नक्कली डकुमेन्टले बढायो बैंकिङ फ्रड, जिम्मेवार बन्न राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । गत कार्त्तिकमा माछापुच्छ्रे बैंकको नाम जोडेर ग्राहकको करोडौं रकम ठगी गरेको समाचार बाहिर आएपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग मच्चियो । जसले ग्राहक र बैंकबीचको सम्बन्धमा नै दरार ल्याउन सक्ने आँकलन गरिएको थियो । बैंकले रुपन्देहीको समरीमाई गाउँपालिका ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका २, मुजहानाका स्थानीयहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित बैंकिङ (बीएलबी) [&hellip;]</p>

काठमाडौं । गत कार्त्तिकमा माछापुच्छ्रे बैंकको नाम जोडेर ग्राहकको करोडौं रकम ठगी गरेको समाचार बाहिर आएपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग मच्चियो । जसले ग्राहक र बैंकबीचको सम्बन्धमा नै दरार ल्याउन सक्ने आँकलन गरिएको थियो ।

बैंकले रुपन्देहीको समरीमाई गाउँपालिका ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका २, मुजहानाका स्थानीयहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित बैंकिङ (बीएलबी) ग्राहक सेवा केन्द्र सञ्चालन गरेको थियो । बैंकले निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको थियो ।

प्रतिनिधिहरुले ग्राहकले जम्मा गरेको निक्षेपको भौचर (रिसिप्ट) प्रिन्ट गरेर प्रदान गर्नुपर्नेमा अनाधिकृत प्रयोग गरी करोडौं रकम ठगी गरेको माछापुच्छ्रे बैंकका चिफ अप्रेटिङ अफिसर सुनिल खतिवडा बताउँछन् । ग्राहकहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी कानून विपरित आफ्नो व्यक्तिगत प्रयोजनमा खर्च गरेको उनको भनाई छ ।

‘ग्राहकले जम्मा गर्न दिएको निक्षेप एजेन्टले बदमासी गरेर आफ्नो गोजीमा हाल्ने गरेको रहेछ, एजेन्टले बैंकको भौचर दुरुपयोग गरेको देखियो, अनुसन्धान गर्दा पैसा उठाएर आफै चलाउने रहेछ,’ उनले भने, ‘राष्ट्र बैंकको अनुसन्धानले पनि एजेन्ट नै दोषी देखायो, हामीले प्रहरीलाई पनि जानकारी गरायौं र घरजग्गा कारोबार नै रोक्का गरेको छ, १ सय जना ग्राहकको रकम ठगी गरेका थिए, अहिले सबैले रकम फिर्ता पाइसकेका छन्, त्यो मुद्दा सल्टिसकेको छ ।’

ठगीएका ग्राहकहरुको सबै रकम सेटलमेन्ट गरिसकेको उनले बताए । बैंकको पहुँचबाट टाढा रहेको गाउँलाई बैंकिङ सेवा दिन खोज्दा एजेन्टले बैंकको नाम नै मुछ्ने गरी ठगी गरेको उनको भनाइ छ । साथै, ठगीका नयाँ नयाँ घटनाहरु बढ्दो रहेको खतिवडा बताउँछन् । पछिल्लो समय डिजिटलमा भएको विकाससँगै यस्ता घटनाहरु पनि बढ्दै गएको उनको भनाइ छ ।

‘धेरै कारोबारहरु डिजिटल माध्यमबाट हुन्छन्, जसले गर्दा ह्याकरहरु सक्रिय छन्, ग्राहकहरुलाई झुक्याएर ठगी गर्ने बढे, अब बैंकले आफ्नो सिस्टम मजबुत र बलियो बनाएर काम गर्नुपर्छ, बैंकहरुले प्रविधिमा अर्बौं रुपैयाँ खर्च गरेका छन्, बैंकिङ्ग ठगी रोक्न राष्ट्र बैंकको पनि ठूलो भूमिका रहन्छ,’ उनले भने, ‘पछिल्लो समय पासवर्ड र ओटीपी सेयर गर्ने गरेका छन्, जसले गर्दा ठगले सबै पैसा झिक्ने गर्छन्, बैंकले आफ्नो सिस्टम बलियो बनाउनुका साथै ग्राहक पनि सचेत हुनु पर्छ ।’

नेपालमा बैंकिङ इतिहास सुरु भएदेखि यस्ता घटनाहरु प्रशस्त भएका देखिन्छन् । नेपालमा मात्रै होइन संसारभरि नै यस्ता घटनाहरु ठूला–ठूला भएका हुन्छन् । बैंकको नाम, लोगो र भौचर प्रयोग गरेर एजेन्टले ग्राहकको करोडौं रकम ठगी गरेपछि बैंकप्रतिको विश्वास माथि नै प्रश्न उठ्ने गरेको छ ।

आफूले इजाजतपत्र प्रदान गरेको संस्थाको नाम नै जोडिएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत चासोका साथ माछापुच्छ्रेको घटनाका बारेमा निरीक्षण गरेको थियो । राष्ट्र बैंकले उक्त घटनामा बैंकको कुनै दोष नभएपनि नाम जोडिएकाले ग्राहकको निक्षेप फिर्ता गराउन आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले गाउँ-गाउँमा बैंक नपुगेको ठाउँमा एजेन्ट नियुक्त गरेर शाखारहित बैंकिङ सञ्चालन गर्न पाउने व्यवस्था छ । सोही बमोजिम माछापुच्छ्रे बैंकले एजेन्ट नियुक्त गरेर शाखारहित बैंकिङ सञ्चालन गरेको थियो । बैंकले एजेन्टलाई डिभाइस पनि दिएको थियो ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार रुपन्देहीका दूई वटा स्थानीय तहमा एजेन्टले ग्राहक ठगेको घटनामा माछापुच्छ्रे बैंकको पनि कमी कमजोरी देखिएका थिए । माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ खोलेर अनुगमन नै नगरेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकले अनुसन्धान गर्दा माछापुच्छ्रे बैंकको पनि कमी कमजोरी देखिएका छन्, माछापुच्छ्रे बैंकलाई ग्राहकको पैसा फिर्ता हुने गरी व्यवस्था मिलाउन भनेको हो, ग्राहकको पैसा डुब्नु हुँदैन, शाखारहित बैंकिङका एजेन्टले बैंकमा धितो राखेको सम्पत्ति बेचेर भएपनि ग्राहकको रकम फिर्ता गर्न निर्देशन दिएको हो,’ राष्ट्र बैंकका एक अधिकारीले विकासन्युजसँग बताए ।

राष्ट्र बैंकको अनुसन्धानमा ग्राहकले एजेन्टको विश्वास गरेर रकम जम्मा गर्ने गरेका थिए । तर, एजेन्टले व्यक्तिगत फाइदाका लागि उक्त रकम प्रयोग गरेको अनुसन्धानमा देखिएको राष्ट्र बैंकका ती अधिकारीले बताए ।

‘बैंकले कारोबार रकम धान्न नसक्ने थिएन, एक डेढ करोड रुपैयाँ बराबरको रकम एजेन्टले ठगी गरेको रहेछ, प्रतिग्राहक १०/२० हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ, व्यक्तिगत कामको लागि पनि शाखारहित बैंकिङ भनेर दुरुपयोग गर्याे, आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया बढाउन राष्ट्र बैंकले निर्देशन दिएको हो,’ विकासन्युजसँग बोल्दै उनले बताए ।

शाखारहित बैंकिङ पनि राष्ट्र बैंकको नीति नियम अनुसार सञ्चालन गर्नुपर्ने हुन्छ । बैंकहरुले शाखारहित बैंकिङ सञ्चालन गरेपछि ग्राहकहरुलाई सबै कुराको जानकारी दिनुपर्छ । एजेन्टहरुलाई बैंकले समय समयमा तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ । स्थानीय वित्तीय अवस्था कस्तो रहेको छ भनेर अध्ययन गरेको हुनपर्छ । कसरी काम भइरहेको छ भनेर अनुगमनका लागि बैंकले कर्मचारीलाई पठाउनु पर्ने लगायतका व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

पछिल्लो समय यस्ता घटनाहरु बढ्न थालेपछि अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रकाशन गरेर ग्राहकहरुलाई सचेत रहन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको नक्कली छापहरु बनाई त्यसलाई प्रयोग गरी नक्कली डिपोजिट स्लिपहरु बनाएर ठगी बढ्न थालेपछि बैंकहरुलाई तनाव भएको देखिन्छ । यस्ता नक्कली डकुमेन्ट प्रयोग गरेर ग्राहकलाई ठग्न थालेपछि बैंकको ब्राण्डमा नै धक्का लाग्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सीईओ महेशशर्मा ढकाल कहिले काहीँ यस्ता घटनाहरु हुने गरेको बताउँछन् । बैंकका डकुमेन्ट आधिकारिक हुन् की होइन भनेर ग्राहकहरु आफै सचेत हुनुपर्ने उनको धारणा छ । काठमाडौं उपत्यका बाहिर यस्ता घटनाहरु बढी हुने गरेको उनले बताए । यस्ता घटनाहरु बैंकभन्दा बाहिर हुने भएकाले बैंकको विश्वासमा ठेस नपुग्ने उनले बताए ।

‘कहीँ कतै यस्ता घटनाहरु फ्याट्टफुट्टी हुने गरेका छन्, कहिलेकाहीँ सानो रकम भएका एकाध घट्नाहरु आउने गरेका छन्, कहिले राजश्व जम्मा गरेको भनेर ठगी गरेका केश पनि आउँछन्, मैले बैंकमा जम्मा गरेको भनेर राजश्व कार्यालयमा पेश गर्छन् तर पछि भेरिफाइड गर्दा देखिँदैन,’ उनले भने, ‘बैंकभित्र यस्ता घटना कम हुन्छन्, बैंकभन्दा बाहिर नक्कली भौचर, छाप लगाएर ठगी गर्छन्, दोस बैंकलाई दिन्छन् तर, अहिले सरकारले राजश्वदेखि सबै सिस्टम बैंकमार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाएको हुँदा यस्ता घटना कम हुन्छन् ।’

रकम जम्मा भएको छ वा छैन भनेर मोबाइलमा नै एसएमएस आउने भएकाले सबै चेक गर्नु पर्ने उनले बताए । उनका अनुसार कसैले तेरो खातामा रकम जम्मा गरेको छु भनेकै आधारमा विश्वास गर्नु भएन । ग्राहकहरुको बायोमेट्रिक राखेर कारोबार गरेको भएपनि एजेन्टहरुले अनेकन तरिकाबाट ठगी गर्नसक्ने उनले बताए ।

‘भौचरमा हस्ताक्षर मात्रै भएको हुन सक्छ, डिभाइसबाट प्रिन्ट भएको छ की छैन हेर्नुपर्छ, मोबाइलमा एसएमएस आएको हेर्नुपर्छ, शाखारहित बैंकिङमा यस्ता घटनाहरु धेरै भएका देखिन्छन्,’ उनले भने, ‘बैंकले आफै निगरानी बढाउनुपर्याे, बिएलबि नियन्त्रण र नियमन गर्ने सिस्टमलाई कडा गर्नुपर्छ ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल ग्राहकलाई सचेतना गराउन आवश्यक रहेको बताउँछन् । यस्ता घटना हनु नदिन बैंकहरुले आफैं सचेतना फैलाउनुपर्ने र ग्राहकहरु पनि आफै जागरुक हुनु पर्ने उनको भनाइ छ ।

‘अनाधिकृत छाप, नक्कली भौचर सामाग्रीबाट सचेत हुनुपर्याे, वित्तीय साक्षरता नै बढाउनु पर्छ, बैंकप्रतिको विश्वासलाई धर्मराउन दिनुहुँदैन, सर्वसाधारणलाई सचेतना दिन राष्ट्र बैंक, बैंक तथा वित्तीय साक्षरता र सिस्टमका बारेमा जानकारी दिनुपर्छ,’ ढकालले भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्ट वित्तीय कारोबार डिजिटल माध्यमबाट हुन थालेपछि बैंकहरुले शाखारहित बैंकिङ घटाउन थालेको बताउँछन् । राष्ट्र बैंकले कुनै पनि निक्षेपकर्ताको निक्षेप डुब्नु हुँदैन भनेर बैंकहरुलाई सजग गराईरहेको उनले बताए ।

‘माछापुच्छ्रे बैंकलाई पनि सजग बनाएको हो, उक्त घटना पछि राष्ट्र बैंकले थप निगरानी र शतर्क बढाउन निर्देशन दिएको छ, शाखारहित बैंकिङ घटाउन राष्ट्र बैंकले थप कुनै निर्देशन नदिएपनि बैंकहरु आफै व्यवस्थापन गरिरहेका छन्, डिजिटलमा वृद्धि भएको र बैंकहरुका शाखा सबै ठाउँमा पुगेकाले जोखिम न्यूनिकरणमा ध्यान दिन निर्देशन दिएको छ,’ उनले भने ।

बैंकका छापहरु लगायत भौचर नक्कली बनाएर ठगी गर्ने प्रवृत्ति घटाउन बैंकहरु आफै जिम्मेवार हुनुपर्ने प्रवक्ता भट्ट बताउँछन् । राष्ट्र बैंकले निक्षेपकर्ताको निक्षेपको प्रत्याभूति गराउने भएकाले कहीँ कतै यस्ता घटनाहरु भए राष्ट्र बैंकले थप निर्देशन जारी गर्ने र नियमन र सुपरिवेक्षणको काम गर्ने गरेको उनको भनाइ छ ।

Share News