काठमाडौं । नेपाल विश्वको न्यून आय हुने विकसिल देशहरू मध्ये एक हो । विश्व बैंकले प्रतिव्यक्ति प्रतिदिन क्रयक्षमता अमेरिकी डलर ३.२ लाई गरिबीको रेखामा परिभाषित गरेको छ । नेपालमा यो सीमाभन्दा कम क्रयक्षमता रहेको गरिब जनसङ्ख्या करिब १५.८ प्रतिशत रहेको अनुमान गरिएको छ । यसले गर्दा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्कट (प्राकृतिक प्रकोप, महामारी, द्वन्द्व, आदि)मा आइपर्ने समस्याहरूप्रति नेपालको अनुकूलन क्षमता कमजोर रहेको छ ।
नेपालको समग्र खाद्य सुरक्षाको स्थितिलाई मुख्य गरी गरिबीले प्रभाव पारेको छ भने खाद्यान्न बालीको न्यून उत्पादकत्व, उत्पादनका साधनहरू उन्नत बीउ, मल, उपकरण, आदिको आपूर्तिको समस्या, रोजगारको अवसरहरू सिर्जना हुन नसक्नु, राष्ट्रिय नीतिहरू प्रभावकारी नहुनु र सुशासनलगायतका समस्याहरूले राष्ट्रिय खाद्य उत्पादन तथा वितरण प्रणालीमा असर गरेको सर्वविदितै छ ।
नेपालको पन्ध्रौँ योजनाअनुसार नेपालमा २१ प्रतिशत जनसङ्ख्याले अझै पनि पर्याप्त खाना खान पाएको अवस्था छैन भने खाद्य आवश्यकताको आधारभूत सुरक्षा स्थितिमा रहेका घरपरिवार केवल ४८.२ प्रतिशत मात्र रहेको छ । विश्व बैंक विकास सूचक (२०२०) अनुसार सन् २०२० सम्म नेपालको जनसङ्ख्याको १३.६ प्रतिशत गम्भीर खाद्य असुरक्षाको स्थितिमा रहेको छ । पोषणका हिसाबले नेपालको लागि प्रतिदिन प्रतिव्यक्ति न्यूनतम आवश्यक औसत शक्ति २ हजार २ सय ५० किलो क्यालोरी निर्धारण गरिएको छ ।
यद्यपि, खाद्य सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार औसत २ हजार ६ सय किलो क्यालोरी प्रतिव्यक्ति प्रतिदिन आवश्यक हुन्छ । तसर्थ, खाद्य सुरक्षाका दृष्टिले नेपालको हालको खाद्यवस्तुको उत्पादन तथा आपूर्तिको परिमाणले दैनिक २ हजार ६ सय किलो क्यालोरीे शक्ति प्राप्ति हुने अवस्था निकै टाढा रहेको छ । विश्व भोकमरी प्रतिवेदन २०२१ अनुसार भोकमरी इन्डेक्समा नेपाल खाद्य सुरक्षा स्थितिमा १९.१ स्कोरसहित ७६औँ स्थानमा रहेको छ ।
उक्त प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम देखिन्छ । सन् २००० देखि २०२१ सम्मको २० वर्षमा भोकमरी इन्डेक्स १८.३ ले कमी आएको छ भने प्रतिशत अङ्कमा, ४८ प्रतिशतले ह्रास भएर खाद्य सुरक्षाको अवस्थामा केही सुधार भएको देखिन्छ ।
विश्व पोषण प्रतिवेदन २०१६ बमोजिम कुपोषणका कारणले एसिया र अफ्रिकाका गरिब देशहरूको कूल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशतसम्म नोक्सानी हुने देखाएको छ । उक्त प्रतिवेदन अनुसार पोषणमा गरिएको लगानीबाट १६ गुणासम्म प्रतिफल प्राप्ति हुने अनुमान गरिएको छ । यस सन्दर्भमा, यस खण्डमा नेपालमा खाद्य सुरक्षाको अवस्थाको वारेमा सङ्क्षिप्त रूपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपालमा कुपोषणको अवस्था
नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार, पाँच वर्ष मुनिका बालबालिकाहरू मध्ये ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशत बालबालिकामा न्यून तौल, ९.७ प्रतिशत बालबालिकामा ख्याउटेपना र १.२ प्रतिशत बालबालिकामा अधिक तौल अर्थात् मोटोपना रहेको पाइएको छ । नेपाल राष्ट्रिय सुक्ष्म पोषकतत्व सर्वेक्षण २०१६ को प्रतिवेदनअनुसार, ५३ प्रतिशत बालबालिकाहरूको मृत्युको अप्रत्यक्ष कारण कुपोषण रहेको उल्लेख गरिएको छ ।
यसको अतिरिक्त प्रजनन् उमेरका महिलाहरू मध्ये अधिक तौल वा मोटोपना भएका महिलाहरू २२ प्रतिशत र दीर्घ रूपमा शक्तिको कमी भएका महिलाहरूको सङ्ख्या १७ प्रतिशत रहेको थियो। विश्व भोकमरी प्रतिवेदन २०२१ अनुसार नेपालको सन् २०२१ मा कुपोषणमा रहेको जनसङ्ख्या ३१ प्रतिशत, ख्याउटेपना तथा कुपोषित भएका पाँच वर्ष मुनिका बालबालिकाहरूको सङ्ख्या घटेर क्रमशः १२ प्रतिशत र ४.८ प्रतिशत झरेको छ भने बालबालिकाको मृत्युदर ३.१ प्रतिशत रहेको छ ।
नेपालमा सन् २००० देखि २०२१ सम्मको कुपोषणको प्रवृत्ति देखाइएको छ । उल्लिखित चित्रअनुसार कुपोषणका विभिन्न सूचकहरू मध्ये ख्याउटेपना/दुब्लोपना बाहेक अन्य सूचकहरूमा सुधार आएको छ ।

खाद्यवस्तुको आपुर्ति
खाद्य तथा पोषण सुरक्षाका दृष्टिले नेपालमा आवश्यक प्रतिव्यक्ति न्यूनतम २ हजार २ सय ५० किलो क्यालोरी शक्तिको ७० प्रतिशत हिस्सा वनस्पतिजन्य पदार्थ र बाँकी ३० प्रतिशत पशपुन्छीजन्य पदार्थबाट आपूर्ति हुनुपर्दछ । तर, के.सी.र देवकोटा (२०७७) ले उल्लेख गरेअनुसार नेपालमा प्रतिदिन प्रतिव्यक्ति आवश्यक किलो क्यालोरीको ८७.३% अर्थात् १ हजार ९ सय ६४ किलो क्यालोरी खाद्यान्न र वनस्पतिजन्य पदार्थबाट र बाँकी १२.७ प्रतिशत अर्थात् २ सय ८६ किलो क्यालोरी दुध, दही, पनीर, माछा, मासु, अण्डा आदिजस्ता पशुपन्छी तथा मत्स्यजन्य पदार्थबाट आपूर्ति हुने गरेको छ । यसले नेपालमा पशुजन्य खाद्यवस्तुको उपभोग कमी भएको तथ्य उजागर गरेको छ ।
विश्व बैंकको प्रतिवेदनअनुसार सुक्ष्म पोषकतत्व र भिटामिन डी को कमीले मात्र नेपालमा कूल गार्हस्थ्य उत्पादनको २ देखि ३ प्रतिशत अर्थात् २ सय ५० देखि ३ सय ७५ मिलियन अमेरिकी डलर बराबरको नोक्सान भएको अनुमान गरिएको छ । नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागको वार्षिक घरधुरी सर्वेक्षण (२०१६/०१७) ले प्रतिव्यक्ति प्रतिवर्ष चामल करिब १ सय १८ के.जी., मकै १७.६ के.जी., गहुँ २१.० के.जी, कोदो ३.५ के.जी., र फापर ०.१ के.जी. र जौ ०.१ के.जी. गरी जम्मा १ सय ६० के.जी. उपभोग हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
यस सन्दर्भमा, नेपालमा उत्पादन हुने चामलले हाम्रो मागको ३ लाख ५७ हजार मे.ट. धान्न सकिरहेको छैन (के.सी.र देवकोटा, २०७७) । अर्कोतर्फ सबै खाले अन्न उपभोग भएको खण्डमा मात्र नेपालमा उत्पादन हुने खाद्यान्नले अन्नबालीबाट आपूर्ति हुने शक्ति पूरा हुने स्थिति देखिन्छ तथापि अनाजको उल्लेख्य परिमाण छिनछर्ति तथा भण्डारणमा हुने नोक्सानी र दाना तथा अन्य प्रयोजनमा समेत उपभोग हुने भएकाले खाद्यान्नको आपूर्ति आवश्यकताअनुसार पूरा नभएको देखिन्छ । तसर्थ, हालैका वर्षहरूमा खाद्यान्न को आयात तीब्र गतिमा बढिरहेको छ । तरकारी, आलु तथा कन्दमुलको प्रतिव्यक्ति प्रतिदिन आवश्यकताअनुसार आपूर्तिले पुग्ने देखिन्छ भने दाल, फलफूल, अण्डा तथा दुध र दुधजन्य पदार्थको आपूर्ति आवश्यकताअनुसार नपुग्ने देखिन्छ ।
सन् २०२० को तुलनामा खाद्यान्नको कमी सन् २०३५ मा अझ बढी हुने आकलन गरिएको छ । शर्मा एण्ड पुडासैनी (२०२०)का अनुसार, खाद्यान्न बालीमा अझ ३१.२ प्रतिशत, तरकारीमा ६५.६ प्रतिशत, दाल १६२.८ प्रतिशत, तेल वीउ २६.४ प्रतिशत र फलफूल ५९.४ प्रतिशत कमी हुने प्रक्षेपण गरिएको छ ।
खाद्यान्न उपलब्धताको अनुमान
आर्थिक वर्ष २०७८/७९ को खाद्यान्न तथा पशुजन्य खाद्य वस्तुको उपलब्धताको अवस्थालाई अनुमान गर्न खाद्यान्न, फलफूल तथा तरकारी, माछामासु तथा दुग्ध पदार्थ आदिसम्बन्धी तथ्याङ्क कृषि तथा पशुपन्छी मन्त्रालयले प्रकाशन गरेको स्टाटिस्टीकल इन्फर्मेशन अन् नेप्लिज एग्रीकल्चर २०७७/०७८ बाट लिइएको हो । खाद्य वस्तुको उपलब्धताको अवस्थालाई अनुमान गर्नुपूर्व बीउको लागि चाहिने अनाज, छिन्छर्ती तथा नोक्सानी, दाना तथा घरायसी रूपमा अन्य प्रयोजनको लागि प्रयोग हुने खाद्यान्न घटाएर तोकिएको प्रशोधन दर अर्थात् निचोर दरलाई समेत आधार लिइएको छ ।
उपलब्ध तथ्याङ्कको आधारमा नेपालमा करिब ८ लाख ६० हजार टन खाद्यान्न्न प्रतिवर्ष अपूग हुने अनुमान गरिएको छ । यसैगरी, दाल करिब ६ लाख २० हजार टन, तरकारी ४ लाख टन, फलफूल ५ लाख ८१ हजार टन, दुध १३ लाख ७० हजार लिटर र २ हजार ६ सय १४ लाख गोटा अण्डा कम हुने अनुमान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार, आलुको उत्पादनले पुग्ने देखिए पनि भन्सार विभागको तथ्याङ्कअनुसार आ.व. २०७८/७९ मा ६.८३ अर्बको २ लाख ७४ हजार किलो आलु भारत (९४ प्रतिशत) तथा बङ्गलादेश (६ प्रतिशत) बाट आयात भएको छ । नेपालबाट औपचारिक रूपमा ताजा आलुको निर्यात भएको छैन भने फ्रोजन आलु रू २५ हजार बराबरको २ सय ५ केजी मात्र निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यसर्थ, नेपालको आलु उत्पादन तथ्याङ्कसँग तालमेल देखिँदैन ।
स्रोत : नीति अनुसन्धान प्रतिष्ठान