राष्ट्र बैंकले वर्षमा एक कर्मचारीबाट कमाउँछ १० करोड बढी, संख्या घटाएर नाफा बढाइँदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो । राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई सही ट्रयाकमा राख्ने काम गरिरहेको हुन्छ भने अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छ । बैंक तथा वित्तीय संस्थाको नियामक राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई स्वचालित गर्नका लागि काम गर्दै आइरहेको छ । सरकारको आर्थिक सल्लाहकार समेत रहेको स्वायत्त निकाय नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो । राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई सही ट्रयाकमा राख्ने काम गरिरहेको हुन्छ भने अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

बैंक तथा वित्तीय संस्थाको नियामक राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई स्वचालित गर्नका लागि काम गर्दै आइरहेको छ । सरकारको आर्थिक सल्लाहकार समेत रहेको स्वायत्त निकाय नेपाल राष्ट्र बैंक आफ्नै आम्दानीमा वार्षिक कार्यक्रमहरु पनि गर्छ ।

सरकार सञ्चालन गर्ने नेतृत्वले पनि आर्थिक सुशासन र आर्थिक वृद्धिदर कायम गर्नका लागि राष्ट्र बैंकमा पहिलो नजर लगाउँछ । राष्ट्र बैंकले वित्तीय प्रणालीलाई चुस्त बनाउनुका साथै वर्षेनी अर्बौं नाफा गर्ने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा राम्रो सेवा सुविधा भएकै कारण अधिकांश मानिसको रोजाइ बैंकिङ क्षेत्र पर्छ । बैंकिङ क्षेत्रमा पनि नेपाल राष्ट्र बैंकमा काम गर्न चाहने धेरैको सपना नै हुन्छ ।

हाल नेपाल राष्ट्र बैंकमा १ हजार बढी कर्मचारीहरु कार्यरत छन् । अर्बौं नाफा आर्जन गर्ने राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरुले ठूलो मेहेनत पनि गरेको देखिन्छ । राष्ट्र बैंकले दिने विभिन्न सेवा सुविधाकै कारण पनि धेरैको रोजाइ राष्ट्र बैंक पर्छ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेल कर्मचारीको क्षमता अनुसार काम गर्ने वातावरण रहेको हुँदा रोजगारीका लागि आकर्षणको केन्द्र बिन्दु राष्ट्र बैंक रहेको बताउँछन् । राष्ट्र बैंकले व्यक्तिको क्षमता अनुसारको कामको भारी बोकाउने गरेको उनको भनाइ छ । राष्ट्र बैंकको भन्दा अन्य क्षेत्रमा सेवा सुविधा राम्रो नभएकाले जोकोही पनि राष्ट्र बैंकमा रोजगारी गर्न रुचाउने गरेको उनले बताए ।

‘राष्ट्र बैंकको काम गर्ने तौरतरिका सिस्टममा हुन्छ, पेमेन्टमा विज्ञ व्यक्ति पेमेन्ट विभाग, सुपर भाइजरमा एक्सपर्ट सुपरभिजनमा, अनुसन्धानमा विज्ञ व्यक्ति अनुसन्धान विभागमा कार्यरत हुन्छन्, राष्ट्र बैंकमा क्षमता र कामको हिसावले मान्छेलाई व्यवस्थापन गरिन्छ, कामको ढंग अनुसार कर्मचारी व्यवस्थापन गरिने भएकाले रोजगारीका लागि आकर्षणको केन्द्र विन्दु राष्ट्र बैंक बनेको छ,’ उनले भने ।

एक कर्मचारीको कमाइ १० करोडसम्म

अन्य क्षेत्रको तुलनामा नेपाल राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरुको उत्पादकत्व बढी देखिन्छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारी र संस्थाले गर्ने नाफालाई हिसाब गर्दा राष्ट्र बैंकको नाफामा एक कर्मचारीले वर्षको साढे १० करोड रुपैयाँसम्म योगदान गरेको देखिन्छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीले एक वर्षको अवधिमा संस्थाका लागि १० करोड ३४ लाख ९६ हजार रुपैयाँसम्म नाफा कमाएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा राष्ट्र बैंकले १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख २४ हजार रुपैयाँआम्दानी गरेको थियो । उक्त वर्ष बैंकमा १ हजार ४३ जना कर्मचारी कार्यरत थिए । बैंकमा कार्यरत कर्मचारीहरुले उक्त वर्ष औषतमा प्रतिकर्मचारी १० करोड ३४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

तर, आर्थिक वर्ष २०७३/७४ मा भने राष्ट्र बैंकको नाफा ७ अर्ब ९१ करोड ७२ लाख ६२ हजार रुपैयाँ नोक्सानीमा थियो । उक्त वर्ष बाहेक अन्य वर्ष भने प्रतिकर्मचारी औषत आम्दानी ३ करोड ६० लाख ७१ हजार रुपैयाँ रहेकोदेखिन्छ ।

आर्थिक वर्ष २०६९/७० मा प्रतिकर्मचारी औषत आम्दानी १ करोड ६६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा प्रतिकर्मचारी औषत आम्दानी ९९ लाख ३४ हजार रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा प्रतिकर्मचारी औषत आम्दानी ९० लाख ८० हजार रुपैयँ र आर्थिक वर्ष २०७२/७३ मा प्रतिकर्मचारी औषत आम्दानी ३ करोड ७ लाख २३ हजार रुपैयाँ रहेको देखिन्छ ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा प्रतिकर्मचारी औषत आम्दानी ७ करोड ३३ लाख ७५ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा प्रतिकर्मचारी औषत आम्दानी ३ करोड १४ लाख ८ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा प्रतिकर्मचारी औषत आम्दानी २ करोड ८७ लाख २३ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा प्रतिकर्मचारी औषत आम्दानी ५ करोड ७२ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

बैंकको नाफा अस्थीर

राष्ट्र बैंकले आर्जन गर्ने नाफा भने अस्थीर देखिन्छ । कुनै वर्ष १ खर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ भने कुनै वर्ष नोक्सानीमा छ । तर, १० वर्षको अवधिमा राष्ट्र बैंकले १६७ प्रतिशत नाफा वृद्धि गरेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७८/७९ सम्मको तथ्याङ्क अनुसार १६७ प्रतिशत नाफा बढाएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६९/७० मा २३ अर्ब १७ करोड २७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा १३ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा १२ अर्ब ६ करोड ७३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा ३७ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, आर्थिक वर्ष २०७३/७४ मा भने ७ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ६९ अर्ब ७८ करोड ३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब १६ करोड २५ लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब ४७करोड ५३ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कर्मचारी संख्या घटाइँदै

राष्ट्र बैंकले प्रत्येक वर्ष कर्मचारीको संख्या घटाउँदै लगेको देखिन्छ । आर्थिक वर्ष २०६९/७० मा राष्ट्र बैंकमा १ हजार ३८८ जना कर्मचारी कार्यरत थिए । तर, १० वर्ष पछि अर्थात् आर्थिक वर्ष २०७८/७९ सम्म १ हजा ८२ जना मात्रै कर्मचारी कार्यरत रहेका छन् ।

राष्ट्र बैंकले १० वर्षको अवधिमा २२ प्रतिशत अर्थात् ३०६ जना कर्मचारी घटाएको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १० वर्षमा १९८ जना प्रशासनतर्फ र १०८ जना प्राविधिक तर्फ कर्मचारी संख्या घटाएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०६९/७० मा १ हजार ३८८ जना, आर्थिक वर्ष २०७०/७१ मा१ हजार ३८६ जना, आर्थिक वर्ष २०७१/७२ मा१ हजार ३२९जना र आर्थिक वर्ष २०७२/७३ मा१ हजार २२९ जना कर्मचारी कार्यरत थिए ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा१ हजार १२५ जना,आर्थिक वर्ष २०७४/७५ मा ९५१ जना, आर्थिक वर्ष २०७५/७६ मा १ हजार २४ जना, आर्थिक वर्ष २०७६/७७ मा १ हजार ४३ जना, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ६१ जना र आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८२ जना कर्मचारी कार्यरत रहेका थिए ।

राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल राष्ट्र बैंक अन्य क्षेत्रको भन्दा उत्कृष्ट ठाउँ भएकाले कर्मचारी पनि सबै सन्तुष्ट रहेको बताउँछन् । उनका अनुसार राष्ट्र बैंक भन्दा राम्रो अवसर भएको क्षेत्र अन्य क्षेत्रमा खासै देखिँदैन । राष्ट्र बैंकमा काम गर्ने कर्मचारीको सामाजिक प्रतिष्ठा पनि उच्च हुने गरेको उनले बताए ।

‘राष्ट्र बैंकमा जस्तो सेवा सुविधा अन्य क्षेत्रमा छैन, योभन्दा राम्रो अवसर पाएपछि मात्रै छाड्ने हुन्, पछिल्लो समय अन्य क्षेत्रमा पनि त्यति धेरै राम्रो काम गर्ने संस्था छैन,’ उनले भने, ‘राष्ट्र बैंकमा काम गर्ने सन्तुष्ट हुन्छन् ।’

पूर्व गभर्नर तिलक रावल पनि राष्ट्र बैंक रोजगारी गर्नेका लागि पहिलो केन्द्र बन्ने गरेको बताउँछन् । राष्ट्र बैंक विगतदेखि नै रोजगारीको आकर्षणको थलो रहेको उनले बताए । राष्ट्र बैंकका काम गर्ने कर्मचारी अन्य क्षेत्रतिर पलायन हुने अवस्था न्यून हुने उनको भनाइ छ ।

‘राष्ट्र बैंक पहिलादेखि नै रोजगारीका लागि आकर्षणको केन्द्रबिन्दु थियो, अहिले यो झनै बढेको छ, रोजगारी खोज्ने व्यक्तिहरुले अवसर पाउनका लागि तल्लो तहमा रहेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दै लैजानु पर्छ,’ उनले भने, ‘राष्ट्र बैंकमा काम गरेका व्यक्तिहरु जागिर छाडेर निजी बैंकमा आउन चाँहदैनन्, एकाध व्यक्तिहरु उच्च तहमा पुगेपछि आएको हुन सक्छन् तर, अन्तर बैंकको जस्तो हुँदैन ।’

कर्मचारीका लागि खर्च कति हुन्छ ?

करोडमा नाफा कमाउने राष्ट्र बैंकका कर्मचारीले लाखमा खर्च गर्ने गरेका छन् । विगत वर्षको अवधिमा राष्ट्र बैंकका एक कर्मचारीको खर्च ३० लाख रुपैयाँ बराबर मात्रै रहेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब २९ करोड ८५ लाख रुपैयाँ खर्च भएकोमा प्रतिकर्मचारी औषत खर्च ३४ लाख ६८ हजार रुपैयाँ मात्रै रहेको छ । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा प्रतिकर्मचारी औषत खर्च २६ लाख ४ हजार रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा २८ लाख ८५ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा २५ लाख ६० हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ३१ लाख २६ हजार रुपैयाँ प्रतिकर्मचारी औषत खर्च रहेको छ ।

Share News