँकी ४३ जना अन्य तहका कर्मचारी गरी कूल ६२ जनाले भीआरएस सुविधा लिएर बैंकबाट बाहिरिएका हुन् ।

सीईओ शर्मा एकीकृत कारोबार हुनु अघि अर्थात् साविक सनराइज बैंकबाट भीआरएस सुविधा लिएर बाहिरिएका हुन् भने अन्य कर्मचारी भने एकीकृत कारोबारपछि भिआरएस सुविधा लिएको स्रोतको भनाइ छ । लक्ष्मी सनराइज बैंकबाट नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल, प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठ, सहायक महाप्रबन्धक (एजिएम) सञ्जीवराज जोशीले भिआरएस सुविधा लिएका हुन् । साथै, अन्य कर्मचारीहरुमा जुनियर लेभल र सपोर्टेड तहका रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार भिआरएसमा बाहिरीने कर्मचारीले २४ महिनासम्मको तलब सुविधा पाएका छन् । सपोर्टेड (कन्ट्र्याक्ट) कर्मचारीलाई भने ३६ महिनासम्मको तलव सुविधा दिएको थियो ।

साविक सिभिल बैंकलाई गाभेको हिमालयन बैंकले भने हालसम्म भिआरएस सुविधा ल्याएको छैन । तर, हिमालयनसँग एकीकृत कारोबार गर्नु अघि भने सिभिल बैंकले भिआरएस सुविधा ल्याएको थियो । सो समयमा साविक सिभिल बैंकका सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका थिए । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका थिए ।

यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवद्र्धन अधिकारी बैंकबाट बाहिरिएका थिए । बाहिरिएका सीईओ र कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधासहित प्रयोग गरिरहेको सवारी साधन पनि बैंकले प्रदान गरेको थियो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)सँग मर्ज गरेको कुमारी बैंकबाट पनि ४० जना कर्मचारी भीआरएस सुविधा लिएर बाहिरिएका छन् । मर्जरअघि र मर्जरपश्चात् गरी ल्याएको भिआरएस सुविधामा बैंकबाट ४० जना कर्मचारी बाहिरिएको बैंक स्रोतले जनाएको छ । साविक एनसीसी बैंकबाट ३ जना डेपुटी सीईओसहित १३ जना वरिष्ठ कर्मचारीहरुलाई भिआरएस सुविधा दिएर बिदा गरेको थियो ।

डीसीईओ बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले अवकाश लिएका थिए । यस्तै, नायब महाप्रबन्धक विनोदकुमार शर्मा, वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद बिमली, व्यवस्थापक (म्यानेजर) युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमित श्रेष्ठले अवकाश लिएका लिएका थिए । यस्तै, डेपुटी म्यानेजर मीनराजजंग शाह, अनिल पराजुली, प्रीतमकुमार दास श्रेष्ठ र एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका थिए । त्यस्तै, मर्जरपश्चात् गत चैतमा ल्याएको भिआरएस सुविधामा २७ जना कर्मचारी बाहिरिएको बैंकका एक सञ्चालकले विकासन्युजलाई बताए ।

मर्जर भएको ६ महिनापछि ग्लोबल आइएमई बैंकले दोस्रो पटक ल्याएको भीआरएस सुविधामा २८ जना कर्मचारी बाहिरिएका छन् । बैंकले यसअघि साविक बैंक अफ काठमाण्डूसँग मर्जर गर्दा पनि भीआरएस सुविधा दिएको थियो । त्यो बेलामा पनि केही कर्मचारीले भीआरएस सुविधा लिएका थिए ।

मेगा बैंकसँग मर्ज गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले भने हालसम्म भीआरएस सुविधा ल्याएको छैन । बैंकले भीआरएस सुविधा ल्याउने कुनै योजना पनि नबनाएको बुझिएको छ । ३ हजार २ सय जना कर्मचारी रहेको यस बैंकमा कर्मचारी समायोजनमा कुनै समस्या नरहेको सञ्चालक गोपाल खनाल बताउँछन् ।

Share News