काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा बर्खायाममा दोहोरिने डुबानको मुख्य कारण ढल निकास प्रणालीको क्षमता नमिल्नु रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ ।
साउन १५ गते काठमाडौं महानगरपालिकाको नेतृत्वमा सरकारी निकायका प्राविधिक टोलीले जमल क्षेत्रमा स्थलगत अध्ययन गरेको थियो । अध्ययनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र स्थानीयबासी सहभागी थिए ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबानको वास्तविक कारण पहिचान गरी समाधानको उपायसहित प्रतिवेदन तयार गर्न निर्देशन दिएपछि टोली स्थलगत अध्ययनमा पुगेको हो ।
अध्ययनका क्रममा ज्याठा, निर्वाचन आयोग, येल्लो प्यागोडा र जनप्रशासन क्याम्पसतर्फबाट आउने गरी कुल २१५ सेन्टिमिटर व्यासका ढल प्रणालीको पानी जमलमा जम्मा हुने देखिएको छ । तर, उक्त पानीको निकास भने ६० सेन्टिमिटर व्यासको एउटा मात्र पाइपबाट हुने भएकाले डुबान हुने निष्कर्ष निकालिएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार २१५ सेन्टिमिटरभन्दा बढी क्षमताको पानी ६० सेन्टिमिटरको पाइपबाट एकैपटक निकास हुन नसक्दा पानी सडकमै जम्ने गरेको हो ।
प्राविधिकहरूले ढलभित्र फोहोर वा अन्य अवरोध नभेटिएको पनि बताएका छन् । जमलदेखि टुकुचासम्मको ढल प्रणाली निरीक्षण गर्दा ढल सफा रहेको देखिए पनि त्यसमा अन्य स्थानको ढल मिसाइएकाले निकास प्रक्रिया प्रभावित भएको पाइएको छ ।
स्थानीय ७० वर्षीय पुरुषोत्तम श्रेष्ठका अनुसार पहिले जमलको पानी छुट्टै ढलमार्फत निकास हुने व्यवस्था थियो । तर, पछि अन्य क्षेत्रको ढल पनि यही प्रणालीमा जोडिएपछि डुबान फेरि दोहोरिन थालेको हो ।
स्थानीय चित्राशोभा तुलाधरले पनि दरबारमार्ग क्षेत्रमा वर्षा हुँदा ढलको पानी माथिसम्म उछिट्टिने र ढकनसमेत उठ्ने अवस्था देखिने बताइन् ।

महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले काठमाडौंका धेरै स्थानमा डुबान हुनुको मुख्य कारण ढल सफाइको अभाव नभई माथिल्लो र तल्लो भागको ढल निकास क्षमताबीचको असन्तुलन रहेको बताए ।
उनका अनुसार माइतीघर मण्डलापछि अब जमल र दरबारमार्ग क्षेत्रको पनि विस्तृत प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानका उपाय अघि बढाइनेछ ।