काठमाडौं । इन्टरनेशनल मनी ट्रान्सफर (आइएमई)ले आफ्नो २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । आइतबार आइएमईले काठमाडौंमा एक कार्यक्रमकाे आयाेजना गरी आफ्नो २२ औं वार्षिकोत्सव मनायो ।
आइएमईको वार्षिकोत्सवमा अर्थमन्त्रीदेखि मुख्यसचिव लगायत विभिन्न मन्त्रालयका सचिव, उद्योगी, व्यवसायी र कर्मचारीलगायत धेरै क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कम्पनीको कार्यक्रमको अध्यक्ष आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल रहेका थिए ।
यतिबेला आईएमई लामो समयदेखि नेपालको सबैभन्दा ठूलो मनी ट्रान्सफरको रुपमा रहँदै आएको छ । आइएमईले आफ्नो स्थापनादेखि अहिलेसम्म मुलुकमा झण्डै २० खर्ब भन्दा धेरै रेमिट्यान्स भित्र्याएको अनुमान गरेकाे छ । हजारौं नेपाली नागरिकलाई रोजगारी दिएको छ ।
तर, आइएमईको वर्तमान स्वरुपको पछाडि ठूलो संघर्ष, निरन्तरता, इमान्दारिता र विश्वास सहित मेहनतको इतिहास रहेको छ । आज कम्पनीको २२औं वार्षिकोत्सवमा आफ्नो धारणा राख्ने क्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आइएमईको स्थापनाको सन्दर्भ कोट्याउँदै सो कुरा बताए ।
‘आजभन्दा २२ वर्ष अगाडि त्यतिबेला हामीले ४ जना सँगै बस्ने खाने एउटा खाट भएको कोठालाई नै आइएमईको अफिस बनाएर मलेसियाबाट यो व्यवसायको शुरुवात गरेका थियौं, त्यतिबेला यो व्यवसायलाई अगाडि बढाउने सन्दर्भमा हरेक किसिमको अप्ठ्यारो थियो,’ ढकालले विगत स्मरण गर्दै भने, ‘मान्छेहरुलाई याे व्यवसायको दिगोपनाको विषयमा विश्वास थिएन तर, हामीले त्यतिखेरै वैधाधिक ढंगले वार्षिक रुपमा २० लाख डलर मुलुक भित्र्याउन सक्ने घोषणा गरेका थियाैं ।’
ढकालले यसरी सुनाए आइएमईको विगत
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।
तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पु¥याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ ।
व्यवसायमा स्थायित्व, कर मार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ । आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको छ ।
नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रडी भूमिका निर्वाह गर्दै आइरहेको छ । राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ/संस्थाबाट सम्मानित भइसकेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् ।
आइएमईको स्थापनापछि औपचारिक संजालमार्फत आप्रवाह हुने रेमिटेन्सको मात्रा ह्यवत्तै बढेको देखिन्छ । रेमिटेन्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तै- भुकम्प नाकाबन्दी जस्ता समयमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । रेमिटेन्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको संचितिको मुख्य श्रोत पनि हो । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिइरहेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले ढकालहरुको नेतृत्वको आइएमईले नेपालमा रेमिट्यान्सको हाइवे बनाएको बताउँछन् । वार्षिकोत्सवमा शुभकामना दिँदै गुरुङले आइएमईले रेमिट्यान्सको क्षेत्रमा हाइवे निर्माण गरेपछि अहिले ५० औं कम्पनीले सो क्षेत्रमा काम गरिरहेको बताए । नेपालले संसारलाई दिनसकेको मध्ये आइएमई एउटा मोडेल भएको भन्दै यसलाई विश्व बैंकले पनि सकारात्मक उदेश्यकासाथ मनिटररिङ गरिरहेको डा. गुरुङले बताए ।
नेपालले संसारलाई दिनसकेको मध्ये आईएमई मोडेल एक भएको उनकाे भनाइ थियाे । आईएमईलाई वर्ल्ड बैंकले पनि मनिटरिङ गरिरहेको उनले बताए । गुरुङ्ले आफुले आइएमईलाई प्रसव बेदनादेखि नै चिन्दै आएको बताउँदै आफु नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्ष अघि आइएमई स्थापना गरेको उल्लेख गरे ।
एक प्रसंगमा डा. गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र वहाँहरुले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ०५७/५८ सम्म नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको रेकर्ड नराखेको बताएका छन् । नेपालमा मनी ट्रान्सफर गर्ने कामका लागि निजी क्षेत्रलाई राष्ट्र बैंकले स्विकृति पनि दिएको थिएन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालका अनुसार नेपाल सरकारले अहिले विश्वका १ सय ११ वटा मुलुकसँग श्रम सम्झौता गरेको छ । अहिले रेमिट्यान्सको ५७ प्रतिशत हिस्सा आम जनताको घर–घरमा पुगेको र सो का लागि आइएमईको भूमिका महत्वपूर्ण रहेको सचिव अर्यालको भनाइ छ । सोही सन्दर्भलाई सम्झँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपाल राष्ट्र बैंकले मनी ट्रान्सफरको लागि निजी क्षेत्रलाई लाइसेन्स दिने त्यतिबेलाको निर्णय एतिहासिक भएको बताए ।
त्यस्तै, वार्षिकोत्वसवको अवसरमा शुभकामना मन्तव्य राख्दै अर्थसचिव मधुकुमार मरासिनीले पनि आइएमईले नेपालमा आइएमई संस्कृतिको विकास गरेको बताएका छन् । त्यसले मानिसलाई स्मार्ट बनाएको उनको भनाइ छ ।
अहिले आइएमईले वार्षिक रुपमा औसत १ खर्ब नेपाली रुपैयाँ रेमिट्यान्समार्फत भित्र्याउने गरेको ढकालको भनाइ छ । ‘यकिन फिगर त तलमाथि होला, तर स्थापनादेखि हालसम्म हामीले झण्डै २० खर्ब नेपाली रुपैयाँ बराबरको रेमिट्यास भित्र्याएका छौं,’ ढकालले मन्तव्यको क्रममा भने । ‘कम्पनीको विगतको अवस्थाबाट यहाँसम्म ल्याइपुर्याउन भूमिका निर्वाह गर्ने नेपाल राष्ट्र बैंक र इन्टायर टिमलाई धन्यबाद दिन चाहन्छु,’ ढकालले भने ।
आइएमई ग्रुपले एनआरनएसँग मिलेर चन्द्रागीरी केवलकार र २७ मेगावाटको हाइड्रोपावर निर्माण गरेको ढकालले सुनाए । अझै पनि धेरै काम गर्ने इच्छा आफुहरुको रहेको उनले बताए । ‘हामीले अहिले ४०/५० हजारलाई रोजगारी दिएका छौं, मेरो विचारमा यो कुनै सानो कुरा होइन,’ ढकालले भने । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट कार्यान्वयन गर्न सकेमा मुलुकमा ठूलो परिवर्तन हुन सक्ने र त्यसको लागि आफुहरुले पनि आवश्यक योगदान गर्न तयार रहेको उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफु जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफुलाई खुशी लागेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी संचालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमुना भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसंगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पु¥याउन एउटा माध्यम चाहिएको थियो ।
आफ्नो दुःखले आर्जित रकमसंग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ । त्यही सपनालाइ बास्तविकतामा परिणत गर्न, खुसीलाइ यथार्थमा बदल्न र विश्वासलाइ सार्थक तुल्याउन आजभन्दा २२ वर्ष अघि आजकै दिन आइएमईको जन्म भएको बताए ।
आइएमई ग्रुपले आगामी दिनमा थप क्षेत्रहरुमा लगानी गर्ने योजनालाई पनि अनुसन्धान गरिरहेको छ । आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोख्रेलले आफुहरुले रेमिट्यान्सलाई बीमासँग कसरी जोड्न सकिन्छ भनेर पनि काम गरिरहेको बताएका छन् ।
हुण्डी कारोबारको ठाउँमा आइएमई स्थापना गर्ने कुरा पक्कै चुनौतीपूर्ण थियो – अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आजभन्दा २२ वर्ष अगाडि हुन्डी कारोबार चलिरहेको समयमा आइएमई सञ्चालनको शुरुवात गर्ने कुरा आँफैमा चुनौतीपूर्ण काम भएको बताए । साे कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका अर्थमन्त्री शर्माले आइएमई देश, जनता र स्वयं व्यवसायको पक्षमा भएको धारणा राखेका हुन् ।
रेमिट्यान्सले परिवारको लालनपालन, स्वास्थ्य र शिक्षामा खर्च गर्न सहयोग गरेको र संकट पर्दा आइएमईको माध्यमबाट सहज ढंगले हातमा पैसा प्राप्त हुने अवस्था रहेको मन्त्री शर्माकाे भनाइ छ ।
आइएमईले राष्ट्रिय पहिचान प्राप्त गरेर विदेशी मुद्रा ल्याउन महत्वपूर्ण याेगदान गरेकाे उनले बताए । बजेटले रेमिट्यान्सलाई ल्याउने मात्रै नभएर मुलुकमा भएको प्राकृतिक स्रोतलाई उत्खनन्, उत्पादन र निर्यातमार्फत् वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य बोकेको उनको भनाई छ ।
अहिले पनि अनौपचारिक ढंगले ठुलो मात्रामा रेमिट्यान्स आउने गरेको, कोरियाबाट जम्मा २५ प्रतिशत रेमिट्यान्स मात्रै वैधानिक रुपमा नेपाल आउने गरेको मन्त्री शर्माले बताएका छन् । आइएमई ग्रुपले धेरै क्षेत्रमा काम गरेको अझैपनि रेमिट्यान्सलाई औपचारिक रुपमा ल्याउनको लागि थप पहलको आवश्यकता रहेको बताउँदै उनले आइएमईको थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।