काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मा पाउने भएका छन् । सोमबार दिउँसो नयाँ बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मा पौडेललाई दिने सहमति गरेको हो ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा पौडेल अर्थमन्त्री बनिसकेका थिए । त्यसअघि पनि पौडेललाई एमालेले अर्थमन्त्री बनाएको थियो ।
गठबन्धनकै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा जनमत पार्टीलाई दिएको छ । ६ जना सांसद रहेको दलको नेतृत्व गर्दै पार्टीका उपाध्यक्ष अब्दुल खानले गर्नेछन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । माओवादी केन्द्रबाट उपप्रधानसहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानसहित गृह मन्त्री रवि लामिछानेले बन्ने पनि लगभग पक्का भइसकेको छ ।
अहिले अर्थतन्त्र सही अवस्थामा छैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि समस्यामा परेको अर्थतन्त्रमा सुधार आउन सकेको छैन । यसअघि पनि अर्थमन्त्री बन्दा पौडेलले उद्योगी व्यवसायीलाई केही राहत दिएका थिए । अब पनि उनी अर्थमन्त्री बनेपछि केही आशाका किरणहरु पलाएका छन् । तर, विश्वस्त हुने अवस्था भने नभएको उद्योगी व्यवसायीहरु बताउँछन् ।