गुणस्तर परिषद्को बैठकमा उद्योगमन्त्री यादवसहितको सहभागिता, विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको छ ।

बैठकमा नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिहरूबाट सिफारिस भई आएका विभिन्न नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

बैठकले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यकतासम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

त्यस्तै, रबरको कठोरता परीक्षणसँग सम्बन्धित ISO 48-1:2018 र ISO 48-2:2018, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी ISO 188:2023 लगायतका अन्तर्राष्ट्रिय मापदण्डहरू पनि बैठकमा स्वीकृत भएका छन् ।

यसैगरी, रबर तथा थर्मोप्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी ISO 815-1:2019 र ISO 815-2:2019 मापदण्डलाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।

गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यले परिषद्को बैठक महत्वपूर्ण मानिएको छ । 

स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर सुधार, परीक्षण प्रणालीको प्रभावकारिता र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सहभागितामा सम्पन्न बैठकले गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णय गरेको छ ।

Share News