काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन ।
पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार मन्त्रिमण्डलमा श्रेष्ठ सहभागी भएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन् ।
श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ ।
प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।
सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।