काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचको मर्जर ‘हतारको काम लतार पतार’ जस्तै भएको छ । दुबै बैंक संचालक समितिले मर्जरको लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपनि तयारी पूरा र गम्भीरताको साथ काम नगरिएको हो कि भन्ने संकेत मिलेको छ ।
दुबै बैंकबीचको मर्जर हतारहतारमा गरिएको एमओयुपछि जारी गरिएको प्रेस विज्ञप्तिले देखाएको छ । प्रेस विज्ञप्तिमा उल्लेख गरिएको तथ्यांक नै फरक परेपछि यस्तो शंका गर्ने ठाउँ मिलेको हो ।
‘हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी रु १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी रु १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ,’ मर्जरको प्रारम्भिक एमओयुपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
तर, मेगा बैंक संचालक समिति अध्यक्ष भोजबहादुर शाहले विकास न्युजसँग कुरा गर्दै स्वाप रेसियो १००ः९० हुने बताए । अर्थात मेगा बैंकको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९० कित्ता सेयर पाउने छन् ।

स्वाप रेसियो १००ः९० हुने हो भने चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुँदैन । चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुनको लागि दुबै स्वाप रेसियो १००ः१०० नै हुनुपर्छ । र, स्वाप रेसियो १००ः९० हुने हो भने मर्जरपछि बैंकको चुक्ता पुँजी ३२.८१ अर्ब रुपैयाँ हुनेछ ।