काठमाडौं । ग्रिल तथा स्टील उद्योगको व्यवसाय गर्ने बुद्ध विश्वकर्मा केही दिन अघि दुवई उडे । लामो समयदेखि ग्रिल तथा स्टीलको व्यवसाय गर्दै आएका उनी पछिल्लो समय उद्योग नचलेपछि र बैंकको ऋणले सकस दिन थालेपछि नेपाल ग्रिल तथा स्टील व्यवसायी महासंघबाट ‘एक्सपेरियन्स लेटर’ लिँदै दुवई हानिए ।
उनीसँगै सोही क्षेत्रमा उद्यमीका रुपमा काम गर्ने विष्णु खतिवडा, नाजिर हुसेन, दिनेश अधिकारी, कमल देवकोटा र राजन शाक्य लगायतका उद्यमीहरु कुवेत, मलेसिया र कतार लगायतका देशमा जान बाध्य भए । उनीहरुको एउटै कारण थियो, समस्यामा परेको व्यवसाय र बैंकको ब्याज । व्यवसाय नचलेपछि बैंकको ब्याज तिर्न र घर चलाउन उनीहरु विदेश जान बाध्य भए ।
पछिल्लो समय उद्योग व्यवसायमा आएको मन्दीले एकपछि अर्को व्यवसायी तथा उद्यमीहरु विदेश पलायन भइरहेका छन् । ठूला व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा ऋण प्रदान गरेपनि साना उद्यमीहरुले ऋण नपाउने र पाए पनि चर्को ब्याज हुँदा आफुहरुलाई समस्या सिर्जना भएको उनीहरुको गुनासो छ ।
बैंकको व्याज भुक्तानी, कर्मचारी व्यवस्थापन तथा घरभाडा तिर्न नसकेर साना व्यवसायीहरु अहिले धमाधम पलायन हुन थालेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल अधिकांश ग्रिल व्यवसायी व्यवसायबाट पलायन हुन थालेको बताउँछन् ।
‘हाल सञ्चालन भएका साना ग्रिल उद्योगहरु धेरै बन्द भइसके, जेनचेन सञ्चालन भएका उद्योग समेत समस्यामा छन्,’ उनले गुनासो गर्दै भने, ‘बजारमा वस्तुको माग छैन, व्यवसाय नचलेपछि व्यवसायीहरु पलायन हुन बाध्य भएका छन् ।’
उनले अधिकांश व्यवसायीहरु महासंघमा आएर अनुभव पत्र लिएर जाने गरेको बताए । अनुभव पत्र लिएर उनीहरु विदेश जान थालेका हुन् । ‘मैले ग्रिल उद्योग सञ्चालन गरेको ३५ वर्ष भयो, कोरोना कालमा यो भन्दा केही सहज थियो, मानिससँग पैसा थियो, बाहिर निस्कन मात्र गाह्रो भएको थियो, अहिले निकै अप्ठ्यारो अवस्थामा म आफै छु’ उनले दुखेसो गर्दै भने ।
यस्तै, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले पनि ३० प्रतिशत साना उद्यमीहरु समस्यामा परेर यो क्षेत्रबाट पलायन भइसकेको बताए । उनका अनसार ती उद्यमीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण पनि तिर्न सकेका छैनन् ।
‘अहिले ३० प्रतिशत बढी साना उद्यमीहरु यो क्षेत्रबाट पलायन भइसकेका छन्, कतिपय विदेश गए, कतिपय टे«डिङ्गमा लागे, कतिपय उद्यमीहरु उद्यम नै छोडेर घरमा बसेका छन्, उद्योग चलाउनका लागि बैंकबाट लिएको ऋणको ब्याज र किस्ता पनि तिर्न सकेका छैनन्, उनीहरु ऋण तिर्नकै लागि विदेश गइरहेका छन्,’ सिंहले विकासन्युजसँग भने ।
उनका अनुसार अहिले कतिपयले आफुसँग भएको सम्पत्ति र जग्गा बेचेर बैंकको ऋण तिरिरहेका छन् भने कतिपय मिटरब्याजीबाट पनि ऋण लिएर बैंकको ब्याज तिर्न बाध्य भएका छन् । धेरै उद्यमीहरु कालोसूचीमा नपरोस् भन्नका लागि पनि मिटरब्याजीबाट ऋण लिएर बैंकको किस्ता तिरिरहेको उनको भनाइ छ ।
सकसमा पर्न सक्छन् बैंक
अहिले बैंकको उच्च ब्याजदर भएको भन्दै उद्योगी व्यवसायीहरु बैंकविरोधी नारा लगाइरहेका छन् । उनीहरुले ऋण र ऋणको किस्ता तथा ब्याज पनि नतिर्ने अडान राख्दै आएका छन् । लामो समयदेखि तरलताको अभाव खेपिरेका बैंकहरुले विजनेस बढाउन सकेका छैनन् । यही समयमा उद्योगी व्यवसायीहरुले ऋण नतिर्दा झन बैंकहरु समस्यामा पर्ने देखिन्छ ।
बैंकरहरुका अनसार अहिले विशेष गरेर निर्माण, स्टील तथा सिमेन्ट क्षेत्रबाट सावाँ ब्याज भुक्तानी भइरहेको छैन । यिनै क्षेत्र बढी समस्यामा छन् । यसमा पनि अहिले पछिल्लो समय बढी समस्यामा परेको भनेको साना तथा मझौला उद्योग क्षेत्र हो । यो क्षेत्रका उद्यमीहरु अहिले बैंकको ऋण नै नतिरेर धमाधम व्यवसायबाट पलायन हुँदा बैंकहरु समस्यामा पर्ने देखिन्छ भने बैंकको खराब कर्जा बढ्ने निश्चित भएको छ ।
उसो त अहिले बैंकको खराब कर्जा औसत ३ प्रतिशत पुगिसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म खराबकर्जाको अनुपात ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान बैंकर्सको छ । त्यो भनेको अहिलेको कुल कर्जाको सवा २ खर्ब रुपैयाँ हो ।
अहिले साना उद्यमीहरु व्यवसायबाट नै पलायन हुँदा त्यसको प्रत्यक्ष असर बैंकमा पर्ने देखिएको छ । बैंकहरुले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कुल १ खर्ब २१ अर्ब ७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन वाणिज्य बैंकहरुको कुल कर्जाको २.८३ प्रतिशत हो । हालसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
एमएसएमई क्षेत्रमा सबैभन्दा बढी लगानी राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । यो बैंकले ३४ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले २७ अर्ब १५ करोड ९० लाख, लक्ष्मी बैंकले १२ अर्ब ३८ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक ७ अर्ब ३ करोड, नबिलले ६ अर्ब ९९ करोड २० लाख, कुमारी बैंकले ५ अर्ब ९७ करोड ३० लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ एमएसएमई क्षेत्रमा कर्जा लगानी गरेका छन् ।
यस्तै, एभरेष्ट बैंकले २ अर्ब २५ करोड ४० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ७३ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७२ करोड ३० लाख, माछापुच्छ्रे बैंकले १३ करोड ८० लाख, सिद्धार्थ बैंकले ४ करोड ९० लाख र सिटिजन्स बैंकले ४ करोड ९० लाख रुपैयाँ कर्जा साना तथा मझौला उद्यममा प्रवाह गरेका छन् ।
७ वटा वाणिज्य बैंकले भने साना तथा मझौला उद्यमीमा लगानी गरेको देखिँदैन । लगानी नगर्ने बैंकहरुमा हिमालयन, एनआइसी एसिया, कृषि विकास, सनराइज, एनएमबि, प्रभु र सानिमा बैंक रहेको बुझिएको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारीले अहिले सबै क्षेत्रबाट कम नै पेमेन्ट हुने गरेको भएपनि एमएसएमई क्षेत्रबाट भने न्यून रुपमा असुल भइरहेको बताए । उनका अनुसार निर्माण, सिमेन्ट, स्टील लगायतका क्षेत्रबाट पनि सावाँ ब्याज असुल हुन सकेको छैन ।
‘पछिल्लो समय अधिकांश बैंकहरुले एमएसएमई क्षेत्रमा लगानी बढाएका छन्, सरकारले पनि स्टार्टअप तथा साना उद्यमीहरुलाई लगानी बढाउनु पर्छ भन्ने नीति अगाडि सारेपछि त्यसमा बैंकहरुले लगानी बढाए, तर अहिले असुल हुन सकस नै छ, ठूला व्यवसायीभन्दा साना व्यवसायी समस्यामा परेको हामीले महसुस गरेका छौं, त्यसैले पनि पैसा उठिरहेको छैन,’ सीईओ अधिकारीले विकासन्युजसँग भने ।