काठमाडौं । नेपालमा मनसुन शुरु हुने बेला भएको छ । सोसँगै कृषि क्षेत्रको मुख्य बाली धानखेतीको पनि शुरुवात गर्ने बेला भएको छ ।
किसानले रोप्नको लागि धानको बेर्ना तयार गरिरहेका छन् । तर, बिडम्बना विगतमा जस्तै यसपटक पनि धान रोप्ने बेलामा रासायनिक मल हाहाकार छ ।
चालु मौसममा नै पहाडी क्षेत्रमा मकैखेतीको लागि आवश्कता अनुसार युरिया मल पाइएन । अहिले देशैभरीबाट किसानहरुलाई रासायनिक मलको अभाव भन्ने समाचार दिनहुँ आइरहेका छन् । जसकारणले किसानलाई यसपटक पनि विगतमा झैं रासायनिक मलको कारणले मानसिक तनाव शुरु भैसकेको छ ।
चालु आर्थिक वर्षमा रासायनिक मलको मुख्य आपूर्तिकर्ता निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले टेण्डर आह्वान गरेजति रासायनिक मलको आपूर्ति गर्न सकेनन् । समयमा नै आवश्यकता अनुसारको रासायनिक मल आपूर्ति हुन नसक्नुमा महामारी र विकसित अन्तर्राष्ट्रिय परिस्थिति भएको तालुकदार मन्त्रालयको तर्क छ ।
त्यस्तै आवश्यकता अनुसारको मल समयमा आपूर्ति हुन नसक्नुमा मूल्य वृद्धि, कोभिड महामारीको असर र अन्य अन्तर्राष्ट्रिय परिस्थिति भएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको तर्क छ ।
चालु आर्थिक वर्षमा पर्याप्त मल आपूर्ति हुन सकेन
चालु आर्थिक वर्षमा आवश्यकता अनुसार मात्रै नभएर टेण्डर आह्वान मार्फत सम्झौता गरिएको मल समेत आयात हुन सकेन् । चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख १ हजार ८ सय ५४ मेट्रिक टन युरिया बिक्री गरिसकेको छ ।
अहिले कम्पनीसँग १० हजार टन डिएपी स्टक छ । अहिले कम्पनीसँग ४० हजार मेट्रिक टन डिएपी मल पाइप लाइनमा छ । सो मल आयातकर्ताले असार १५ सम्म मात्रै आपूर्ति गर्ने कुरा भएको कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्याय बताउँछन् ।
त्यस्तै युरिया पनि ३० हजार मेट्रिक टन पाइप लाइनमा रहेको उनले बताए । अहिले डिएपी र पोटास बिक्री भइरहेको कम्पनीले जनाएको छ । पछिल्लो समयमा उत्तरी नाकाबाट कम्पनीले केही मात्रामा युरिया आयात गरेको थियो । त्यो बिक्री भएर सकिन लागिसकेको छ ।
चालु आर्थिक वर्षमा साल्ट ट्रेडिङ कर्पोरेसनले १ लाख मेट्रिक टन मल खरिद गर्ने भनिएकोमा अहिलेसम्म २५ हजार मेट्रिक टन खरिद गरेर बिक्री गरिसकेको र बाँकी आपूर्तिकै प्रकृयामा रहेको जनाइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले टेण्डर प्रकृयाबाट आह्वान गरेको २० हजार मेट्रिक टन डिएपी मल कलकत्तामा रहेको र वीरगञ्जबाट प्रवेश गर्ने प्रकृयामा रहेको सो कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताएका छन् । २२ हजार मेट्रिक टन युरिया पनि खरिदको प्रकृयामा अगाडि बढेको र आपूर्तिकर्ताले आगामी १२ देखि १४ दिनसम्म कलकत्ता ल्याइपुर्याउने उनले बताए ।
चालु आर्थिक वर्षमा नयाँ बजेटबाट भुक्तानी गर्नेगरी साल्ट ट्रेडिङलाई २० हजार टन डिएपी र २२ हजार टन युरिया खरिदको लागि कृषि मन्त्रालयले स्वीकृति दिएको र सो अनुसार आफूहरुले प्रकृया आगाडि बढाएको सूचना अधिकारी राजभण्डारीको भनाई छ ।
नेपाललाई वार्षिक रुपमा कम्तिमा ८ लाख मेट्रिक टन मल आवश्यक पर्दछ । अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सो आवश्यकताको १ चौथाई मल पनि आपूर्ति गर्न नसकेको उनीहरुको तथ्यांकले देखाएको छ । टेण्डर प्रकृयाबाट पनि ४ लाख मेट्रिक टन मल आउनुपर्नेमा जम्म २ लाख मात्रै आएको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताएका छन् ।
धान खेतीको समयमा पर्याप्त मल नपाइने
नेपालमा रासायनिक मलको आपूर्ति गरेर किसानहरुलाई बिक्री वितरण गर्ने काम गर्दै आएका निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन हुन् । ती संस्थाहरुसँग अहिले भएको स्टक र पाइपलाईनमा भएको मलको अवस्थालाई हेर्दा किसानले धान रोप्ने समयमा पर्याप्त मल पाउन नसक्ने अवस्था देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउबाले भारत भ्रमणको क्रममा समकक्षी नरेन्द्र मोदीसँग १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आपूर्तिका लागि सम्झौता गरेका थिए । सो सम्झौता अनुरुपको मल ल्याउनको लागि आवश्यक नीतिगत सम्झौताको विषयमा करिब काम सम्पन्न भएको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताए ।
‘दुइवटा देशबीचमा भएको सम्झौता अनुसार २ वटा कम्पनी तोकिएको छ । ती २ वटा कम्पनीकोबीचमा व्यवसायीक सम्झौता हुने क्रममा छ,’ प्रवक्ता सन्जेलले भने ।
उनका अनुसार सो सम्झौता आज भोलिमा नै हुन्छ । त्यसपछि १५ दिनमा नै मल नेपाल आइपुग्ने उनको भनाई छ । तर, प्रवक्ता सन्जेलका अनुसार पनि सो मल सबै यहि धान रोप्ने समयमा ल्याइपुर्याउन नसकिने अवस्था छ । त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेसनको तर्फबाट पाइपलाइनमा रहेको मलको मात्रा आइपुग्दा पनि मल पर्याप्त हुँदैन् ।
अन्तर्राष्ट्रिय अवस्था र मूल्य वृद्धि मुख्य कारण
अधिकांश देशहरुले मलको निर्यातमा प्रतिबन्ध लगाएको, रसिया–युक्रेन युद्ध र मूल्य वृद्धिकै कारण समयमा मल आपूर्ति हुन नसकेको मन्त्रालयका प्रवक्ता सन्जेलको धारणा छ । त्यस्तै प्रवक्ता सन्जेलका अनुसार अहिले रासायनिक मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा डलरमा ३ गुणाले वृद्धि भएको छ ।
‘हामीकहाँ प्रकृयागत झमेला पनि छ । सूचनाको प्रकृया नै ४५ दिन लाग्छ । सो समयमा धेरैपटक मूल्य वृद्धि हुने, एउटा मूल्यमा गएर सम्झौता गर्यो त्यसको १ हप्तामा नै धेरै मूल्य वृद्धि हुने अवस्था छ,’ प्रवक्ता सन्जेलले बताए ।
सम्झौता गरिएअनुरुप मल ल्याउन नसकेपछि अहिलसम्म २० वटा टेण्डर रद्द भएको उनी बताउँछन् । अन्तर्राष्ट्रिय प्रभावको कारणले नै मल समयमा ल्याउन नसकिएको राजभण्डारीको भनाई छ ।
आयातकर्ताहरूसँग सम्झौता भएअनुसार ५/६ महिना अगाडि नै मल आइसक्नुपर्ने राजभण्डारीको भनाई छ । ‘मल ५/६ महिना अगाडि नै आइसक्नुपर्ने, ग्लोबल क्राइसिसले गर्दा उनीहरुले ल्याउन सकेनन्, समयमा आपूर्तिकर्ताले मल नल्याए पनि उनीहरुसँगको सम्झौता कर्पोरेसनले भने रद्द गरेको छैन, रद्द गर्न नै भएन नि, रद्द गर्यो भने त नेपाललाई ठूलो घाटा हुन्छ,’ उनले भने ।