काठमाडौं । नेपाल सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाबाट अनुमति पाएर पनि नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको जनाएको छ ।
सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि सञ्चालनमा आएपनि चैत मसान्तसम्म नविकरण नगरेपछि लाइसेन्स खारेज गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो ।
निर्माण व्यवसायी ऐन २०५५ को दफा ७ को उपदफा ३ बमोजिम इजाजतपत्र स्वतः खारेज गरिएको बताइएको छ ।
