यस वर्ष उपत्यकामा २७ पार्क बनाउने विकास प्राधिकरणको तयारी

<p>काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले उपत्यकाभित्र चालु आर्थिक वर्ष २०८०/८१ मा २७ वटा पार्क बनाउने तयारी गरेको छ । उपत्यका भित्रका अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गर्ने योजना बनाएको केभीडीएले बताएको छ । केभीडीए अन्तर्गतका जिल्ला आयुक्तको कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पार्क निर्माण गर्न लागेका हुन् । तीनवटै जिल्लाका [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले उपत्यकाभित्र चालु आर्थिक वर्ष २०८०/८१ मा २७ वटा पार्क बनाउने तयारी गरेको छ । उपत्यका भित्रका अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गर्ने योजना बनाएको केभीडीएले बताएको छ ।

केभीडीए अन्तर्गतका जिल्ला आयुक्तको कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पार्क निर्माण गर्न लागेका हुन् ।

तीनवटै जिल्लाका आयुक्तका कार्यालयहरूले कात्तिक अगावै पार्क निर्माणको लागि ठेक्का सम्झौता गरिसक्ने केभीडीएका सूचना अधिकारी सौरब ढकालले बताए ।

‘अर्थ मन्त्रालयले कात्तिक मसान्तभित्र ठेक्का सम्झौता गर्न र सम्झौता नभए बजेट फ्रिज हुन्छ भनेको छ, सोहीअनुरूप पार्क निर्माणको तयारी हुन्छ’, उनले भने ।

कहाँ–कहाँ बन्दै छन् पार्क ?

काठमाडौं, भक्तपुर र ललितपुरमा निर्माण हुने छन् । ती जिल्लामा पार्क निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

केभीडीएका अनुसार बुहुवर्षे पार्कलागि पनि बजेटमा रकम राखिएको छ । यस वर्ष सबैभन्दा बढी पार्क काठमाडौं जिल्लामा बन्ने केभीडीएको बजेटमा उल्लेख छ ।

जिल्ला आयुक्त कार्यालय भक्तपुरले भक्तपुरका विभिन्न स्थानमा तीन वटा पार्क निर्माण गर्दैछ । यस वर्ष चाँगुनारायण नगरपालिका–१ स्थित रोक्का गाउँमा पार्क निर्माण हुनेछ । त्यस ठाउँको सार्वजनिक जग्गा संरक्षणका लागि हरियाली सहितको पार्क निर्माण गर्ने भनिएको छ । उक्त पार्क निर्माणको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यसैगरी, नगरकोट शान्ति डाँडामा निर्माण हुने पार्कको लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।

भक्तपुर नगरपालिका– ८ र चाँगुनारायण नगरपालिका–९ स्थित ब्रह्मायणी मन्दिर परिसरमा पार्क निर्माणका लागि ५५ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ ।

यसैगरी जिल्ला आयुक्त कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको–३२ मा २५ लाख रुपैयाँको लगानी गरेर श्रृङ्खला गल्ली कोटेश्वरमा पार्क निर्माण गर्ने भएको हो ।

त्यसैगरी, बाग्मती किनारको सहयोगी नगरमा रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माण गर्नको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाकाले विभिन्न पाँच स्थानमा पार्क निर्माण गर्ने भएको छ । ६ नम्बर वडामा अवस्थित डुमाखाल जौटार चौरमा पार्क निर्माण गर्नको लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

वडा नम्बर ७ स्थित दरबार क्षेत्र अन्तर्गत रहेको सार्वजनिक जग्गामा पार्क बनाउनको लागि केभीडीएले १० लाख रूपैयाँ बजेट रहेको जनाएको छ ।

वडा नम्बर ७ कै कार्की हाइट र अमरसिंह चोक स्थित दरबार क्षेत्र अन्तर्गतको सार्वजनिक जग्गामा पार्क बन्ने भएको छ । उक्त स्थानमा पार्क बनाउनको लागि ३० लाख रूपैयाँ बजेट छुट्टयाइएको केभीडीएले बताएको छ ।

आयुक्त कार्यालय काठमाडौंले सोही नगरको ७ र ८ नम्बर वडाको सिमानामा पर्ने गोठाटार किरियापुत्री भवन, धारासहित पार्क निर्माण गर्न लागिएको छ । जसको लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको केभिडिएले बताएको छ ।

त्यसैगरी, वडा नम्बर–२ को जालपादेविमा सामुदायिक क्रियापुत्री भवन र पार्क बनाउने योजना रहेको केभीडीएले बताएको छ । भवन र पार्क निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिको वडा नम्बर ४ मा चम्पादेवी पार्क बन्दै छ । यो बहुवर्षे आयोजना हो । जसको लागि यो वर्ष भने १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा रहेको पुच्चछर धारा पार्क निर्माण तथा खोला व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी, वडा नम्बर १३ बिध्यामन्दिर स्कुल अगाडि रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माणको लागि १५ लाख छुट्याइएको छ ।

टोखा नगरपालिका वडा नम्बर ९ को कार्यालयसँगै रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गरिने भएको छ । त्यसका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

तारकेश्वर नगरपालिकामा ४ वटा पार्क निर्माणको योजना छन् । नगरको वडा नम्बर ५ मा बिन्ध्बासिनी मन्दिर परिसर, वडा ६ को महांकाल मन्दिर परिसरमा पार्क निर्माण र वडा १ को विन्दवासिनी परिसरमा पिकनिक स्पोर्टसहित पार्क निर्माण गर्न १५/१५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

सोही नगरपालिकाकै वडा नम्बर–१ साङ्ला नयाँबस्ति रमाइलो डाँडा पार्क निर्माण लागि ३० लाख बजेट विनियोजन भएको छ ।

दक्षिणकाली नगरपालिकामा दुई वटा पार्क निर्माण गरिने भएको छ । नगरको वडा ७ मा रेटोरिकल पार्क निर्माणका लागि १० लाख रुपैयाँ र दक्षिणकाली मन्दिर परिसरमा पार्क निर्माण गर्न ४५ लाख बजेट विनियोजन भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डीकाटारको फेदीमा रहेको राधाकृष्ण मन्दिर पार्क निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन भएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ८ स्थित शालीनदि पार्क निर्माणको लागि ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै सोही नगरपालिकाको वडा ९ खर्क डाँडा पिपलमा चौतारा निर्माण र ढिकुरे पाटी परिसरमा वाल र जेष्ठ नागरिक पार्क निर्माण को लागि २५ लाख बजेट विनियोजन भएको केभिडिएले बताएको छ ।

जिल्ला आयुक्त कार्यालय ललितपुरले जिल्लाभित्र तीन वटा पार्क बनाउने भएको छ । कार्यालयले महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको ढुङ्कोट र लुभु मावि पछाडिको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गर्ने भएको छ । सो ठाउँमा पार्क निर्माण गर्नको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

ललितपुर महानगरभित्र दुई वटा पार्क निर्माण हुने भएका छन् । महानगरको वडा नम्बर २५ सैंबु भैसेपाटीमा पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै महानगरकै वडा नम्बर २५ भैसेपाटीमा फूलबारी पार्क निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

दुई पार्कको स्तारोन्नति हुने

यस वर्ष पार्क निर्माण मात्र नभई पार्क स्तारोन्नती गर्ने विषय पनि वार्षिक बजेटमा समेटिएको छ । यस वर्ष भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर एक मनोरम नगर पार्कको स्तारोन्नति गर्नको लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यसैगरी, टोखा नगरपालिकाका वडा नम्बर ६ विन्ध्यवासिनी पार्क स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

Share News