काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेको दुई महिना चार दिनमा पदमुक्त भएका छन् । पुस ११ गते अर्थमन्त्रीका रुपमा जिम्मेवारी पाएका उनले आज (फागुन १५ गते) पदबाट राजीनामा दिएका हुन् ।
आज नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । सोमबार बसेको नेकपा एमाले पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् ।
पौडेल अर्थमन्त्री बनपछि धेरैले अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरेका थिए । तर, अर्थतन्त्र पूर्णरुपमा सुधारनै नभए पनि सुधारका केही संकेत भने देखिएको थियो, यही समयमा उनी मन्त्रालयबाट बाहिरिएका हुन् । उनी मन्त्री हुँदाका सेयर बजारले एक किसिमको उछाल लिएको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन ।
उनले अर्थतन्त्र सुधारका लागि भने महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको सचिवालयले जनाएको छ । उनी नियुक्त हुँदा अघि बिग्रिएको देशको अर्थतन्त्र सुधारको दिशामा लिनको लागि उनले महत्वपूर्ण भूमिका खेलेको अर्थतन्त्रका केही सूचकहरुले पनि देखाउँछ ।
पछिल्लो समय व्यापार घाटा कम हुँदै गएको छ, रेमिट्यान्स बढ्दै गएको छ भने विदेशी मुद्राको सञ्चितीमा पनि सुधार हुँदै गएको छ । उनी मन्त्री बनेपछि राष्ट्र मन्त्रालयसँग पनि एक किसिमको ट्युनिङ मिलेको देखिएको थियो ।
अर्थमन्त्रीको प्रेस संयोजक भुवक केसीले अर्थमन्त्री पौडेलको नेतृत्वमा नै बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउन विशेष प्राथमिकता, अर्थतन्त्रमा नीतिगत सुधार, समक्ष कर्मचारीको टीम फर्मेसन, अनावश्यक क्षेत्रमा खर्च कटौती, सरकार र निजी क्षेत्रबीच समन्वय, निजी क्षेत्रको आत्मविश्वास वृद्धि र रेमिट्यान्स क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए ।
उनका अनुसार पौडेल मन्त्री बनेपछि राजस्व वृद्धिमा विशेष पहल भएको, सेयर बजारमा सकारात्मक प्रभाव देखिएको, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय भएको, पूँजीगत खर्चमा वृद्धिका लागि विशेष पहल, वैदेशिक सहयोगका लागि थप पहल र वैदेशिक मुद्रा सञ्चितीमा विशेष ध्यान दिएको जानकारी दिए । यी विभिन्न कदमहरुले अर्थतन्त्र सुधारमा सकारात्मक संकेत देखिएको उनले बताए ।
गभर्नरसँगको ट्युनिङ
पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकसँग तालमेल गर्न नसकेको विषयले निकै प्राथमिकता पाएको थियो । शर्मा र गभर्नर महाप्रसाद अधिकारीको सम्बन्धका विषयमा पनि निकै चर्चा हुन्थ्यो ।
तर, अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय सम्हालेपछि गभर्नरसँगको राम्रो तालमेल गरेर काम गरेको बुझिएको छ । पौडेलले गभर्नर अधिकारीलाई साथमा लिएर काम गरिरहेका थिए । जसले गर्दा उनलाई साथ पनि मिलिरहेको थियो । सरकार र राष्ट्र बैंकको ट्युनिङ पनि मिलेको थियो ।
यसअघि चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्न नमानेको राष्ट्र बैंक पौडेलले अर्थमन्त्रालय सम्हालेपछि नै सो मार्गदर्शन संशोधन गर्न तयार बनेको थियो । अर्थमन्त्रीको निर्देशनसँगै ब्याजदर घटाउने निर्णय पनि भयो भने आयातका लागि राखिएको नगद मार्जिन पनि हटाइयो । विस्तारै अर्थतन्त्र लय समात्दै थियो । तर, अर्थमन्त्री पौडेल बाहिरिएका छन् ।
व्यवसायीको बढेको थियो मनोबल
अधिकांश व्यवसायीहरुले पौडेलले अर्थमन्त्रालय सम्हालेपछि अर्थतन्त्र सुधारको दिशामा गएको र आफुहरुको मनोबल बढेको धारणा विभिन्न सार्वजनिक कार्यक्रममा राख्दै आएका थिए । उनले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर नआत्तिन सुझाव दिइरहेका थिए ।
पछिल्लो समय अटो व्यवासायी आन्दोलनमा थिए । उनीहरुका माग सम्बोधन हुने भन्दै उनले विरोध रोक्न आग्रह गरेका थिए । सेयर बजारका लगानीकर्ताहरुले समेत उनमा भरोसा गरेका थिए । उनी अर्थमन्त्रालयको बागडोर सम्हालेको केही दिनपछि सेयर बजारले उकालो यात्रा सुरु गरेको थियो । तर, पछिल्लो समय भने सेयर बजार घट्दो अवस्थामा छ ।
खर्च कटौतीको महत्वपूर्ण निर्णय
उनले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि गरेको महत्वपूर्ण निर्णय हो चालू खर्च कटौती अर्थमन्त्रालयद्वारा चालू आर्थिक वर्षको चालू खर्च घटाउनेसम्बन्धी मापदण्ड-२०७९ जारी गर्दै उनले १५ प्रतिशतले खर्च घटाउने निर्णय गरे । उनले बोतलको पानी प्रयोग नगर्ने, अतिरिक्त भत्ता नदिने, सरकारी खर्चमा हुने वैदेशिक भ्रमण कटौती गर्ने लगायतको प्रयास गरे । अर्थमन्त्रीको यो कदमले थोरै भएपनि सरकारले केही राहत मिल्ने धारणा राखिरहेका छन् ।
सेयर बजारमा सेञ्चुरी क्रस
अर्थमन्त्रीको नियुक्तिले सेयर बजारका लगानीकर्ताको मनोबलमा पनि महत्वपूर्ण भूमिका खेल्छ । पौडेल अर्थमन्त्री बनेपछि सेयर बजारमा पनि करिब १०० अंकको वृद्धि भएको छ । उनी नियुक्त हुँदाको दिन अर्थात् पुस ११ गते सेयर बजार परिसूचक १९२४.०९ अंकमा थियो । सो दिन २ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको थियो ।
उनी नियुक्त भएको पछिल्लो दिनमै सेयर बजार बढेर १९८३.९६ बिन्दु पुगेको थियो । आज उनी अर्थमन्त्रालयबाट बाहिरिएको दिन सेयर बजार २०२३.५४ बिन्दुमा छ । सोमबार सेयर बजारमा १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । अर्थमन्त्री पौडेलमाथि सेयर लगानीकर्ताले पनि धेरै अपेक्षा गरेका थिए ।
यस्ता छन् पौडेलले गरेका काम
अर्थन्त्री पौडेलले पुस ११ गते पदभार ग्रहण गरेका थिए । उनले पुस १२ गतेदेखि नियमित रुपमा मन्त्रालयको काम कारवाही अगाडि बढाएका थिए ।
पुस १२ : प्रधानमन्त्री र मन्त्रीहरूले बजेट वक्तव्यमार्फत चालु आर्थिक वर्षमा बढाइएको १५ प्रतिशत तलब नलिने, अर्थतन्त्रलाई गतिशील बनाउने लगायतका निर्णय गरेको ।
पुस २० : राष्ट्र बैंकद्वारा चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको ।
पुस २५ : उच्चस्तरीय राजनीतिक संयन्त्रद्वारा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलिकरणसहित नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको ।
पुस २६ : अर्थमन्त्रालयद्वारा चालू आर्थिक वर्षको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड २०७९ जारी ।
पुस २७ : नेपाल बैंकर्स संघद्वारा निक्षेपको ब्याजदरघटाएर ११ प्रतिशत बनाउने निर्णय ।
माघ ५ : राष्ट्र बैंकद्वारा आयातमा लगाइएको अनिवार्य नगद मार्जिन हटाउने निर्णय ।
माघ १५ : अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार ।
माघ १७ : अर्थमन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय । सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठक । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय ।
माघ १९ : अर्थमन्त्रालयका १० जना सहसचिवहरुको कार्यविभाजन ।
माघ २३ : नेपाल राष्ट्र बैंकद्वारा पुससम्मको आर्थिक विवरण सार्वजनिक । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब २१ अर्ब रुपैयाँ वृद्धि ।
माघ २४ : प्रधानमन्त्री कार्यालयमा राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रण सम्बन्धी छलफल । प्रधानमन्त्रीद्वारा राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन निर्देशन ।
माघ २६ : नेपाल राष्ट्र बैंकद्वारा रेमिट्यान्स कम्पनीहरूको विवरण बुझाउने समय अवधि निर्धारण । दैनिक विवरण ३ दिनमा, मासिक सात, त्रैमासिक र वार्षिक विवरणका लागि १५ दिनमा बुझाउनु पर्ने ।
माघ २७ : साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था ।
माघ २९ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे संघीय संसदलाई जानकारी । चालु आर्थिक वर्षमा १७ खर्ब ९३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा १५ अर्ब २ खर्ब १४ अर्ब रुपैयाँ खर्च हुने अनुमान ।
फागुन २ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे संघीय संसदको राष्ट्रिय सभालाई जानकारी । भनसुनका भरमा परियोजना पार्ने काम बन्द भइसकेको भनाइ ।
फागुन ३ : उपप्रधानमन्त्रीतथा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपालको बैठक । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति ।