सरकारले कर हटाएपछि पेट्रोलियम पदार्थको मूल्य घट्छ कि घट्दैन ?

<p>काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सो कुरा बताएका हुन् । उनका अनुसार जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो । उनले कर घटाउने निर्णय भए तापनि कुन शिर्षकमा कति कर [&hellip;]</p>

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सो कुरा बताएका हुन् ।

उनका अनुसार जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो । उनले कर घटाउने निर्णय भए तापनि कुन शिर्षकमा कति कर घटाइएको विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको बताए ।

अर्थ मन्त्रालयले कुन शिर्षकमा कति कर घटाइने भनेर सार्वजनिक गरेको छैन । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा (जेठ १५ गते) कर घटाएको जानकारी दिन सक्ने सम्भावना पनि छ ।

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारको निर्णयपछि पेट्रोलियम पदार्थको मूल्य कम हुन्छ कि हुँदैन भन्ने चासो आम उपभोक्ताबीच छ ।

हामीले यो प्रश्न आयाल निगम र अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अधिकारीहरुसँग सोधेका छौं ।

अर्थमन्त्री शर्माका प्रेस संयोजक अजित अधिकारीले कर घटाउने सम्बन्धमा मन्त्रिपरिषदबाट आधिकारिक पत्र नै नआएकोले यो विषयमा के कसो गर्ने भन्ने थप गृहकार्य नै नभएको बताए । यद्यपि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले संघीय संसदको प्रतिनिधिसभामा कर घटाउने निर्णय भएको जानकारी दिएकोले सरकारले यस्तो निर्णय गरेको छैन भनेर मान्ने अवस्था छैन ।

निगमका निर्देशक दिपक बराल पनि कर घटाउने विषयमा सरकारको आधिकारिक पत्र प्राप्त नभएको बताउँछन् । कर घटाउने विषयमा मन्त्रीले जानकारी दिएको भन्ने सम्बन्धी समाचार आफूले पनि पढेको तर के कति घटाउने भन्ने आधिकारिक जानकारी नपाएको उनले बताए ।

सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क उठाउँदै आएको छ ।

पूर्वाधार (खासगरी बुढीगण्डकी जलविद्युत आयोजनाको लागि) लिइदै आएको ५ र भन्सार दर ५ रुपैयाँ गरी प्रतिलिटर १० रुपैयाँ कर घटाईने तयार भएको जनाइएकोे छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो । तर, बुढीगण्डकी आयोजना निश्चित नभएपछि उक्त नाममा लिइँदै आइएको कर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो । सरकारले अहिले यही कर घटाउन लागेको चर्चा छ ।

तर, सरकारले पूर्वाधार कर घटाए पनि पेट्रोलियम पदार्थको लागत मूल्य नै बढी भएको कारण निगमले उपभोक्ता मूल्य घटाउन नसक्ने बताइएको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले जेठ ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर एक सय ८० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ पुगेको छ । हवाई इन्धन लिटरको एक सय ६३ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पु¥याइएको छ ।

निगमले १९४ रुपैयाँमा खरिद गरेको पेट्रोल हाल प्रतिलिटर १४ रुपैयाँ घाटा खाउर १८० रुपैयाँमा बिक्री गरेको छ । यस्तै, १८९.८२ रुपैयाँमा खरिद गरेको डिजेलमा २६ रुपैयाँ घाटा खाएर १६३ रुपैयाँमा बिक्री गरेको छ । २ हजार ६७९ रुपैयाँमा खरिद गरेको खाना पकाउने एलपी ग्यासमा ७९ रुपैयँँ घाटा खाएर १०० रुपैयाँमा बिक्री गर्ने गरेको छ ।

Share News