काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यससँगै दुवै बैंकले मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरेकाे छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिने लक्ष्मी बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा दुई बैंकको मर्जर प्रक्रिया सुरु हुनेछ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने बताइएको छ ।
लक्ष्मी र सनराइज बैंकको स्वाप रेसियो १ः१ अनुपातमा हुने बताइएको छ । मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए ।
‘स्वाप रेसियो डीडीएले तय गर्छ, राष्ट्र बैंकको मर्जर विनियमावलीमा १० प्रतिशत भनिएको छ तर ५ प्रतिशत भन्दा बढी भयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण हुनेछ, अहिले समान हैसियत भनिएको छ,’ उनले भने ।
मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ ।
‘धेरै विषयमा कुराकानी हुन बाँकी छ,’ उनले भने, ‘५ जनाको मात्रै सञ्चालक समिति बनाउने योजना छ तर भोलिका दिनमा के हुन्छ त्यहि अनुसार अघि बढ्छौं, जति जनाको सञ्चालक भएपनि बराबर हैसियतमा सञ्चालक समिति बन्छ ।’
सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।