काठमाडौं । सरकारले बीमा शब्द जोडिएको भुक्तानी रोकेर राख्ने नियत देखाएको छ । कोरोना बीमाको ११ अर्ब रुपैयाँभन्दा भुक्तानी नगरेर बीमा क्षेत्रलाई बद्नाम गराइरहेको सरकारले स्वास्थ्य बीमाको करिब ६ अर्ब रुपैयाँ दाबी भुक्तानी रोकेर राखेको हो ।
अर्थ मन्त्रालय अन्तरगतको स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने करिब ६ लाख रुपैयाँ बक्यौता रहेको छ । यस्तो रकम भुक्तानीको लागि अर्थमन्त्रालयसँग थप रकम माग गरिएको बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली बताउँछन् ।
‘सेवा प्रदायकले भुक्तानी पाउँ भन्दै गरेको दाबी करिब ६ अर्ब रुपैयाँ बक्यौता छ, यो रकम यो वर्षको मात्र नभइ विगतदेखिकै बक्यौता हो, आएको दाबी रकमको रुजु गरिरहेका छौं, भुक्तानीको लागि हामीसँग भएको बजेटले नपुग हुने देखिएकोले थप ३ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिरहेका छौं,’ प्रवक्ता ज्ञवालीले भने ।
उनका अनुसार अर्थ मन्त्रालयसँग माग गरिएको ३ अर्ब रुपैयाँमध्ये १ अर्ब रुपैयाँ अर्थले निकास दिइसकेको छ । बोर्डले गत वर्षदेखि रोकिएको र यसवर्षको पनि रकम गरेर चालु आर्थिक वर्षमा मात्रै ८ अर्ब १२ करोड रुपैयाँ भुक्तानी दिइसकेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
सरकारले कोरोना संक्रमितलाई दाबी भुक्तानी दिने भन्दै सुरु गरिएको कोरोना बीमाको रकम पनि सरकारले भुक्तानी नदिदा लामो समयदेखि विमितले रकम पाउन सकेका छैनन् । सरकारको भागमा पर्ने ११ अर्ब ४३ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी रोकिएको छ ।
तर, स्वास्थ्य बीमाको रकम भने बिमितले पाउन रोकिएको होइन । स्वास्थ्य बीमा गराएका व्यक्तिहरुले तोकिएको शर्त बमोजिमको स्वास्थ्य संस्थामा गएर उपचार गराउँदाको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी दिने गरी सम्झौता हुने गरेको छ । तर, अस्पतालहरुले उपचार गराएको लामो समयसम्म पनि आफूले पाउनु पर्ने रकम स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी पाउन नसकेका हुन् । यस्ता सेवा प्रदायकले दाबी गरे बराबरकै रकम पाउन सक्ने नसक्ने जस्ता विषयको रुजु गरेर मात्रै भुक्तानी गर्ने गरिएकोले समय लाग्ने गरको बोर्डका प्रवक्ता ज्ञवालीले बताए ।
सेवा प्रदायकले गरेको दाबी रकम बोर्डले रुजु गर्दा फरक परेको तथ्यांकले पनि देखाएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा परेको दाबी ५ अर्ब ११ करोड रुकमको रुजु गर्दा २८ करोड रुपैयाँ फरक परेको थियो ।

बोर्ड आफैले पनि सरकारले दिए अनुसारको बजेट खर्च गर्न सकेको छैन । सरकारले आर्थिक वर्ष २०७१/७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । अहिलेसम्म सरकारले २० अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि जम्मा १६ अर्ब १६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।
गत आर्थिक वर्षसम्ममा ४५ लाख ६२ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको बोर्डले जानकारी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रम अहिले देशभरका ७५ जिल्लामा पुगेको छ ।

सरकारले अहिले सामान्य बिमित र लक्षित वर्ग भनेर दुई प्रकारको स्वास्थ्य बीमा गराउँदै आएको छ । सामान्य विमितसँग रकम लिने गरेको छ भने अन्य ६ प्रकारका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरेको छ । सरकारले निःशुल्क स्वास्थय बीमा गरिदिनेहरुमा महिला स्वास्थ्य स्वयम् सेविका, एमडीआर टिवी संक्रमित, एचआईभी÷एड्स संक्रमित, कुष्ठरोगी, पूर्ण अशक्त, जेष्ठ नागरिक र अतिगरिब हुन् ।