काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो ।
चीनबाट आउने पर्यटकको संख्या भने उल्लेखनीय रूपमा बढेको छ । जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६१.०९ प्रतिशत बढी हो ।
पर्यटन बोर्डका अनुसार सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए । यस वर्षको आगमन कोभिडअघिको अवस्थाभन्दा ८.६५ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ ।
अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन् । त्यसपछि बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक आएका छन् ।
क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा धेरै २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको तुलनामा ११.९३ प्रतिशतले घटेको छ ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३.०५ प्रतिशतले बढी हो ।
यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन् ।
युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन् । अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।