नेपालमा डेल बेचेर आईटी ग्लोबलको आम्दानी १ अर्ब बढी, बैंक ऋण १.६७ अर्ब

काठमाडौं । आईटी ग्लोबल प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को साढे ११ महिनामा १ अर्ब ७ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड ५० लाख रुपैयाँ, आव २०८०/८१ मा ९८ करोड रुपैयाँ, आव २०७९/८० मा १ अर्ब २ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५८ करोड ५० लाख रुपैयाँ तथा आव २०७७/७८ मा ५० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीका अनुसार कुल आम्दानीको अधिकांश हिस्सा डेल ब्रान्डका ल्यापटप र डेस्कटपको बिक्रीबाट प्राप्त हुने गरेको छ । सन् २००८ मेमा स्थापना भएको आईटी ग्लोबलले नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स सामग्रीको व्यापार तथा वितरण गर्दै आएको छ । कम्पनी नेपालमा डेल ब्रान्डका उत्पादनहरूको तीन आधिकारिक वितरकमध्ये एक हो ।

कम्पनीको शतप्रतिशत स्वामित्व तथा व्यवस्थापन अकबर हुसेनको हातमा रहेको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका हुसेनले स्थापना कालदेखि नै कम्पनीको नेतृत्व गर्दै आएका छन् । कम्पनीले आफ्नो सहायक कम्पनी म्याक्स इन्टरनेशनलमार्फत काठमाडौंसहित देशका प्रमुख सहरहरूमा डिलर तथा वितरण सञ्जाल विस्तार गरेको छ ।

कम्पनीको पूँजी संरचना अझै ऋणमा आधारित रहेको छ । यद्यपि, नाफा सञ्चित हुँदै जाँदा कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको छ । चालु आवको पसाढे ११ महिनामा कम्पनीको सञ्चालन नाफा ७.१७ प्रतिशत र खुद नाफा मार्जिन ४.७१ प्रतिशत पुगेको छ ।

तर, ग्राहकलाई लामो अवधिको उधारो सुविधा दिनुपर्ने अवस्थाका कारण कम्पनीको कार्यशील पुँजीको आवश्यकता उच्च रहेको छ । बैंकबाट लिएको कार्यशील पुँजी कर्जामा कम्पनीको निर्भरता पनि उल्लेख्य छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६६ करोड ६२ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

यस्तै, कम्पनीले आपूर्तिकर्तामाथिको उच्च निर्भरता, गैर-विशेष वितरण सम्झौता, इलेक्ट्रोनिक्स बजारको तीव्र प्रतिस्पर्धा, प्रविधिको तीव्र परिवर्तन, आयातसम्बन्धी सरकारी नीतिमा हुने परिवर्तन तथा अमेरिकी डलरमा खरिद र नेपाली रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्थाका कारण विदेशी विनिमय दरको उतारचढावबाट समेत जोखिम सामना गरिरहेको जनाएको छ ।  

Share News