काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेकोन एयरका सञ्चालकको बैंक तथा सम्पत्ति रोक्का गरेको छ । बन्द भएको लामो समयसम्म विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बक्यौता नबुझाएपछि प्राधिकरणले बैंक खाता र सम्पत्ति रोक्का गरेको हो ।
विस २०६१ सालमा बन्द भएको नेकोन एयरले क्यानलाई झन्डै ५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरेको नेकोन एयर उड्दा उड्दै ग्राउण्डेड बनेका थियो ।
हाल अस्तित्वमा नरहेका (बन्द) भएका ११ वटा वायुसेवा कम्पनीले प्राधिकरणलाई बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको थियो । लामो समयदेखि ताकेता गर्दा समेत रकम भुक्तानीमा आनाकानी गरेपछि क्यानले ११ वटै कम्पनीका सञ्चालकको बैंक खाता रोक्का गरेको थियो ।
क्यानले सञ्चालक समितिका सदस्यको बैंक खाता रोक्का गरेपछि सम्पर्कमा आएका उक्त वायुसेवा कम्पनीमध्ये अझै ३ वटा एयरका सञ्चालकले बक्यौता रकम भुक्तानी नगरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेकोन एयर, सिवानी र कस्मीक एयरका सञ्चालक सम्पर्कमै हुँदा समेत रकम भुक्तानीमा आनाकानी गरेको क्यानले जनाएको छ ।
सञ्चालक अदालतमा
नेकोन एयरका सञ्चालकबीच रकम भुक्तानीमा विवाद भएपछि काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । सञ्चालकहरुबीच कसले कति दायित्व लिने भन्ने विषयमा स्पष्ट नहुँदा सञ्चालक समितिकै सदस्यले मुद्धा दर्ता गराएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहेका छन् । उक्त सञ्चालकमध्ये हाल मुकुन्दभक्त श्रेष्ठ र मृगेन्द्र जोशीको मृत्यु भैसकेको छ ।
बाँकी रहेका सञ्चालकबीच रकम भुक्तानीमा सहमति नहुँदा र क्यानले बैंक खाता रोक्का राखेको भन्दै सञ्चालक समितिका सदस्य दीपकराज कोइरालाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेका हुन् ।
सञ्चालक समितिको खाता रोक्का गर्दै क्यानले अध्यक्ष दीपमणी राजभण्डारीको काठमाडौंमा रहेको सम्पत्ति रोक्का राखेको छ । ‘हामीले रकम भुक्तानी गर्नै पर्छ, तपाईंहरु मिलेर भुक्तानी गर्न आउनुस भनेका थियौँ, तर उहाँहरुबीच विवाद हुँदा कसले कति दायित्व बहन गर्ने विषयमा सहमति नभएपछि मुद्धा दर्ता भएको हो,’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने ।
गत फागुन १ गते मुद्धाको पेशी तोकिएकोमा सार्वजनिक विदा परेका कारण मुद्धाको पेशी सरेको छ । नेकोनले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ ।
सन् १९९६ मार्च २१ मा प्राधिकरणबाट एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको नोकोनले अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेको थियो । १३ वटा वायुसेवा कम्पनीबाट उडान गरेको नेकोन नाफामा गएपछि प्राथमिक सेयर निष्कासन गरे पश्चात नोक्सानमा गएर व्यवसाय नै बन्द भएको थियो । नेकोनले दिल्ली, बनारस र कोलकातामा उडान गरेको थियो ।
यस्तै, सिवानी एयरले रकम भुक्तानी गर्न आउँछु भनेतापनि हालसम्म नआएको क्यान अन्तरगतको वित्त विभागले जनाएको छ । ‘हामी रकम भुक्तानी गर्न आउँछौँ, खाता रोक्का नगर्नुस भनेर हामीलाई मासिक रुपमा भुक्तानी गर्ने सेड्युल नै पेश गर्नुभएको थियो, सेड्युल पेश भएपनि रकम भुक्तानी भएको छैन्, अब खाता रोक्का राख्नु बाहेक अरु विकल्प छैन’, विभाग स्रोतले भन्यो ।
मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ । कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार बक्यौता रकम भुक्तानी गरेको छैन् । कस्मिक एयरका सञ्चालक रविन्द्रप्रसाद प्रधान हुन् ।
कस्मिकमा आरपी प्रधानको मुख्य लगानी थियो । उनी पूर्वराजा वीरेन्द्र शाहका हेलिकोप्टर पाइलट थिए । प्रधानले एयरलाइन्स राम्रैसँग चलाएका थिए । पछि उनका छोरा रविन्द्रले एयरलाइन्सको जिम्मेवारी लिएपछि धराशायी भएर बन्द भएको हो ।
हाल बन्द भएका गोरखा, माउन्टेन, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डप लगायतका वायुसेवा कम्पनीहरुले बक्यौता रकम भुक्तानी गरिसकेको क्यानले जनाएको छ ।