काठमाडौंमा बन्दैछन् सुविधा सम्पन्न ११ पार्क, एउटाको लागत १ करोडसम्म

<p>काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ । आयुक्त कार्यालयले जिल्लाका पालिकाहरूसँग साझेदारी गरेर पार्क निर्माण गर्ने योजना बनाएको हो । पालिका भित्रका सार्वजनिक जग्गामा संरक्षण गरी पार्क निर्माण गर्ने योजना बनाएको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर राजिव श्रेष्ठले बताए । आयुक्तको कार्यालय काठमाडौंले केही [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ । आयुक्त कार्यालयले जिल्लाका पालिकाहरूसँग साझेदारी गरेर पार्क निर्माण गर्ने योजना बनाएको हो ।

पालिका भित्रका सार्वजनिक जग्गामा संरक्षण गरी पार्क निर्माण गर्ने योजना बनाएको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर राजिव श्रेष्ठले बताए । आयुक्तको कार्यालय काठमाडौंले केही दिनअघि मात्र पार्क निर्माण गर्ने इच्छुक पालिकाहरूलाई प्रस्तावको आव्हान गरेको थियो ।

इञ्जिनियर श्रेष्ठका अनुसार आयुक्त कार्यालय काठमाडौंले ११ वटा पालिकामा पार्क बनाउनको लागि पत्राचार गरेको छ । जिल्ला कार्यालयले काम हनु नसकेको आयोजनाको बजेटलाई संशोधन गरी पार्क बनाउने लक्ष्य लिएको हो ।

आयुक्त कार्यालयले अहिले नगरपालिकाबाट आएको विवरण संकलन गर्नतर्फ लागेको छ । नगरपालिकाहरूबाट सम्पूर्ण विवरण आएपछि बनाउने ठाउँको अनुगमन गरी बजेट छुट्याउने योजना रहेको पनि श्रेष्ठले बताए ।

तीव्र जनसंख्या वृद्धि तथा शहरीकरणका कारण शहरी क्षेत्रमा खुल्ला स्थलहरूको अभाव देखिएको र भएका सार्वजनीन जग्गाहरूको उचित व्यवस्थापन भएको नदेखिएकाले काठमाडौं जिल्लामा रहेका प्रत्येक नगरपालिकाहरूको न्यूनतम एक स्थानमा पार्क निर्माण गर्ने योजना बमोजिम जिल्ला आयुक्त कार्यालय काठमाडौंले पालिकामा पठाएको थियो ।

श्रेष्ठका अनुसार नगरपालिकाका घनावस्ती नजिक रहेका र अधिकतम जनताले उपयोग गर्न मिल्ने स्थानमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी खुल्ला ठाउँमा पार्क बनाइनेछ । पार्क निर्माण गर्नको लागि आयुक्त कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका, कीर्तिपुर, तारकेश्वर, चन्द्रागिरी, नागार्जुन, शंखरापुर, दक्षिणकाली, गोकर्णेश्वर, बुढानिलकण्ठ र टोखा नगरपालिकालाई पत्राचार गरेको छ ।
पार्क निमार्णको गर्न चाहने इच्छुक पालिकाले प्रस्ताव पेश गर्न सक्ने पनि श्रेष्ठले बताए । उनका अनुसार पार्क अनुसार फरक–फरक सेवा सुविधा हुनेछन् । पार्कमा चौतारा, बाल खेल मैदान, बगैँचा, योगा, व्यायाम, हिँड्ने ठाउँ लगायतका भौतिक संरचनाहरू निर्माण हुनेछन् ।

‘शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ, मान्छेलाई मनोरञ्जन नभई नहुने आवश्यकता हो, कार्यालय, बैठक, काम अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन, त्यसैले पार्क निर्माण अवधारण ल्याएको हौं,’ उनले भने ।

एक वटा पार्क निर्माणको लागि ५० देखि एक करोड रुपैयाँ बजेट राख्ने योजना रहेको पनि श्रेष्ठले बताए । पार्क निर्माण सुरु भएको एक वर्ष भित्रमा सम्पन्न लक्ष्य छ ।

‘हामीले थोरै बजेटमा आकर्षक पार्क बनाउन खोजेका हौं, अहिले विभिन्न पालिकाहरूले पार्कको विषय बुझिरहनु भएको छ, केही पालिकाले विवरण पनि पेश गरिसक्नु भएको छ, विवरण पेश भएको ठाउँको अनुगम गर्ने पार्क निर्माणको काम अगाडि सर्छौं,’ उनले विकासन्युजसँग भने । हालसम्म शंखरापुर नगरपालिकाले मात्रै पार्क बनाउनका लागि आशय पत्र पेश गरेको छ ।

Share News