काठमाडौं । बैंकरहरु यति बेला चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ । सोही कारण पनि उनीहरु दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा व्यस्त छन् ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीहरुको वित्तीय विवरण नकारात्मक रहेकाले निराश बनाएको थियो । दोस्रो त्रैमास कस्तो आउला भन्ने चासोका रुपमा लिइएको छ । बैंकरहरु भने चालू आर्थिक वर्षको दोस्रो त्रैमास पनि खासै उत्साहप्रद नहुने बताउँछन् । पहिलो त्रैमासको जस्तै दोस्रो त्रैमासमा पनि बैंकहरुको नाफामा सुधार नहुने उनीहरुको धारणा छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च रहेको छ । सोही कारणले पनि बैंकहरुको खुद ब्याज आम्दानी र संचाल नाफा बढ्ने अपेक्षा गरिएको थियो । तर, निक्षेप संकलनका लागि ब्याजदर बढाएको भएपनि कर्जा प्रवाह भने शून्य जस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हनु नसकेको बैंकर्सहरु बताउँछन् । कर्जाको लागत उच्च भएकाले उद्योगी व्यवसायीहरुले सडक आन्दोलन नै गर्नुपर्ने स्थिती आएको छ ।
लगानीयोग्य रकमको अभावका कारण अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने बैंकर्सहरु बताउँछन् । अघिल्ला वर्षहरुमा जथाभावी लगानी बिस्तार गरेकाले केही बैंकहरुको खराब कर्जाको अनुपात पनि बढ्ने संभावना छ । दोस्रो त्रैमासमा बैंकहरुको आधारदर बढ्ने देखिन्छ भने स्प्रेडदर भने घट्दै जाने देखिन्छ ।
ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल दोस्रो त्रैमास चुनौतीपूर्ण रहेको बताउँछन् । पछिल्लो समय बैंकहरुले तरलता अभाव स्थिती खेप्नु परेका कारण पनि अपेक्षा गरिए जस्तो वित्तीय विवरण नआउन सक्ने उनको भनाइ छ । अर्थतन्त्रमा दबाव सहितका विभिन्न कारणले गर्दा पहिलो क्वार्टरपछिको दोस्रो क्वार्टर पनि चिन्ताजन रहेको उनले बताए ।
‘दोस्रो त्रैमास चुनौतीपूर्ण नै छ, अघिल्ला वर्षको जस्तो उत्साहपूर्ण स्थिती छैन, सामान्यतया प्रत्यके वर्ष पहिलो क्वार्टर त्यति धेरै राम्रो हुँदैनथ्यो, दोस्रो त्रैमास राम्रो हुन्थ्यो, त्यो एउटा ट्रेण्ड थियो तर, यसपटक त्यो ट्रेण्ड नरहन सक्ने डर छ,’ उनले भने, ‘किनभने तरलता अझै सुधार भएको छैन, (हिजोआज केही सुधार भएको हो) तर, त्यो त्रैमास अन्त्यमा पुग्दाखेरि ड्राइ हुने सम्भावना छ, िरफाइनान्सको पैसा गएको छ, सरकारलाई तिर्नुपर्ने करको पहिलो किस्ता पनि यहि त्रैमासमा पर्छ, अर्थतन्त्र चलायमान भएको छैन, आर्थिक गतिविध न्यून रहेको छ ।’
दोस्रो त्रैमाससम्म आइपुग्दा बजारमा ब्यापार सुस्त रहेको उनले बताए । कर्जाको किस्ता र ब्याज उठ्न पनि गाह्रो भएको उनको भनाइ छ । कर भुक्तानी गरेका कारण सोचेको जस्तो तरलता सहज नभएको उनले बताए ।
‘पहिला जस्तो ब्यापार हुन्थ्यो, त्यो अहिले छैन, ब्यापार सुध्रेको छैन, कर्जा पनि सहजै पाइएको छैन, न बैंकले ऋण दिन्छ न सहकारीबाट पाइन्छ, कर्जा प्रवाह भएपछि पैसा चलायमान हुन्थ्यो, चारैतिरबाट कारोबार हुन्थ्यो तर, अहिले ब्याज तिर्न, निरन्तर किस्ता तिर्न रअर्थतन्त्र नै ठप्प जस्तै छ,’ उनले भने ।
अघिल्लो वर्षको तुलनामा कर्जाको रिकभरी कम भएको उनले बताए । पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जादर बढेको भएपनि दोस्रो त्रैमासमा घट्ने अपेक्षा गरिएको थियो । तर, कर्जाको रिकभरी नभएकाले खराब कर्जा घट्न नसक्ने उनको भनाइ छ ।
‘कर्जाको रिकोभरी अपेक्षित हिसावमा भएको छैन, सामान्यतया पहिला–पहिलाको ट्रेण्ड हेर्दा दोस्रोत्रैमासमा खराब कर्जा घट्नु पर्ने हो, अहिले घट्दै घट्दैन तर, धेरै बढ्छ भन्ने पनि होइन, पहिलो क्वार्टरमा धेरै प्रोभिजन क्रेट भएकोका कारण इण्डष्ट्रिको एनपीएल नै बढेको हो, दोस्रो क्वार्टरमा रिकभरी हुन्छ र अहिले घट्छ भन्ने अनुमान थियो तर नघट्ने अवस्था रह्यो,’ उनले भने ।
माघमा ब्याजदर घटाउनु पर्ने पक्षमा उनले जोड दिए । अहिले बैंकहरुको ब्याजदर उच्च रहेकाले व्यवसाय नै फस्टाउन नसकेको उनको बुझाइ छ । कर्जाको माग नभएपछि अन्य क्रियाकलाप घटेको रकर्जासँग सम्वन्धित कारोबार कम भएको उनले बताए ।
‘निक्षेपको दर १ प्रतिशत घटाउनुपर्छ किनकी रेट उच्च भयो,जसले अर्थतन्त्रलाई असर गरिरहेको छ, राष्ट्र बैंकको सर्कुलर अनुसार १० प्रतिशत कम गर्न सकिने व्यवस्था भएकाले १ प्रतिशत घटाउनु पर्छ, नेपाल बैंकर्स संघले निर्णय गर्नु पर्ने भएकाले केही भन्न सक्दैन, निक्षेपकोब्याजदर घट्यो भनेकर्जाको दर पनि घट्छ, व्यवसाय पनि फस्टाउँछ,’ उनले भने ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकतृ (सीईओ) सुनिल पोख्रेल दोस्रो त्रैमासमा कर्जाको माग घटेकाले आक्रामक विजनेश ग्रोथ नभएको बताउँछन् । निक्षेपको लागत मात्रै बढको र कर्जा प्रवाह बढ्न नसक्दा दोस्रा त्रैमासमा अभिलाषा पुरा नहुने उनले बताए ।
‘कर्जाको माग घटेको हुँदा विजनेशको ग्रोथ नै छैन, दोस्रो त्रैमासमा धेरै ठूलो जम्प गर्ने खालको विजनेश बढेको छैन, निक्षेपकर्ता बढेका छन् जसले गर्दा लागत मात्रै बढेको छ,त्यति धेरै राम्रो ब्यालेन्ससिट आउँछ जस्तो लाग्दैन, पहिलो क्वार्टर जस्तै हुन सक्छ, धेरै घट्दैन धेरै बढ्दैन,’ उनले भने ।
बजारमा पैसा नै नभएकाले रिकभरी पनि उत्साहजनक नभएको उनको भनाइ छ । बजारमा पैसाको परिक्रमा नभएकाले रिकभरीमा पनि प्रभाव पारेको उनले बताए ।
‘रिकभरी ठिकै छ तर पहिलाको तुलनमा गाह्रो छ किनभने मान्छेहरुसँग पैसा नभएपछि असर पारेको छ, मान्छेसँग पैसा रोटेसन नभएपछि सबैलाई प्रभाव पार्छ नी, खराब कर्जा अझै बढ्न सक्ने सम्भावना छ,’ उनले भने, ‘त्यो सर्ट टर्मलाई प्रभाव परेपनि दीर्घकाल असर गर्दैन, वर्षको अन्तिममा कर्जा जसरी पनि तिर्नुपर्छ भन्ने ग्राहकहरुको बानीछ ।’
उनका अनुसार कर्जा चुक्ता गर्न बैंकहरुले निरन्तर सूचना प्रकाशन गर्ने गरेका छन् । तर, अघिल्ला वर्षभन्दा यस वर्ष बढी सूचनाहरु प्रकाशन भएका हुन् । अहिले पनि मार्केट टाइट नै रहेको उनले बताए ।
‘बजारमा नगद प्रवाह (क्यास फ्लो) नहुँदा धेरै मिसम्याच भएको छ, सम्पत्ति भएकाले पनि बिक्री गर्न सकिरहेका छैनन्, सेयरमा भएको लगानी बेचेर बाहिरीन पनि सकिरहेका छैनन्, विजनेशमा सेल्स घटेको छ, मूल्य वृद्धि बढेको छ,’ उनले भने ।
उनका अनुसार माघमा ब्याजदर स्थीर रहन सक्ने सम्भावना रहेको छ । किनभने बैंकहरुको कम्फर्टटेबल पोजिशन भएको छैन । ‘पुसमा बैंकबाट रिफाइनान्स लागि पैसा धेरै बाहिर गएको छ, माघमा पनि केही पैसा रिफाइनान्सका लागि जाने देखिन्छ, अब ब्याजदर बढाउने निर्णय हुँदैनतर, बैंकहरुमा भएको पैसा बाहिरिएको हुँदा स्थीर रहन सक्छ,’ उनले भने, ‘आधार दर बढ्छ, यो क्वार्टरदेखिब्याजदर बढ्दा स्प्रेडदर घट्छ, चैत्रमा बैंकहरुले स्प्रेड दर ४.२ प्रतिशत ल्याउनुपर्ने बाध्यता छ ।’