काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको सम्बन्धको विषयमा लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको छ । सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेसँगै दुई जनाबीचको सम्बन्ध चिसिएको धेरेको बुझाई छ ।
गत चैत २५ गते नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँगै देखिएका थिए । सोही साँझ सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको समाचार आएपछि त्यसयता उनीहरू सँगै देखिएका थिएनन् ।
यो बिचमा गभर्नर अधिकारी सरकारले बिना कारण निलम्बन गरेको भन्दै अदालत पनि पुगे । अदालतले गत बैशाख १६ गते गभर्नरलाई पदमुक्त नगर्न अन्तरिम आदेश दियो । अदालतको आदेशपछि उनी निरन्तर काममा फर्किएका छन् । यद्यपि, उनको मुद्दामाथि अन्तिम फैसला भने आगामी असार ७ गते हुनेछ ।
गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेपछि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच भेटघाट तथा छलफल भएको थिएन । अर्थमन्त्रालयले आयोजना गरेको कुनै छलफलको कार्यक्रममा गभर्नर अधिकारी सहभागी हुन्थेनन् । उनले डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना र अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाउने गर्थे ।
तर, आम सञ्चार माध्यम र विज्ञहरूबाट अर्थमन्त्री र गभर्नरबीचको ‘टसल’ को बिषयमा चर्को आलोचना हुँदै आएको थियो । देशको अर्थतन्त्र समस्यामा परेको समयमा दुई निकायबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्ने बेला एकआपसमा ‘इगो’ लिँदा झन अर्थतन्त्र खतरामा पर्ने भन्दै विज्ञहरूले सहकार्य गरेर अगाडि बढ्नु पर्ने सुझाव दिँदै आएका थिए ।
तर, भेटघाट नभएको ५३ दिनपछि भने शर्मा र अधिकारी सोमबार एकै मञ्चमा देखिएका छन् । सोमबार अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको विषयमा राखेको पत्रकार सम्मेलनमा मन्त्री शर्मा र गभर्नर एकै मञ्चमा देखिए पनि अर्थमन्त्रालयले गनर्भर शर्मालाई खासै प्राथामिकता नदिएको प्रष्ट बुझियो ।
पत्रकार सम्मेलनको सुरूमा अर्थसचिव मधुकुमार मरासिनीले कार्यक्रम सञ्चालन गरे । कार्यक्रम सञ्चालन गर्दै उनले सुरूमै अर्थमन्त्री शर्मालाई आफ्नो धारणा राख्न आग्रह गरे । अर्थमन्त्री शर्माले धारणा राखेपछि सचिव मरासिनीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई बोल्न आग्रह गरे ।
तर, सचिव मरासिनीले गभर्नर अधिकारीको नाम नै उच्चारण गरेनन् । नेपाल राष्ट्र बैंक अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार हो । विगतमा राष्ट्र बैंकको गभर्नरले बजेटपछिको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्थे ।
राष्ट्र बैंकको पूर्व गभर्नरहरू पनि अर्थमन्त्रालयले गभर्नरलाई कुनै कार्यक्रम तथा छलफलमा बोलाएपछि राष्ट्र बैंकको तर्फबाट धारणा लिने गरेको बताउँछन् ।
‘बजेट सार्वजनिक भएपछि अर्थमन्त्रालयले गभर्नरलाई पत्रकार सम्मेलनमा निमन्त्रण गर्छ, गभर्नरले केही आफ्नो धारणा पनि राख्छन्, हिजाको पत्रकार सम्मेलनमा गभर्नरले बोल्न नचाहेका हुन् वा बोल्न नै नदिएको हो, थाहा भएन,’ एक पूर्व गभर्नरले भने ।
बजेटमा बैंक तथा वित्तीय संस्था सम्बन्धि व्यवस्था र अर्थतन्त्रको विषयमा गभर्नरलाई धारणा राख्न लगाइन्थ्यो । तर, सोमबार भने गभर्नर अधिकारीलाई बोल्न लगाइएन । अन्तिममा सञ्चारकर्मीले गभर्नर अधिकारीलाई नै किटान गरेर प्रश्न गरेपछि उनी बोल्न बाध्य भए ।
संञ्चारकर्मीले गरेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘बजेट कार्यान्वयनमा राष्ट्र बैंक साथ दिन्छ, सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य राखेकोमा त्यो अनुसार राष्ट्र बैंकले काम गर्छ ।’