तनहुँमा १२ सिँचाइ योजना निर्माण गरिँदै

<p>तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाख रुपैयाँको सम्झौता गरिएको छ । आयोजनाका लागि चालु आर्थिक वर्षमा छ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घको विशेष अनुदान र [&hellip;]</p>

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाख रुपैयाँको सम्झौता गरिएको छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा छ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार दुई ठूला आयोजनामा सङ्घ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम रहेको छ । सङ्घ सरकारबाट मादी नदी नियन्त्रणमा १७ करोड ९८ लाख रुपैयाँ र गण्डकी प्रदेशबाट दुई करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ ।

चालू आवमा क्रमशः चार करोड ५० लाख र २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई क्रमशः २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने योजना छ ।

त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा तीन करोड ८१ लाख रुपैयाँ, पहाड खोला बस्ती संरक्षण कार्यका लागि एक करोड ८५ लाख रुपैयाँ, छाब्दीफाँट सिँचाइ योजनामा ७३ लाख रुपैयाँ, सेराफाँट सिँचाइ योजनामा ६३ लाख रुपैयाँ, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा ५२ लाख रुपैयाँ र तालेफाँट सिँचाइ योजनामा ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।

त्यसैगरी अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालु आवमा १० लाख रुपैयाँका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए । उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ गतेसम्म सम्पन्न गर्ने योजना छ । रासस

Share News