काठमाडौं । हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा छन् । नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने बताएपछि दुवै बैंक गाभ्ने तथा गाभिनका लागि हतार गर्दै सम्झौता गर्ने अन्तिम चरणमा छन् ।
मर्जर सम्झौतालाई अन्तिम रूप दिनका लागि आज दुवै बैंकको बोर्ड बैठक छ । स्रोतका अनुसार अहिले हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ भने हिमालयन बोर्ड बैठक लगत्तै सिभिल बैंकको बैठक बस्नेछ ।
दुवै बैंकको बोर्ड बैठक आजै सम्भव भएमा भोलि (शुक्रबार) नै मर्जरको सम्झौता गर्ने तयारी भइरहेको बैंक स्रोतका भनाइ छ ।
‘अहिले हिमालयन बैंकको बोर्डको बैठक बसिरहेको छ, उनीहरूले के निर्णय गर्छन्, सोही आधारमा सिभिल बैंकले पनि निर्णय गर्छ, अहिले सम्म सबै विषयमा कुरा मिलेको छ, सकेसम्म भोलि नै मर्जर सम्झौता गर्ने कुरा भइरहेको छ,’ सिभिल बैंक स्रोतले भन्यो ।
स्रोतका अनुसार दुई बैंकबीच अहिलेसम्म १००ः८१ स्वाप रेसियोमा कुरा मिलेको छ । यसको मतलब सिभिल बैंकमा १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा गाभिएपछि ८१ कित्ता सेयर पाउनेछन् ।
हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिलको ९ अर्ब ७ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी साढे २१ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने स्रोतको भनाइ छ ।
यस्तै, बैंकको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणा बन्नेछन् । नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल बन्नेछन् ।
यस्तै, कर्मचारीको पद तथा हैसियत भने बराबर हुने बुझिएको छ । स्रोतका अनुसार सिभिललाई ८१ रूपैयाँको स्वाप रेसियो दिएपछि सञ्चालकमा पनि दाबी नगर्ने अडान बताउँदै आएको छ ।