काठमाडौं । नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३ सम्पन्न भएको छ । लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना तथा नेपाल आर्थिक पत्रकार (समाज) सँगको सहकार्यमा उक्त कार्यक्रम संचालन भएको थियो ।
सम्मेलनको उदघाटन प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले आर्थिक-सामाजिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न यस सम्मेलनले नवीनतम वित्तीय उपकरण एवं उपायहरू प्रस्तुत गर्ने बताएका थिए ।
उदघाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका अतिरिक्त स्रोत परिचालनका लागि वित्तपोषणका नयाँ उपाय र औजारहरू आवश्यक रहेको भन्दै यस्ता स्रोत विद्यमान संरचना एवं व्यवस्थाहरूमा उपलब्ध स्रोतको रिप्याकेजि मात्र नभई थप स्रोतको उपलब्धता समेत हुनुपर्ने धारणा राखे ।
यस्तै? लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त हुने श्रोतको मिश्रणले परियोजनाको वित्तीय सम्भाव्यता बढ्नुका साथै लगानीकर्ताले आकर्षक प्रतिफल समेत प्राप्त गर्न सक्ने धारणा राखेका थिए ।
त्यस्तै, प्राध्यापक डा। अच्युत वाग्लेले सार्वजनिक वित्तका आफ्नै सीमितताहरू हुने भएकाले नेपालले महत्वकांक्षी विकास लक्ष्यहरू हासिल गर्नका लागि वित्त पोषणका नयाँ औजारहरूको खोजी र उपयोगमा जोड दिएका थिए ।
सम्मेलनमा लगानीको समष्टिगत अर्थतन्त्र, लगानी सम्बन्धी कानुनी, संस्थागत र कार्यान्वयनका व्यवस्थाहरू, नेपालमा वित्त पोषणः उपकरण र दायरा तथा स्रोत परिचालन र व्यवधान निवारणसम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन भएका थिए ।
सम्मेलनको समापन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । उनले सम्मेलन नेपालको वित्त र मौद्रिक नीतिको तर्जुमाका लागि उपयोगी हुने बताएका थिए ।