लागूऔषधसहित काठमाडौंको नागपोखरीबाट ४ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट सोमबार (आज) २९६.७५ ग्राम ब्राउन सुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी र ललितपुर जिल्ला बाग्डोल–४ बस्ने ५१ वर्षीय सविन श्रेष्ठलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट १ लाख ९८ हजार ३ सय ७५ नेपाली रुपैयाँ, १ हजार जापानी येनसहित अन्य विदेशी मुद्रा , २ वटा सञ्चार सेट, ३ थान ल्यापटप, १ थान प्रिन्टर, ४ थान मोबाइल सेट, लागूऔषधमा मिसाउने केमिकल २२ बोतल समेत बरामद भएको छ ।

उनीहरूले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडी समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रभात तिवारी लागूऔषध  मुद्दाका फरार अभियुक्तसमेत हुन् । 

Share News