काठमाडौं । गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
संस्थानका अनुसार धनुषाका विभिन्न स्थानमा रहेका धार्मिक तथा सार्वजनिक महत्त्वका यी जग्गाहरू केही व्यक्ति तथा संस्थाहरूले अनधिकृत रूपमा कब्जा गरी संरचनासमेत निर्माण गरेर भोगचलन गरिरहेको पाइएको छ ।
यस्तो अनधिकृत कार्यले सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरेको भन्दै संस्थानले सम्बन्धित सबैलाई तुरुन्तै अतिक्रमण हटाउन आग्रह गरेको छ ।
गुठी संस्थानले सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम कानूनी कारबाही अघि बढाउने चेतावनी समेत स्पष्ट रूपमा दिएको छ ।
साथै, राजगुठी अन्तर्गतका मठ-मन्दिर, पोखरी तथा जग्गाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै संस्थानले सार्वजनिक सम्पत्तिको रक्षाका लागि स्थानीयवासी, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।
