काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेको बेला कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ब्याजदर बढाएको छ । दुवै संस्थाले आफ्नो सञ्चकर्ता अर्थात् बचतकर्ताबाट जम्मा हुने रकममा ब्याज बढाएका हुन् । बढेको ब्याज साउन १ गतेदेखि लागू हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप बढाउनकै लागि संस्थागत निक्षेपको ब्याजदर बढाएसँगै नागरिक लगानीकोष र कर्मचारी सञ्चय कोषले पनि आफ्ना बचतकर्तालाई दिने ब्याज बढाएको हो । बैंक तथा वित्तीय संस्थाहरुका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष संस्थागत निक्षेपकर्ता हुन् ।
अहिले यी र यस्तै निक्षेपकर्ताको निक्षेप तान्नका लागि बैंकहरुले लविङ गरिरहेका छन् । सञ्चय कोष र नागरिक लगानीकोषले बोलकबोलका आधारमा बैंकमा निक्षेप राख्ने व्यवस्था छ । अहिले बैंकहले संस्थागत निक्षेपकर्तालाई १०.१३ प्रतिशत ब्याज तोकेको भएपनि आन्तरिक रूपमा भने बढी नै ब्याजको मोलमोलाइ भइरहेको पनि सुनिन्छ ।
कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई सञ्चय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत तोकेको छ । यस्तै, सञ्चयकर्ताको विशेष सापटीमा ९.१० प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १०.३५ प्रतिशत ब्याज तोकेको छ ।
धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशत छुट दिने ब्यवस्था पनि सञ्चय कोषले गरेको छ ।
यस्तै, नागरिक लगानी कोष (सिआईटी)ले संचालन गरिरहेको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमको ब्याजदर पनि बढेको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी सो कार्यक्रमको ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएको हो ।
कोषले संचालन गरिरहेको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानेर प्रदान गरिने कोषले जनाएको छ ।
उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।
यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।
सम्बन्धित सामग्री : नीतिगत ‘लुपहोल’ खोज्दै संस्थागत निक्षेपकर्तालाई ११.०३% ब्याज, ‘बैंक टु बैंक’ पुगेर सम्झाउँदै राष्ट्र बैंक