काठमाडौं । एनआईसी एशिया बैंकले जीवन बीमा र निर्जीवन बीमा कम्पनी खोल्ने प्रस्ताव गरेको छ । त्यस्तै बैंकले क्रेडिट रेटिङ कम्पनी, रेमिट्यान्स कम्पनी, शेयर तथा डेरिभेटिब्स् व्यवसाय गर्ने कम्पनी, मोवाइल वालेट कम्पनी, कोर बैकिङ अपरेटिङ सिस्टम निर्माण गर्ने कम्पनीमा लगानी गर्ने प्रस्ताव गरेको छ ।
‘बैंकले प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी जीवन बीमा सम्बन्धी व्यवसाय गर्न सक्नेछ’-बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावमा उल्लेख गरिएको छ । त्यस्तै, बैंक सहायक कम्पनी स्थापना गरी निर्जीवन बीमा सम्बन्धी व्यवसाय गर्न पनि प्रस्ताव गरेको छ ।
प्रचलित कानूनी प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी यस्ता कम्पनीहरुमा लगानी गर्ने र सेवा विस्तार गर्ने बैंकको योजना रहेको छ ।
युनिभर्सल बैंकिङ अवधारणा अनुरुप बैंकले प्रदान गरिरहेको बैंकिङ सेवा सुविधालाई थप बृहत बनाउन एवं परिष्कृत सेवा प्रदान गर्नको लागि यी सेवाहरु विस्तार गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकले रेमिट्यान्स सेवा पनि सुरु गर्ने भएको छ । विदेशी वा स्वदेशी रेमिट्यान्स कम्पनीमा संयुक्त लगानी गरी वा आफैना नयाँ कम्पनी खोली रेमिट्यान्स सेवा सुरु गर्न लागेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले सहायक कम्पनी स्थापना गरी क्रेडिट रेटिङ सम्बन्धी व्यवसाय गर्ने प्रस्ताव अगाडि सारेको छ । बैंकले विद्युतीय भुक्तानी सेवा वा विद्युतीय भुक्तानी प्रदायक सेवा वा वालेट व्यवस्थापन सेवा संचालन गर्ने भएको छ ।
बैंकले सहायक कम्पनी स्थापना गरी सुनचाँदीको धितोमा कर्जा प्रवाह गर्ने सम्बन्धी व्यवसाय गर्न चाहेको छ । बैंकले बिल ल्याण्डिङ, रेलवे रिसिप्ट, डिबेन्चर तथा बण्डलाई धितोको रुपमा स्वीकार गरी कर्जा तथा अन्य बैंकिङ सुविधा उपलब्ध गराउने पनि प्रस्ताव गरेको छ ।
बैंकले आवश्यकता अनुसार प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई बैंक आफैले वा अन्य संस्थासँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी शेयर तथा डेरिभेटिब्स् लगायतका वस्तुहरुको कारोबार गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, बैंकले अन्य संस्थासँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) सम्बन्धी कार्य गर्न योजना पनि बनाएको छ । एनआईसी एशिया बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी बैंकिङ तालिम सम्बन्धी व्यवसाय गर्न पनि गर्ने भएको छ ।
त्यस्तै, बैंकले लाइफस्टाइल बैंकिङ एप, वेभ, सोसल मिडिया च्यानल, ओपन बैकिङ लगायत आधुनिक बैकिङ सेवा सञ्चालन गर्ने पनि प्रस्ताव गरेको छ । डिजिटल ट्रान्सफर्मेशनको लागि पेपरलेश अर्गनाइजेशन, रोवटिक प्रोसेस, अटोमेशन, कोर बैकिङ सिस्टम, आईटि नेटवर्क सिस्टम, साइवर सेक्युरिटी सिस्टम जस्ता काम गर्नको लागि कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी काम गर्ने भएको छ । बैंकले यी प्रस्तावहरु यहि पुस २९ गते हुन लागेको वार्षिक साधारणसभामा पेस गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दियो ।