काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनेको संख्या ३२ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतसम्ममा ३२ लाख ४७ हजार २७६ जनाले लघुवित्तबाट कर्जा लिएका छन् ।
जसमध्ये अधिकांश महिला रहेका छन् । राष्ट्र बैकका अनुसार ऋण लिनमध्ये ३१ लाख ५४ हजार ४७२ जना महिला रहेका छन् भने ९२ हजार ८०३ जना पुरुष रहेका छन् ।
कूल ६३ वटा लघुवित्तमध्ये छिमेक लघुवित्तबाट ऋण लिनको संख्या बढी छ । बैंकको तथ्यांकअनुसार छिमेक लघुवित्त वित्तीय संस्थाबाट २ लाख ५६ हजारले ऋण लिएका छन् । त्यस्तै, दोश्रोमा निर्धन उत्थान लघुवित्तबाट २ लाख ३५ हजारले र तेश्रोमा जीवन विकास लघुवित्तबाट २ लाख १४ हजारले विभिन्न प्रयोजनको लागि ऋण लिएका छन् ।
लघुवित्तका कूल सदस्यमध्ये ७७.७५ प्रतिशतले मात्रै ऋण लिएका छन् । राष्ट्र बैंकका अनुसार हाल लघुवित्तमा ५७ लाख ७३ हजार १५५ जना सदस्य आवद्ध छन् । जसमा १ लाख ६० हजार पुरुष छन् भने बाँकी ५६ लाख ११ हजार जना महिला हुन् ।
सदस्य संख्याको आधारमा पनि सबैभन्दा बढी निर्धन उत्थानकै छन् । हालसम्म निर्धन उत्थानमा ३ लाख ९४ हजार १४० जना सदस्य छन् ।
त्यस्तै, बढी सदस्य संख्या हुनेको दोश्रोमा जीवन विकास लघुवित्त रहेको छ । जीवन विकासमा हाल ३ लाख २९ हजार २९९ जना सदस्य आवद्ध छन् । जसमध्ये ३ लाख २६ हजार १७६ जना महिला छन् भने बाँकी सबै पुरुष हुन् ।
राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक रुपमा कमजोर भएका एवम् थोरै थोरै ऋण लिएर उद्यमशीलता गर्न चाहानेहरुलाई ऋण उपलब्ध गराउँदै आएका छन् । उनीहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिनाधितो कर्जा उपलब्ध गराउँदै आइरहेका छन् । उनीहरुले साधारण कर्जा, कृषि कर्जा, लघु उद्यम कर्जा, उर्जा कर्जा, वैदेशिक रोजगार कर्जा, शैक्षिक कर्जा लगायतका कर्जाहरु उपलब्ध गराउँदै आएका छन् । यीमध्ये सबैभन्दा बढी आर्कषण कृषि कर्जामा देखिन्छ ।
कसले कतिलाई दिए ऋण ?
[pdf id=336834]