सार्वजनिक संस्थान : २२ नाफामा, १९ घाटामा, सरकारलाई पौने ७ अर्ब लाभांश

<p>काठमाडौं । अधिकांश सार्वजनिक संस्थानको नाफा घटेको छ । सरकारले शनिबार सार्वजनिक गरेको विभिन्न सार्वजनिक संस्थानहरूको वित्तिय प्रगतिका अनुसार अधिकांश संस्थानको नाफा घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेको ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा मात्रै नाफामा रहेका छन् । अर्थमन्त्रालयका अनुसार बाँकी १९ वटा सार्वजनिक संस्थान घाटामा छन् । बाँकीको कारोबार शून्य [&hellip;]</p>

काठमाडौं । अधिकांश सार्वजनिक संस्थानको नाफा घटेको छ । सरकारले शनिबार सार्वजनिक गरेको विभिन्न सार्वजनिक संस्थानहरूको वित्तिय प्रगतिका अनुसार अधिकांश संस्थानको नाफा घटेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेको ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा मात्रै नाफामा रहेका छन् । अर्थमन्त्रालयका अनुसार बाँकी १९ वटा सार्वजनिक संस्थान घाटामा छन् । बाँकीको कारोबार शून्य रहेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको खुद नाफा घटेको हो । सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७७/७८ तुलनामा मा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पनि विश्वव्यापीरूपमा फैलिएको कोभिङ–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थाका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा समेत केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति भने सन्तोषजनक रहेको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको जनाइएको छ । त्यसैगरी संस्थानहरुको सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँबराबर कायम भएको छ ।

नाफामा सञ्चालन भएका संस्थानहरुबाट आव २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ ।

सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर प्राप्त भएको छ । उक्त आवमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६.४९ प्रतिशत छ । आव २०७६/७७ मा यस्तो योगदान ८.८२ प्रतिशत थियो ।

हाल जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै छन् । नोक्सानीमा संचालन भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाईट प्रा. लि., बुटवल धागो कारखानाको व्यावसायिक कारोबार भएको छैन भने नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा छ ।

Share News