काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई निरुत्साहित गर्न खोजेको आराेप लगाएका छन् । मंगलबार आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै उनले बजेटमाथि धारणा राख्दै सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई निरुत्साहित गर्न खोजेको बताए ।
हामी विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गरकाे भन्दै याे गलत निर्णय भएकाे धारणा राखे । ‘रक्सी चुरोट जस्ता चिजमा अन्त: शुल्कको प्रबन्ध गर्ने हाम्रो प्रचलन हाे, हामीले विद्युतीय सवारी साधनमा प्राेत्साहन गर्ने नीति लिएका छाैं तर, बजेटमा अन्त: शुल्क किन बढाइयाे,’ उनले प्रश्न गरे ।
यस्तै, उनले गठबन्धन सरकारले जारी गरेको आगामी आर्थिक वर्षको बजेट उल्टो यात्रातिर भएको बताए । सस्तो लोकप्रियताका लागि कृषि कर्जामा ५ खर्बको कोषको स्रोत नै पहिचान नगरी बजेटमा समाबेश गरिएको उनकाे भनाइ छ ।
‘उद्योग मन्त्रालयका लागि गत वर्षको तुलनामा बजेट धेरै घटाइएको छ, आयात प्रतिस्थापन गर्ने भन्ने तर उद्योगको बजेट नै घटाएर यो सरकारले के गर्न खोजेको हो’, उनले भने ।
उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य सरकारले लिएको आरोप लगाए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको रहेको उनको टिप्पणी छ ।