बैशाखसम्मको देशको आर्थिक अवस्थाः मूल्यबृद्धि ८ प्रतिशत, शोधनान्तर घाटा ३ खर्ब

<p>काठमाडौं । गत वैशाख महिनासम्मको तथ्यांकले देशको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको देखाएका छन् । वैशाखसम्मको तथ्यांक अनुसार मूल्य बृद्धि बढेको छ । शोधनान्तर स्थिति (देशमा भित्र ने वाहिरिने विदेशी मुद्राको हिसाव) थप नोक्सानीमा छ भने व्यापार घाटा बढ्दै गएको छ । नेपालमा भएको विदेशी मुद्रा संचितिले साढे ६ महिनाको लागि मात्रै वस्तु तथा [&hellip;]</p>

काठमाडौं । गत वैशाख महिनासम्मको तथ्यांकले देशको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको देखाएका छन् ।

वैशाखसम्मको तथ्यांक अनुसार मूल्य बृद्धि बढेको छ । शोधनान्तर स्थिति (देशमा भित्र ने वाहिरिने विदेशी मुद्राको हिसाव) थप नोक्सानीमा छ भने व्यापार घाटा बढ्दै गएको छ । नेपालमा भएको विदेशी मुद्रा संचितिले साढे ६ महिनाको लागि मात्रै वस्तु तथा सेवा आयात गर्न पुग्ने अवस्था छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत छ । यो भनेको मूल्यबृद्धि हो । अघिल्लो वर्षको वैशाखमा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत थियो ।

गत वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत छ । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ५.८४ प्रतिशत रहेको छ ।

गत वैशाख महिनासम्ममा कुल वस्तु निर्यात ५९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२.९ प्रतिशत र २५.६ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २४.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

वैशाखसम्मकै कुल वस्तु आयात २८ प्रतिशतले बढेर १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२.० प्रतिशत, २३.८ प्रतिशत र ४९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एमएसविलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

रेमिटान्स ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको आएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।

गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ ।

Share News