काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हेलिकप्टरको चार्टर तथा उद्धार उडानको भाडादर बढाएको छ । नयाँ भाडादर आगामी असोज १ गते (१५ सेप्टेम्बर) देखि लागू हुनेछ ।
संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धि, सप्लाई चेनमा आएको अवरोध, युरोको विनिमय दरमा भएको उतारचढाव, स्पेयर पार्टपुर्जा, उड्डयनसम्बन्धी शुल्क तथा प्रशासनिक खर्च बढेकाले भाडा समायोजन गर्नुपरेको उल्लेख गरेको छ ।
संघका अनुसार नयाँ भाडादर नियमित आन्तरिक उडान, हेलिकोप्टर चार्टर तथा नेपाली नागरिकका लागि सहुलियतपूर्ण उद्धार उडानमा लागू हुनेछ । नयाँ दर असोज ३० गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ।
संघले सेवा सञ्चालनलाई निरन्तर, सुरक्षित र प्रभावकारी बनाउन लागतअनुसार भाडा समायोजन गरिएको जनाएको छ । साथै यात्रुलाई नयाँ भाडादरबारे जानकारी राखेर यात्रा योजना बनाउन पनि आग्रह गरेको छ ।
संघले सार्वजनिक गरेको नयाँ दरअनुसार विभिन्न हिमाली तथा दुर्गम गन्तव्यका हेलिकोप्टर चार्टर शुल्क पुनःनिर्धारण गरिएको छ । काठमाडौं–लुक्ला चार्टरको नयाँ दर ३ हजार अमेरिकी डलर, काठमाडौं–एभरेष्ट आधार शिविर (ईबीसी) ४ हजार ६ सयदेखि ५ हजार ३ सय अमेरिकी डलर तथा काठमाडौं–सिमिकोट १२ हजार अमेरिकी डलर कायम गरिएको छ ।
त्यस्तै, पोखराबाट अन्नपूर्ण आधार शिविर (एबीसी) सम्मको चार्टर शुल्क २ हजारदेखि २ हजार ५ सय अमेरिकी डलर तोकिएको छ भने जोमसोम, मुक्तिनाथ, मनाङ, डोल्पा, मुस्ताङ, कञ्चनजंघा, मकालु लगायतका गन्तव्यका दर पनि अद्यावधिक गरिएको छ ।
नेपाली नागरिकका लागि उद्धार उडान (रेस्क्यु) को छुट्टै भाडादर पनि सार्वजनिक गरिएको छ । नयाँ दरअनुसार काठमाडौंभित्र उद्धार उडानको शुल्क १ लाख २८ हजार रुपैयाँ कायम गरिएको छ भने पोखराका लागि ३ लाख ८२ हजार रुपैयाँ, भरतपुरका लागि २ लाख ५५ हजार रुपैयाँ तथा धनगढीका लागि १३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
संघका अनुसार नयाँ भाडादरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएको छ । साथै इन्धनको मूल्य र अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दरमा हुने उतारचढावका आधारमा शुल्कमा थप समायोजन हुन सक्ने उल्लेख गरिएको छ ।