काठमाडौं । निर्वाचनको सम्पूर्ण मत परिणाम आइसकेको छ । निर्वाचन आयोगका अनुसार देशको सबैभन्दा ठूलो पार्टी संघ र प्रदेशमा नेपाली काँग्रेस बनेको छ भने दोस्रो ठूलो पार्टी नेकपा एमाले बनेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति, जनमत पार्टी र राष्ट्रिय जमोर्चाको पनि प्रतिनिधि सभामा उपस्थिति रहनेछ । निर्वाचनको सम्पूर्ण नतिजा आएसँगै अबको सरकार कसको र कस्तो बन्नेछ भन्ने कौतुहलता छ । साथै प्रदेश सरकारमा मुख्यमन्त्री कुन दलबाट को बन्छ भन्नेकुरा पनि चासोको विषय छ । नयाँ निर्वाचनसँगै अहिलेको समीकरण परिवर्तन हुन्छ वा अहिलेकै गठबन्धनले प्रदेशसहित संघमा पनि सरकार चलाउँछ ? त्यो आगामी दिनमा देखिने नै छ ।
संघीय संरचनामा देश गइसकेपछिको ५ वर्ष बितिसक्दा प्रदेशले गरेका अनुभव, जनताले संघीय प्रणालीबाट पाएका सहज सुविधामा कत्तिको परिवर्तन भएको छ त ? संघीय संरचनाले जनताको समस्या बुझ्ने प्रयास र समाधानको उपाय कत्तिको खोजेको छ ? यसको छिनोफानो अबको ५ वर्षमा प्रदेशले गरेका काम कारबाहीले देखाउने नै छ । एकातर्फ संघीय संरचनामा जाँदा राष्ट्रले ऋणको भार व्यहोर्नुपरिरहेको भन्दै गर्दा आम सर्वसाधारणले संघीयताका कारण पाएको सहज, छिटो र छरितो कामको व्यवस्थापनलाई पनि भुल्नु हुँदैन ।
यद्यपी संघीयता पछि सबै काम सहज भइसकेका छन् भन्ने होइन, केही विकृति पनि देखिएका छन् । तर नराम्रा पक्षलाई हटाउँदै राम्रा पक्षको साथ र सहयोगमा लाग्नुपर्छ । ७ प्रदेश मध्ये प्रदेश १ को बाहेक अन्य प्रदेशको नामाकरण पनि भइसकेको छ । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश बाहेकका प्रदेशमा एक भन्दा बढी मुख्यमन्त्री बनिसकेका छन् । वागमती प्रदेशमा त ५ वर्षको कार्यकालमा ३ जना मुख्यमन्त्री बनिसकेका छन् । तत्कालीन नेकपा फुटेसँगै डोरमणि पौडेल पनि वागमतीको मुख्यमन्त्रीबाट हट्नुपर्यो ।
त्यसपछि नेकपा एमालेको समर्थनमा पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीमा चयन भए । त्यसको केही महिनापछि गठबन्धनको सरकार बनेसँगै वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे चयन भएका थिए । त्यसपछिको कार्यकाल संघीयताको कार्यान्वयनलाई बलियो बनाउन, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यको पूर्वाधार र प्रणालीलाई व्यवस्थित बनाउनमा बिताएको बताउँछन् मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ।
संघीयता बारे बुलन्द आवाज
यो अनुभव अलि बेग्लै खालको हुँदोरहेछ । एउटै पार्टीको बहुमतको मुख्यमन्त्री र गठबन्धनको मुख्यमन्त्रीमा अलि फरक हुँदो रहेछ । म तीन वटा पार्टीको तर्फबाट मुख्यमन्त्री थिएँ । त्यसमध्ये सबैभन्दा सानो दल मेरै थियो । मैले (एकीकृत समाजवादी) बाट १३ जना, (माओवादी केन्द्र) को २३ जना, नेपाली काँग्रेसको २२ जना लिएर सरकार गठन गरेको थिएँ । हामी तीन दल मिलेर न्युनतम साझा कार्यक्रम तय गरेर काम गरेका थियौँ । र त्यही गाइडलाइनमा आधारित भएर मैले धेरै कामहरु शुरु गरेँ ।
बाहिर भन्ने पाटो भन्दा आन्तरिक रुपमा यदाकदा फरक–फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब परेको महशुस गरेँ । दबाब आउँछ कि, भनेर कर्मचारी पर्खेर पनि बस्ने अनुभव गरेँ । त्यो खालको प्रवृत्ति पनि देखियो । त्यो मैले त्यहाँ गरेको सुक्ष्म अनुभव हो । कामको सम्बन्धमा मैले आफूसँग भएको सिर्जनशिलता, स्थानिय विकासमन्त्री भएर पनि विगतमा भुमिका निभाइसकेको र स्थानिय सरकारलाई बलियो बनाउनुपर्छ भनेर धेरै प्रतिनिधि सभामा वकालत पनि गरेको नाताले मैले स्थानिय तह र प्रदेशलाई बलियो बनाउने कुरामा मैले बढी जोड गरेँ ।
संघीयताको कार्यान्वयनलाई बलियो बनाउनको लागि सात वटै प्रदेशका प्रमुख सचिव र केन्द्रको सचिवलाई पनि लगेँ । एउटा बैठक बसाएँ । सातै प्रदेशको वन मन्त्रीहरुको बैठक पनि बसाएँ । सातै प्रदेशका नीति योजना आयोगका उपाध्यक्षहरुको बैठक पनि बसाएँ, संघीयतालाई बलियो बनाउन सकियोस् भन्ने हिसावले । यहाँ केन्द्रमा राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उपस्थित भएर प्रधानमन्त्रीको अगाडी र प्रदेश प्रहरी समायोजन तत्काल गर्नुस् । औद्योगिक क्षेत्रहरु प्रदेशलाई हस्तान्तरण गर्नुस् । तपाईको नजरमा परेन, राम्रोसँग औद्योगिक क्षेत्रले गर्नसक्ने काम उद्योग सञ्चालन, रोजगारी सिर्जनाको काम हुन सकेन ।
त्यो कुरापनि प्रश्ताव राखेँ । र सँगसँगै जुन ढंगले अहिले उपत्यका यातायात प्राधिकरण भन्ने खालको कुरा गर्दै प्रदेशको अधिकार पनि फेरि संघतिरै तान्ने । ७७ वटै जिल्लामा महिला विकास कार्यालय पनि खोल्ने । ७७ वटै जिल्लामा शिक्षा कार्यालय पनि खोल्ने टाइपका कुराहरु बाहिर आउन थालेपछि यो संघीयता बिरोधी कदम हो भनेर यस कुराको लागि मैले शिर्ष नेताहरुलाई तपाईहरु संघीयताको कार्यान्वयनको बारेमा बालुवाटारको बैठक धेरैचोटी गरेका छन् । यो चाहीँ बैठक गरेका छ कि छैन ?
स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा बढी ध्यान
मैले प्रदेशमा बसेर केही नविनतम कामहरु शुरुवात गर्ने कोशिस गरेँ । एउटा पहिलो बैठकबाटै ११९ वटा पालिका छन् वागमती प्रदेशमा । ११९ वटा पालिकाको १/१ जना दलित, दलित भेटिएन भने लोपोन्मुख जातिको एसईई गरिसकेको युवालाई ३ वर्षे प्राविधिक कोर्ष पढाइदिएर त्यही पालिकामा पठाइदिने निर्णय गरेँ । त्यो कार्यान्वयनको चरणमा छ ।
]दोस्रो बैठकबाट मैले सामुदायिक विद्यालयबाट एसईई गरेका र सामुदायिक कलेजमा पढ्न जाने ति गरिब परिवारको छोरीहरु हुन् । सबै छोरीहरुलाई छात्रवृत्ति दिनुपर्छ भनेर निर्णय गरेँ र त्यसको कार्यान्वयन हुने क्रममा छ । त्यसैगरी विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्नुप¥यो । र प्रविधिको क्षेत्रमा अलि ध्यान दिनुपर्यो वागमती प्रदेशले भनेर त्यसको लागि विज्ञान, प्रविधि विश्वविद्यालय बनाउने ढंगले निर्णय गरेँ । र त्यो कार्यान्वयनको चरणमा छ । प्रदेश उच्च शिक्षा ऐन संसदमा थियो । त्यसलाई पारित गरेर प्रदेश भित्र हामीले विश्वविद्यालय सम्बन्धन दिने त्यो मानित विश्वविद्यालय उसले अरुलाई सम्बन्धन दिन नपाउने र उसले विश्वविद्यालयको कोर्ष आफूले पढाएर विश्वविद्यालयको मान्यता लिन पाउने ।
यो काम अगाडी बढाउनको लागि तयारी गरियो । केही कलेजहरुले अब तुरुन्तै विश्वविद्यालयको मान्यता पाउनसक्ने अवस्था बनेको छ । यसरी शिक्षा क्षेत्रमा अलि बढी ध्यान दिएँ । शिक्षा बिना कुनैपनि देशको विकास हुन सक्दैन भन्ने कुरामा मैले ध्यान दिएँ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा वागमती प्रदेश भित्रका १३ वटा जिल्लामा एउटा–एउटा अस्पताल, कमसेकम १३ वटा अस्पताललाई वागमती प्रदेशको अस्पतालको रुपमा निर्णय गरेर त्यहाँ विशेषज्ञ सेवा समेत पनि शुरु गर्ने । र सबै अस्पतालहरुमा डाइलाइसिस सेवा पनि शुरु गर्ने ।
डाइलासिस मेसिन पनि राखिदिने । र हेटौँडाको अस्पतालमा चाहीँ मिर्गौला ट्रान्सप्लान्ट सेन्टर, भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण अस्पतालको ब्रान्चजस्तै हिसावले काम गराउने भन्ने ढंगले भर्खरै सम्झौता भएको छ त्यहाँको डाइरेक्टरसँग । यसरी स्वास्थ्य क्षेत्रमा काम गर्ने क्षेत्रमा ध्यान दिएँ । एउटा माध्यामिक विद्यालय एउटा नर्स कार्यक्रम जो अगाडी नै शुरु गरिएको थियो । त्यसलाई थप बल पु¥याउने ।
सामुदायिक विद्यालयहरुमा बसको सुविधा दिने । १५/२० जना अपाङ्ग, वृद्धवृद्धा भएको वृद्धाश्रमहरुलाई एउटा नर्स राखिदिने । सामाजिक क्षेत्रमा यस्ता कामहरुको शुरुवात गरेँ । यो सँगसँगै स्वास्थ्यकै क्षेत्रमा आयुर्वेदिक औषधालयको आयुर्वेदिक औषधि उपचार गर्ने उद्योगकै रुपमा विकास गर्ने आदि कुराहरुमा पनि शुरुवात गर्ने काम गरेको छु र त्यो क्रमशः अहिले कार्यान्वयनको चरणमा छ ।
नमूना वडा समाजवादी कार्यक्रमको शुरुवात, कृषि औजार कारखाना स्थापना
हामीसँग १ हजार १ सय २१ वटा वडाहरु रहेछन् । १ हजार १ सय २१ वडाहरु मध्ये १ सय १९ वटा पालिकामा एउटा–एउटा वडामा हामी समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माण गर्ने भनेर यत्रो निर्णय ग¥यौँ । संविधानमा लेख्यौँ । त्यसलाई १ सय १९ करोड नै खर्च गर्नेगरी, एउटा वडामा १ करोड खर्च गर्नेगरी विशेषगरी शिक्षा र स्वास्थ्यको पहुँचबाट बाहिर रहेका, रोजगारी प्राप्त नभएका अत्यन्त गरिव मानिसहरु र सँगसँगै स्वास्थ्यका क्षेत्रमा कुनैपनि त्यस्तो अनुभव गर्न नपाएकाहरुको काममा यो रकम खर्च गर्ने र उनीहरुको जीवनस्तर माथि उठाउने ।
१० क्विन्टल प्याज, १० क्विन्टल भन्दा बढी लसुन फलाउने किसानलाई प्रतिकिलो १ रुपैयाँका दरले पुरस्कार दिने निर्णय पनि ग¥यौँ । त्यो अब कार्यान्वयनको चरणमा छ । र हाम्रो कृषिलाई महत्व दिने । कृषिलाई आधुनिकीकरण गर्नेकुरा पनि हामी गरिरहेका छौँ । तर कृषिको क्षेत्रमा राम्रोसँग ध्यान पु¥याउन नसकेको कुरालाई ध्यानमा राखेर कृषि औजार कारखाना वागमती प्रदेश सरकारले नै आफैँले पार्टनरसिप गरेर कृषि औजार कारखाना स्थापना गर्ने तयारी ग¥यौँ । त्यसको अन्तिम चरणमा पुगेको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका रासायनिक मल उत्पादन गर्ने तयारी
वि.सं.२०४८ सालदेखि अहिलेसम्म रासायनिक मलको कारखाना खोल्न नेपाल सरकारले चाहँदा पनि सकेको छैन । तर दुई लाख मेट्रिक टन प्रतिवर्ष रासायनिक मल उत्पादन गर्नसक्ने एउटा कम्पनीसँग हामी सहकार्य गर्नेगरी वागमती प्रदेश सरकारले निर्णय गरेर केन्द्र सरकारसँग जग्गा उपलब्ध गराउनुहोस् भनेर हामीले भर्खरै प्रश्ताव अगाडी बढाएका छौँ । त्यो सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा त्यो काम शुरु गर्नेगरी तयारी गरेका छौँ । वागमती प्रदेशमा कुखुराको असाध्यै धेरै सम्भावना छ । पोल्ट्री विकास बोर्ड बनाउने, सहकारी विकास बोर्ड बनाउने निर्णय त पहिल्यै भएर त्यही अनुसारले काम अगाडी बढीरहेको छ । ११ हजार प्रारम्भिक सहकारीले काम गरिरहेका छन् ।
यातायातको क्षेत्रमा एउटा लाइसेन्स लिनका लागि तीन वर्ष पर्खिनुपर्ने । त्यो झन्झटिलो अवस्थालाई अन्त्य गर्नका लागि हामीले कर्मचारीलाई इन्सेन्टिभ दिएर जनतालाई सेवा दिउँ । एउटा युवा विदेश उड्न लागेको छ, उसले एउटा लाइसेन्सपनि लैजान सकेन भने ऊ एकदमै कमजोर भएर जान्छ र उसले त्यहाँ रोजगारी प्राप्त गर्न पनि गाह्रो हुन्छ । अहिले लाइसेन्स १५ दिनभित्र पाइसक्छ । अर्को वागमती प्रदेश भित्र एउटा ड्रिम प्रोजेक्टको रुपमा फाइनल टुंगो गर्न बाँकी छ, त्यो के हो भन्दा सार्वजनिक सवारी साधनहरुमा भाडा तिर्ने सिस्टम चाहीँ अब नोट लिएर नगर्ने । कार्ड सिस्टमबाट गर्ने । त्यसलाई हामी क्यासलेस सिस्टम भन्छौँ । त्यो काम शुरु गर्ने भनेर टुंगो हुन लागिरहेको छ ।
पर्यटकीय विकासको थालनी
प्रदेश भित्रका केही महत्वपूर्ण योजनाहरुलाई हामीले विशेष महत्व दिएका छौँ । धादिङमा एउटा निकै ठूलो गुफा छ । त्यो गुफा एशियाकै ठूलो गुफा पनि भन्छन् । त्यो गुफाभित्र घुम्नलाई ३ घण्टा लाग्छ । त्यो गुफामा जानको लागि एक अर्ब रुपैयाँ पैसा हालेर बाटो बनाउने काम अगाडी बढाउँदै छौँ । जिरीमा मानव निर्मित कृतिम ताल बनाएर पर्यटकीय विकासको थालनी गर्ने कामहरुमा लागेका छौँ । धादिङको रुबी भ्याली गाउँपालिकालाई १० करोड रुपैयाँ पैसा राखेर रुबी भ्याली एकिकृत विकास कार्यक्रम लागू गर्ने भनेर त्यसलाई अगाडी बढाउन लागेका छौँ । यो ढंगले हामी प्रदेशको विकास निर्माणको मामिलामा लागेका छौँ । हामीले थालेका कामहरु त फुसको छाना उन्मुलन ।
गरिवहरुका फुसका छाना हटाएर जस्ताको छाना छाउने बन्दोबस्त गर्ने । त्यसलाई विशेष क्षेत्र भनेर घोषणा गरेका छौँ । केही विशेष कार्यक्रम लैजाने तयारी गरेका छौँ । यो प्रदेशमा नेपाली भाषा पछिको नेपाल भाषा र तामाङ भाषा दोस्रो ठूलो जनसंख्याको रुपमा यो भाषा बोल्ने मान्छे पाइँदो रहेछ । र त्यसलाई नेपाली भाषा पछि सरकारी कामकाजको भाषाको रुपमा भाषा आयोगको सिफारिसलाई मान्यता दिएर त्यसलाई पनि काम शुरु गर्ने आदि कुराहरुको तयारी गरेको छौँ ।
प्रमुख सचिव बाहेकका पदाधिकारी प्रदेशले नै गर्नेगरी अध्यादेश जारी
यति अवधिमा कैले केही कामको शुरुवात गरेको छु । मलाई लाग्छ यी कामहरु मध्येमा थुप्रै मैले ४० वटाभन्दा बढी क्षेत्रमा हिजो कुनै कार्यक्रम थिएन । कानून थिएन । कार्यविधि थिएन । केही पनि गरिएको थिएन । अर्बौं रुपैयाँ त्यत्तिकै पठाउने काम गरिएको थियो । अब त्यसलाई कमसेकम व्यवस्थित गर्ने, कानूनी बस्दोबस्त गर्ने कामहरु गरेका छौँ । मलाई लाग्छ अब आउने टिमले धेरै सजिलोसँग काम गर्न पाउँछन् । अनि ५३ हजार जति संघमा राख्ने काम भएको छ । त्यसो हुनाले संघीयताको कार्यान्वयनलाई निकै बाधा पुगेको छ । वागमती प्रदेशमा हामीलाई ३ हजार ७ सय ६३ जति कर्मचारी दरबन्दी रहेछ ।
समायोजन भएर जाँदैमा १४ सय खालि थियो । केन्द्र सरकारले निजामती सेवा ऐन ल्याइदेला र त्यसले हाम्रो लागि पनि बाटो खोलिदिएला भनेर पख्र्यौं, त्यो खुलेन । जनशक्ति तयार गर्ने काम हामीले गरेका छौँ । अर्को बिडम्बनाको कुरा के हुन्छ भने हाम्रो प्रदेशमा जम्मा तीन दिन भन्दा बढी काम हुँदैन । मंगलवार, बुधवार र बिहीवार । त्यो कर्मचारी शुक्रवार बिहानदेखि नै काठमाडौँ आउनपट्टी लाग्छ ।
काठमाडौंबाट गएको छ अफिसरहरु सबै । सचिवहरु सबै । आईतवार यतै घुमेर बस्छ र काज भनेर हिडिँराख्छ । सोमवार ढल्किँदै ढल्किँदै बेलुकी साँझमा पुग्छ मन्त्रालय हाजिर हुनलाई । मंगलवार बिहानबाट काम थाल्छ । जम्मा ३ दिन काम हुन्छ । त्यो सबै कुरालाई ध्यानमा राखेर हामीले अब प्रदेशले नै कर्मचारी, प्रमुख सचिवबाहेक अरु सबै सचिव प्रदेश सरकारले गर्न सक्नेगरी हामीले अध्यादेश जारी गरेको छौँ । प्रदेश सरकारले पठाउन पाउने व्यवस्था बनाउनुपर्छ भनेर हामीले हाम्रो प्रदेशबाटै अब ११९ पालिकामा कर्मचारी प्रशासनिक प्रमुख हामी नै पठाउन सक्नेगरी व्यवस्था गरेका छौँ ।
म संघमा आएको छु । मैले संघमा प्रदेश सरकारलाई बलियो बनाउन संविधानमा उल्लेख भएको जुन अधिकार छ, त्यो अधिकारलाई कार्यान्वयन गराउने सवालमा म मेहनतपूर्वक लाग्छु । मेरो भुमिका केन्द्रले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने हो । सबै खुद्राखुद्री काम गर्ने होइन । हिजो केन्द्रले गर्दै आएका कामहरु अब प्रदेशले गर्ने हो । सेवा प्रदान गर्ने पाटो चाहीँ स्थानीय सरकारले गर्ने हो ।
संघीयताको कार्यान्वयन सही ढंगबाट हुनुपर्छ
स्थानिय तहको सरकारलाई प्रशासनिक प्रमुख प्रदेशले पठाइदिने । ताकी उनीहरु दुई बीचको समन्वय हुन्छ । अहिले के छ भने, प्रदेशले पठाएको पैसा कतिपय स्थानिय तहले आएकै छैन भनिदिन्छन् । पैसाको पोको लिएर जाने त होइन होला सिस्टमले जाने हो । कतिपय पैसा फ्रिज गराइदिने सिस्टम पनि हुन्छ ।
त्यसो हुनाले अब त्यो कर्मचारी प्रदेश सरकारले नै नियुक्ति गरेर पठाएपछि त उसले प्रदेशबाट आएका योजनाहरुलाई कार्यान्वयन गराउने सवालमा ध्यानपूर्वक जान्छ । यस्तो हुन नदिने गरी जानु जरुरी छ । विशेषगरी प्रदेशले पाउनुपर्ने अधिकारलाई केन्द्र सरकारले गुजुल्ट्याएर बसिरहेको छ । अझ नेगेटिभ पनि जान कोशिस हुँदैछ । त्यो कुरालाई (नियन्त्रण) कन्ट्रोल गर्न जरुरी छ । होइन भने राष्ट्रिय समस्या समाधान समितिको बैठकमा म सहित प्रदेशका मुख्यमन्त्रीहरुले भन्यौँ ।
यदी चाहिँदैन भने यो संघीयता खारेज गरौँ । चाहिएको हो भने संविधानमा उल्लेख भए बमोजिमको कार्यान्वयन गरौँ । कार्य जिम्मेवारी तिनै तहलाई तोकिए बमोजिमको केन्द्र सरकारले बनाइदिनुपर्ने ऐनहरु थियो । संघीयता कार्यान्वयन भएपछिको अवस्था पाँच वर्षमा के छ ? राम्रोसँग अध्ययन गरेर हेरौँ । अहिले पनि ७६ प्रतिशत बजेट केन्द्र सरकारले खर्च गर्छ । २४ प्रतिशतमा स्थानीय तहले आधा, आधा प्रदेशले गर्छ । २४ प्रतिशतवालाले चाहीँ गरेन भनेर लाञ्छना लगाएर मात्रै हुन्छ ? अर्कोकुरा संघमा तोकिएका ठूला आयोजनाहरु त हेर्दै जानुहोस्, पाँच वर्ष यताका सबै आयोजनाहरु मुस्किलले २५ प्रतिशत खर्च भएको छ । बजेट नै खर्च हुँदैन ।
बजेट खर्च नहुने ठाउँमा ठूला ठूला आयोजना जसको डिपिआर बनेको छैन । जो ठेक्का लाग्ने अवस्था नै छैन । पैसा राख्ने । त्यो पैसा खर्च हुँदैन । हेर्दा त बजेटको भोल्युममा निकै ठूलो भयो । तर काम हुँदैन । जनताले त काम नभएको कुरा पो खोज्छ त । बजेटको रकम ठूलो प¥यो, परेन सँग के मतलव ? गाउँको सिचाइँ कुलो बन्यो बनेन ? रोड बन्यो बनेन ? गाउँको विद्यालय, कलेज बन्यो बनेन ? गाउँमा बिजुली बत्ति बल्यो कि बलेन ? पिउने पानीका धारा झ¥यो कि झरेन जनताले हेर्ने त्यो हो । बजेट कति प¥यो भनेर हेर्ने होइन । परेको कागजको बजेटले केही अर्थ लाग्दैन । यो कुरातिर हामीले ध्यान पु¥याउनुपर्छ ।
संघीयता बिरोधी शक्तिहरु चल्मलाउँदै छन्
सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग मेरो सम्पर्क भइरहन्छ । उहाँहरु सबैलाई तपाईहरु जहाँ रहनुहुन्छ, प्रदेश संघ अथवा बाहिरै रहनुहोला । तर पार्टीका नेताहरु त हुनुहुन्छ नि । म पनि संघमा आएको छु । यतिन्जेलसम्म गठबन्धन कसरी बनाउने, गठबन्धनलाई कसरी टिकाउने, गठबन्धनको सरकारलाई कसरी टिकाउने, आदि कुरा मात्रै हामी चिन्ता गथ्र्यांै भने अब कामको चिन्ता गरौँ । गठबन्धनको सरकार जतिदिन टिक्ला, टिक्ला । तर यो संघीयता कार्यान्वयनको सवालमा ध्यान दिउँ ।
संघीयतालाई राम्रो ढंगले लग्यौँ भने गठबन्धन सरकार पनि टिक्छ । संघीयतालाई राम्रोसँग ध्यान दिएर गएनौँ भने गठबन्धन सरकारको आयु पनि लामो हुँदैन र लामो नहुने मात्रै होइन । त्यो पछरिँदा नराम्रोसँग पछारिन्छ । त्यो उठ्नै नसक्नेगरी पछारिन्छ । त्यो पछारिने वातावरण बिस्तारै बन्दै गएको छ । बन्दै गएको त्यो वातावरणबाट शिक्षा लिनु जरुरी छ । अहिले संघीयता बिरोधी शक्तिहरु पनि चल्मलाइरहेका छन् ।
एक किसिमको प्रतिनिधि भएरै पनि आएका होलान् । कतिपय प्रदेश सरकारको भोट त हाल्दै हाल्दिनँ भन्ने मान्छेहरु पनि प्रतिनिधि सभामा आइपुगेका छन् । उनको रोल के हुन्छ ? हामी संघीयताको कार्यान्वयन गर्नको लागि ६५ वर्ष संविधान सभाबाट संविधान जारी गर्न हामीलाई समय लाग्यो । हजारौँ हजार मान्छेको रगतसँग साटेर ल्याएको हो यो संविधान । संविधान सँगसँगै आयो संघीयता । संघीयता अलग भएर आएन ।
गठबन्धनको सरकार बन्छ
मलाई के लाग्छ भने गठबन्धन दलका शिर्ष नेताहरु बसेर एक चरण गठबन्धनकै सरकार बनाएर जाने भनेर सहमती पनि गरेका छन् । उसको अर्को दलसँग गरेको सहकार्य सिद्धियो भन्ने खालको पनि उनीहरुले कुराकानी गरिसकेको देख्छु । त्यसकारण गठबन्धनको सरकार बनेर जान्छ भन्ने लाग्छ मलाई । त्यसबाहेक अन्यथा अहिले तत्काल भइहाल्छ जस्तो लाग्दैन । विशेष कुनै साह्रै ठूलो दुर्भाग्यपूर्ण घटना भयो भने मात्रै हो ।
नत्र त्यस्तो हुन्छ जस्तो लाग्दैन । मैले त्यस्तो वातावरण देखिरहेकै छैन । त्यसो हुनलाई सबैले त्यो स्वीकार गरेको खालको भाषाशैली, बोलि, व्यवहार मैले देखेको छैन । मैले भाषा नबुझेको हो कि ? मैले त्यस्तो देखेको छैन ।